मार्कीचोकमा १३२-३३ केभी सबस्टेसन सञ्चालन

समाधान संवाददाता २०७५ चैत २३ गते १३:५४

दमौली, कृष्ण न्यौपाने

तनहुँ आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोकमा निर्माण भएको १३२-३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले स्टेसनको निर्माण गरी बिहीबारबाट सञ्चालनमा ल्याएको हो । स्टेसन सञ्चालनमा आएसँगै मध्यमस्र्याङदी–डुम्रे–दमौली–१३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण पनि सकिएको छ । मध्यमस्र्याङदी –दमौली– मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइन यस अघि नै सञ्चालनमा आइसकेको छ ।

मार्कीचोक सबस्टेसन सञ्चालनमा आएसँगै गोरखामा रहेको भोल्टेज ड्रप, पटकपटक लाइन ट्रिप हुने, भोल्टेज नहुने लगायतका समस्यामा कमी आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार दमौली–डुम्रे–आँबुखैरेनी हुँदै ३३ केभी लाइनबाट गोरखामा विद्युत आपूर्ति भइरहेको थियो । लामो दुरीबाट विद्युत आपूर्ति हुँदा धेरै समस्या थियो भने अब मार्कीचोक सबस्टेसनबाट आँबुखैरेनी हुँदै गोरखातर्फ विद्युत जाने उनले जानकारी दिए । सबस्टेसन सञ्चालनमा आएसँगै ३३ केभी लाइनको दुरी कम हुँदा प्रणालीको चुहावट घट्ने, भोल्टेज ड्रप तथा ट्रिपिङमा सुधार आई विद्युत आपूर्ति भरपर्दो हुने जनाइएको छ ।

Advertisement

मार्कीचोक सबस्टेसनबाट १३२ केभी लाइनमार्फत प्रवाह हुने विद्युतलाई निर्माणाधीन मस्र्याङदी–मातातीर्थ २२० केभी प्रसारण लाइन आयोजनाको १३२-२२० केभी सबस्टेसनमार्फत २२० केभीमा स्टेप अप गरी काठमाडौंमा विद्युत ल्याउन सकिने मध्यमस्र्याङदी–डुम्रे–दमौली–१३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख शुभारम्भ विक्रम शाहले बताए । मस्र्याङदी–मातातीर्थ २२० केभी प्रसारण लाइन आयोजनाले अहिले मार्कीचोकमै १३२-२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ । शाहका अनुसार अब मध्यमस्र्याङ्दी र दमौलीबाट आउने १३२ केभी प्रसारण लाइनलाई मार्कीचोक सबस्टेसनमा प्रवेश गराई (लुप इन) १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तल्लो मस्र्याङदीतर्फ पनि निकाल्न (लुप आउट) गर्न सकिने छ ।

आयोजनाले मार्कीचोकमा सबस्टेसन निर्माण गर्ने, मध्यमस्र्याङदी तथा दमौली सबस्टेसनमा क्रमशः १ र २ वटा बे र तल्लो मस्र्याङ्दीमा जिआइएस बे विस्तार गर्न चिनियाँ कम्पनी पिङगाओ गु्रप आर्थिक वर्ष २०६९-७०मा ठेक्का सम्झौता गरेको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलियतपूर्ण ऋण रहेको आयोजनाको अनुमानित लागत ६० करोड रुपैयाँ थियो । अनुमानित लागतभित्रै निर्माण सम्पन्न भएको प्रमुख शाहले बताए । प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानै बनाएको छ ।

Advertisement

मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नति गरिसक्ने प्राधिकरणको योजना छ । चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण हुने छन् । सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया