त्रिविको एमबिएस सेमेस्टर प्रणालीबारे कार्यशाला, विद्यार्थी फेल भए पहिलो जिम्मेवार शिक्षक

समाधान संवाददाता २०७५ चैत २५ गते १२:११


समाधान संवाददाता, पोखरा

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डीन कार्यालयको आयोजनामा एमबिएस सेमेस्टर प्रणालीबारे २ दिने कार्यशाला जनप्रिय बहुमुखी क्याम्पस पोखरामा आइतबार सुरु भएको छ । गण्डकी प्रदेशका विभिन्न क्याम्पसका शिक्षक कार्यशालामा सहभागी छन् ।

राजनबहादुर पौडेल, कमलदीप ढकाल, केशरजंग बराल, बंगला बस्नेत, महानन्द चालिसे, बालकृष्ण श्रेष्ठ, भोजराज अर्याल, जितेन्द्र उपाध्याय, ज्ञानमणि अधिकारी, गोविन्द तामाङ, ऋषिराज गौतम, मेघराज अधिकारी र वीरन्जी गौतम कार्यशालामा स्रोतव्यक्ति छन् । उनीहरुले एमबिएस सेमेस्टरको पाठ्यक्रम, मूल्यांकन र परीक्षा प्रणाली लगायतबारे सूचना, अनुभव र ज्ञान बाँड्ने छन् ।

Advertisement

कार्यशाला उद्घाटनका अवसरमा विश्वविद्यालयकी रेक्टर सुधा त्रिपाठीले सेमेस्टर भनेको पढाउने नभई सिकाउने प्रणाली भएको बताइन् । ‘पहिला वार्षिक प्रणालीमा पढाउँथ्यौं,’ उनले भनिन्, ‘सेमेस्टरमा सिकाउने हो । पहिला विद्यार्थीलाई परीक्षा फोबिया हुन्थ्यो । जाँच दिएको भोलिपल्टैबाट विद्यार्थीले सबै बिर्सन्थ्यो ।’

गुणस्तरमा भिन्नता ल्याउन सेमेस्टर प्रणाली सुरु गरेको त्रिपाठीले बताइन् । उनले भनिन्, ‘सेमेस्टर प्रणाली फेसनका रुपमा आएको होइन । सेमेस्टर प्रणालीमा शिक्षकले सहजकर्ताको भूमिका निर्वाह गर्ने हो । विद्यार्थीलाई सक्रिय बनाउने हो ।’ शिक्षकले गराउने नियमित गतिविधिमा सक्रिय विद्यार्थी फेल हुन नसक्ने विश्वास उनले व्यक्त गरिन् । ‘यो प्रणालीमा विद्यार्थी फेल भए पहिलो जिम्मेवार शिक्षक हुनुपर्छ,’ उनले भनिन्, ‘विद्यार्थीलाई ज्वरो आउँदा पनि शिक्षकको सिकाइ कलाले कक्षामा आउन जागरुक बनाओस् ।’

Advertisement

डीन डिल्लीराज शर्माले त्रिविका कुल विद्यार्थीमध्ये ४५ प्रतिशत व्यवस्थापन संकायमा रहेको सुनाए । उनले २ दिने कार्यशालामा ५ सत्र चल्ने जानकारी पनि दिए । विश्वविद्यालयको अनुगमन निर्देशानलयका निर्देशक विष्णु खनालले सेमेस्टर प्रणालीमा गएपछि त्यसको प्रभावकारिता देखिएको बताए । उनले भने, ‘अब त्रिभुवन विश्वविद्यालयले पुरानो भनेर सन्तोष हुने ठाउँ छैन, अरु विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ ।’

सहायक डीन ध्रुवकुमार गौतमले विद्यार्थीको मूल्यांकनमा सजग हुन आग्रह गरे । ‘काठमाडौं र चितवनमा जागिर खाइरहेको विद्यार्थीलाई यहाँको कलेजमा हाजिर भइरहेको भनेर नम्बर दिनुभयो भने त्यसमा मुद्दा पर्दा कारबाही शिक्षकलाई हुन्छ, प्रोग्राम प्रमुखलाई हुन्छ, क्याम्पस चिफलाई हुन्छ, ख्याल गर्नुहोला ।’ उनले सधैं पढाइरहेको शिक्षकलाई नै विद्यार्थीबारे जानकारी हुन्छ भनेरै ४० प्रतिशत नम्बर दिने व्यवस्था भएको पनि सुनाए । व्यवस्थापन पढाउनेहरुले सूचना पाइनँ, थाहा भएन भन्न नपाइने उनको भनाइ थियो । गौतमले भने, ‘हाम्रा सूचना पत्रिकामा आउँदैनन्, वेबसाइटमा हुन्छन् । दिनदिनै वेबसाइट हेर्नाेस्, कम्प्युटर भएन, इन्टरनेट भएन भन्न पाइन्न ।’

स्रोतव्यक्ति ज्ञानमणि अधिकारीले आफूलाई प्रविधि अनुकुल बनाएर व्यवस्थापनका व्यावहारिक ज्ञान प्रदान गर्न सक्षम बनाउन शिक्षकहरु लाग्ने विश्वास व्यक्त गरे । अर्का सहायक डीन दिनेशमणि घिमिरेले कार्यशाला सफल हुने अपेक्षा सुनाए ।

तपाईको प्रतिक्रिया