‘एउटै महोत्सव गरौं’

समाधान संवाददाता २०७५ चैत २३ गते १४:१४

दुलेगौंडा, राजन उपाध्याय

शुक्लागण्डकीमा यसअघि ३ वटा महोत्सव सम्पन्न भइसके । शुक्रबारदेखि चौंथो महोत्सव सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाइले आयोजना गरेको ११ औं खैरेनीटार महोत्सवको उद्घाटनको अवसरमा अधिकांश वक्ताले नगरमा एउटामात्रै महोत्सव गर्नुपर्ने सुझाए ।

कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवबहादुर श्रेष्ठले गरे । महासंघका केन्द्रीय सदस्य श्रेष्ठले मुलुकमा उत्पादनबिना आर्थिक समृद्धि हासिल नहुने भएकाले स्वदेशमै उद्योग कलकारखाना स्थापना गर्नुपर्नेमा जोड दिए ।

Advertisement

नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डितले निजीको साझेदारीबिना समृद्धि हासिल गर्न नसकिने बताए । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले महोत्सवले व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने जिकिर गरे ।

शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले आगामी वर्षबाट नगरमा एउटै महोत्सव गर्नुपर्ने बताए । उनले भने, ‘म सबैलाई नम्र निवेदन गर्छु, अब यसको मूल्यांकन गरौं ।’

Advertisement

कार्यक्रममा नगर प्रवक्ता खिमबहादुर कुमाल, महोत्सव मूल समिति संयोजक पूर्णबहादुर कायस्थ , नेपाली कांग्रेसका कार्यवाहक जिल्ला सभापति जितप्रकाश आले, शुक्लागण्डकी ६ का अध्यक्ष कृष्णबहादुर पौडेल, दुलेगौंडा बजार इकाइ सभापति राजु वाग्ले, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, महोत्सवका निर्देशक समुन्द्रराम श्रेष्ठ लगायत बोलेका थिए ।

‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्र्धन, खैरेनीटार महोत्सव कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ सञ्चालित महोत्सव वैशाख ३ गते सम्म चल्नेछ ।

महोत्सवमा घरेलु, कृषि, व्यावसायिक, रेस्टुरेन्ट, सामाजिक संस्था लगायत २ सय १५ स्टल छन् । महोत्सव २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । यसअघि प्रथम शुक्लागण्डकी लायन्स महोत्सव, प्रथम शुक्लागण्डकी महोत्सव, प्रथम आदिवासी जनजाति शुक्लागण्डकी सांस्कृतिक महोत्सव आयोजना भएका थिए ।

खैरेनीटार महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका प्रथम उपाध्यक्ष शेखर गोल्छाले उद्घाटन गर्ने भनिए पनि मौसमका कारण उनी आउन सकेनन् ।

तपाईको प्रतिक्रिया