होमस्टे सञ्चालनमा कस्सिए पुट्टारका दरै समुदाय

समाधान संवाददाता २०७५ चैत २७ गते १७:३२

कृष्ण न्यौपाने, दमौली

तनहुँ घिरिङ गाउँपालिका १ पुट्टारमा अझैंसम्म पनि विद्युतको सुविधा पुग्न सकेको छैन । यहाँका स्थानीय वर्षौदेखि सोलार र टुकीको भरमा बस्न बाध्य छन् । खानेपानीको पनि उत्तिकै समस्या छ । विजुली र खानेपानीको अभावकैबीचमा पनि स्थानीय दरै समुदाय भने घरबास सञ्चालनका लागि जुटेका छन् ।

बोटे समुदायको ४५ घरधुरी रहेको यस ठाउँमा ११ घरमा घरबास सञ्चालनमा आएको छ । घरबास सञ्चालनका लागि यामकुमारी दरैको अध्यक्षतामा समिति गठन गरिएको छ ।

Advertisement

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३ सय घरबासलाई प्रवद्र्धन गर्ने घोषणा गरे बमोजिम दरै समुदाय घरबास सञ्चालनका लागि कस्सिएको समितिका अध्यक्ष दरैले बताइन् । उनले भनिन्, ‘घरबास सञ्चालनका लागि दरै समुदायमा उत्साह जागेको छ ।’

उनका अनुसार गाउँमा विजुली नभएपनि घरबास सञ्चालन भएका प्रत्येक घरमा सोलार जडान गरिएको छ । घरमै खानेपानीको धारा नभएपनि मूलबाट पानीको जोहो गरिएको भन्दै उनले खानेपानीको लागि दैनिक २०-२५ मिनेट हिँड्नुपर्ने बताइन् । उनले थपिन्, ‘घरबास सञ्चालन गरिसकेपछि अझ धेरै खानेपानी चाहिन्छ, त्यसको लागि पनि व्यवस्था मिलाएका छौं ।’

Advertisement

समितिकी कोषाध्यक्ष वसन्ती दरैका अनुसार प्रत्येक घरमा ३ जना बस्न मिल्ने गरी कोठा व्यवस्थापन गरिएको छ । घरबासमा बास बस्न आउने पर्यटकलाई साँझ स्वागत गरेपछि खाजाको रुपमा बटुक, साकरुङ (कोदोको रक्सी), गुन्द्रुकको आचार लगायत दिइनेछ । उनका अनुसार राति खाना खाइसकेपछि दरै जातिको सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिनेछ ।

घरबास व्यवस्थापन समितिका सदस्य नारायण दरैका अनुसार बास बसेको ३ सय ५०, सादा खानाको १ सय, कुखुरा वा खसीकाे मासुभातकाे २ सय शुल्क निर्धारण गरिएको छ । यो घरबास गण्डकी प्रदेश सरकारको अनुदान पाउने घरबासको रुपमा छनौट भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको खैरेनीटारबाट ७ किलोमिटर भीमाद र भीमादबाट ३४ किलोमिटर कच्ची यात्रा तय गरेपछि दरै घरबासमा पुगिन्छ ।

घरबासलाई पर्यटनसँग जोड्नुपर्ने

घरबासको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले घरबासलाई पर्यटनसँग जोड्नुपर्ने बताउँदै समृद्धिको अभियान गाउँबाटै सुरु हुने बताए ।

पर्यटक आकर्षित गर्न घरबासमा खाना र बासको राम्रो प्रबन्ध हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘ग्रामीण भेगमा होटल खोल्न तत्कालका लागि असम्भव रहेकोले घरबास सञ्चालन गरी गाउँमा पर्यटक भित्र्याउनुपर्छ ।’ कालीगण्डकी नदीमा जलविहारका लागि आउने पर्यटकलाई घरबासमा आकर्षित गर्नुपर्नेमा मन्त्री गुरुङले जोड दिए । मन्त्री गुरुङले २ वर्षभित्र प्रदेशका सबै गाउँमा विजुली र खानेपानीको सुविधा पुर्‍याइने बताए ।

प्रदेश सरकार विजुली र खानेपानी नपुगेका गाउँहरुको अध्ययन गर्दै उक्त सुविधा पु¥याउन प्रतिबद्ध रहेको उनले बताए । सो अवसरमा मन्त्री गुरुङले घरबास व्यवस्थापन समितिका अध्यक्ष दरैलाई घरबास प्रबद्र्धन बापतको १० लाखमध्ये पहिलो किस्ताको ३ लाखको चेक हस्तान्तरण गरेका थिए ।

उक्त रकमले सांस्कृतिक भवन निर्माण गरिने जनाइएको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालका अनुसार तनहुँका ३३ घरबासले १० लाखको दरले अनुदान पाउनेछन् । जसमध्ये २२ वटा घरबास समितिलाई पहिलो किस्ता बापतको ३ लाख प्रदान गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया