प्रदेशस्तरीय सुरक्षा गोष्ठी, विप्लव समूहलाई निस्तेज पार्न निर्देशन

समाधान संवाददाता २०७५ चैत २५ गते ११:२४

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशभित्र विप्लव समूहको गतिविधि नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएका छन् । शनिबार र आइतबार पोखरामा गृह मन्त्रालयले गरेको गण्डकी प्रदेश सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले जुनसुकै वाहनामा पनि शान्ति सुरक्षा भंग गर्ने समूहलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिए । उनले भने,‘मुलुकमा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा विभिन्न कानुनको निर्माण गर्दै शान्ति भंग गर्ने र सविधान विरुद्ध काम गर्नेप्रति कडा रुपले प्रस्तुत हुनुपर्छ ।’

सबै प्रकारका आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरुको सक्रियता अझै बढाउनु पर्नेमा जोड दिँदै गृहमन्त्री थापाले जुनसुकै परिस्थितिको सामना गर्न सुरक्षाकर्मी तयार रहन समेत निर्देशन दिए । गृह मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत भएको गोष्ठीमा ११ वटै जिल्लाका प्रजिअ र प्रहरी प्रमुखले जिल्लाको वस्तुस्थितिबारे प्रस्तुति राखेका थिए ।

Advertisement

जिल्ला र पालिकास्तरमा समेत विप्लव समूहका कार्यकर्ताले धम्काएर चन्दा माग्ने, ज्यान लिनेसम्मको धम्की दिने गरेको गुनासो बढेको प्रजिअहरुले बताएका छन् । सबैजसो जिल्लामा उक्त समूहका केही नेता कार्यकर्ता पक्राउ परे पनि भूमिगत रुपमा गतिविधि कायमै छन् । सहरी भन्दा दुर्गम भेगका स्थानीय तहका पदाधिकारीलाई उक्त समूहबाट बढी धम्की आउने गरेको छ ।

गोरखा, मनाङ र मुस्ताङ चीनसँग सीमाना जोडिएको ती जिल्लाका नाकाबाट हुने घूसपैठ र चोरी निकासी ती जिल्लाका चुनौतीका रुपमा छन् । तिब्बती शरणार्थीको आवतजावत मात्र नभएर पछिल्लो समयमा सुन तस्करीको लागि समेत यी जिल्लाका नाका प्रयोग हुन थालेका छन् ।

Advertisement

नाकाहरुमा प्रहरी चौकी विस्तार गरी निगरानी बढाउनुपर्ने अवस्था रहेको प्रजिअहरुको भनाइ छ । नवलपुर जिल्लामा भारतीय सीमा नाका पर्ने भएकाले त्यता पनि निगरानी अझै बढाउनुपर्ने निश्कर्ष गोष्ठीको छ ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले सबै सुरक्षा निकायहरुले आपसी समन्वय गरी सफलतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै कानुन विपरितका गतिविधि नियन्त्रण गर्न गोष्ठीको निष्कर्ष फलदायी हुने बताए । नयाँ संविधान जारी भइसकेपछि पनि राजतन्त्र पुनस्र्थापित गर्ने नाममा भइरहेका गतिविधिमा समेत विशेष निगरानी राख्न उनले सुरक्षा निकायलाई निर्देशन दिए ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले अपराध नियन्त्रण लगायत शान्ति सुरक्षा कायम गर्ने काममा प्रदेशले प्रहरीलाई आवश्यक सहयोग गर्ने बताए ।

गोष्ठीमा प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका अधिकारी, नेपाली सेनाका प्रतिनिधि, गन्डकी प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुख, उक्त प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया