विपक्षीकाे आराेपः वसन्तकाे नाममा सपनाकाे खेती

समाधान संवाददाता २०७६ वैशाख २ गते ९:०२

बिबिसीकाे सहयाेगमा

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ का अवसरमा देशवासीका नाममा गरेको सम्बोधनमा ‘धेरै आत्मप्रशंसा गरेको’ विपक्षीहरूले आरोप लगाएका छन्।

विसं २०७६ साल सुरु भएको पहिलो दिन आइतवार प्रधानमन्त्री निवास बालुवाटारबाट उनले गरेको सम्बोधनमा गत एक वर्षमा सरकारले गरेका कामहरूको सूची प्रस्तुत गरेका थिए।

Advertisement

सत्र पृष्ठ लामो आफ्नो लिखित भाषणमा ओलीले एक वर्षमा आफूले गरेका कामहरूको विस्तृत विवरण दिँदै केही प्रतिबद्धताहरू पनि व्यक्त गरेका छन्।

तर विपक्षीहरूले प्रधानमन्त्रीको सम्बोधनमा शब्दजालबाहेक केही पनि नभएको भनेर आलोचना गेरका छन्।

Advertisement

देशवासीका नाममा गरिएको उक्त सम्बोधनमा उल्लिखित कतिपय विषयहरू पहिलेपहिलेका उनका सम्बोधनमा पनि समावेश हुने गरेका थिए।

ओलीले आइतवारको सम्बोधनमा समेटेका मुख्य बुँदा

  • नयाँ संघीय संरचनाअनुसार कानुनहरू बनाएर अब त्यस प्रणालीको कार्यान्वयन चरणमा पुगेका छौँ।
  • हालै संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)को एउटा प्रतिवेदनमा पूर्वप्राथमिक शिक्षामा नेपालको भर्नादर ८६ प्रतिशत रहेको देखाइएको छ। जुन विश्वमै अगाडि हो।
  • केही अघि मात्र सकिएको लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका अधिकारीले नेपाललाई दक्षिण एशियाकै उदाँउदो अर्थतन्त्र (राइजिङ स्टार) भनेका छन्।
  • धेरै देशले नेपाली शान्तिप्रक्रिया र सहभागितामूलक शासन प्रणालीलाई अनुकरणीय मानेका छन्।
  • गएको एक वर्षमा जग बसाल्यौँ अब त्यसैको जगमा उभिएर विकास र समृद्धि यात्रा गर्ने।
  • ‘यो वर्ष के नै भयो र?’ भन्ने होइन, ‘यो वर्ष के के भए?’ भनेर सोधौँ।
  • प्रश्न सोध्नेका लागि सरकार तथ्य र तथ्याङ्कसहित जबाफ दिन तयार छ।
  • ‘समृद्ध नेपाल सुखी नेपाली’को केन्द्रविन्दु धर्ती र जनता हुन्।
  • भ्रष्टाचार सुशासनको शत्रु हो। भ्रष्टाचारका सन्दर्भमा ‘मुखमा पानी हालेर नबोल्ने भ्रष्टाचारीलाई कारबाही गर्दा त्यसको मुख नहेर्ने’ मेरो दृढ सार्वजनिक घोषणा हो।
  • गएको एक वर्षको जस्तो तह र व्यापकतामा भ्रष्टाचारमाथि कहिल्यै छानबिन भएको थिएन।
  • जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरू धमाधम फिर्ता गरिँदैछन् र गरिदैँ जाने छन्।
  • भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण छ तर जुनसुकै मूल्य चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचार उन्मूलन गरी छाड्ने अभियानमा प्रतिबद्ध छु।
  • पृथक्तावादी अभियान चलाउनेलाई (सीके राउततर्फ संकेत गर्दै) नेपालको संविधानअनुरुप राजनीतिक क्रियाकलापमा सहभागी हुने घोषणा गराउनु सामान्य विषय होइन। त्यसले मुलुकबाट पृथक्तावादको अन्त्य भएको छ।
  • विभिन्न आवरणमा सुरु गर्न लागिएको हिंसा र अतिवाद र त्यसमाथि आधारित आपराधिक गतिविधि (विप्लव समूह भनेर चिनिने नेकपाप्रति लक्षित) नियन्त्रण गर्ने राष्ट्रिय अभियान सुरु भएको छ।
  • सबै खाले अतिवाद, अशान्ति र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गराइनेछ।
  • अवाञ्चछित प्रतिगामी प्रयासहरू र संविधानविरोधी गतिविधिहरू कडाइका साथ नियन्त्रण गरिनेछ।
  • हामीसँग गर्नुपर्ने काम धेरै छन् समय सीमित छ त्यसैले समयको गति समाउन मैले पनि आफूलाई तीव्र गतिको दौडमा सामेल गरिरहेको छु।
  • प्रत्येक परिश्रमी नेपालीझैँ मैले पनि आफूलाई हरेक दिन बिहान ६ बजेदेखि राति १२ बजेसम्म सक्रिय राखेको छु।
  • गएको एक वर्षमा तीन सय १४ वटा विभिन्न औपचारिक कार्यक्रममा सहभागी भएँ।
  • डोल्पाको सदरमुकाम दुनै सडक सञ्जालमा जोड्ने बाचा पूरा हुँदा खुसी लागेको छ।
  • जनतासँग संवाद गर्न एक वर्षमा ७७ मध्ये २९ जिल्लामा सशरीर पुगेको छु।
  • प्रकृतिमा जस्तै मानव समाजमा वसन्त आफैँ आउँदैन यसलाई हासिल गर्नुपर्छ। नेपाली समाजमा पनि दिगो शान्ति, सामाजिक न्यायसहितको समृद्धि, लोकतन्त्र सहितको विकास र सुखसहितको खुसीको वसन्त आउनेमा ढुक्क छौँ।
सीके
सीके राउतसँगको सम्झौतालाई ओलीले ठूलो उपलब्धिका रूपमा अर्थ्याएका छन्।

प्रधानमन्त्रीको सम्बोधानलाई विपक्षीहरूले भने ‘प्रधानमन्त्रीका रूपमा उनले सम्बोधन गर्न नसकेको’ रूपमा अर्थ्याएका छन्।

के भन्छन् विपक्षीहरू ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्रीले सबैलाई सम्बोधन गर्ने खालको सन्देश दिन नसकेको बताए।

उनले भने, “आफ्नो एक वर्षभन्दा लामो कार्यकालको गल्तीलाई ढाकछोप गर्ने र नभएको कामलाई प्रचारित गर्ने उहाँको पुरानै वक्तव्यहरूको निरन्तरता देखिएको छ।”

उनले ओलीले कतिपय तथ्यगत कुराहरूलाई समेत ढाकछोप गरेको दाबी गरे।

गत एक वर्षमा शान्तिसुरक्षा कामय हुन नसकेको र महँगी बढेको भन्दै उनले त्यसलाई प्रधानमन्त्रीले सम्बोधन नगरेको बताए।

भ्रष्टाचारलाई निर्मूल गर्छु भनेका ओलीकै निकट बस्नेहरू नै भ्रष्टाचारमा मुछिएको भन्दै खाँडले भने, “भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्नुभएको छ तर उहाँको आसपासमा नै बस्नेहरू विवाद र भ्रष्टाचारमा मुछिएको देखिएको छ। त्यसलाई नियन्त्रण गर्नुको साटो संरक्षण गरेको जस्तो देखिएको छ।”

‘जंगबहादुर पछिको शक्तिशाली भएपनि केही भएन

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका एक सदस्य अनिलकुमार झाले भने प्रधानमन्त्रीको सम्बोधनलाई पहिलैका सम्बोधनहरूको निरन्तरताको रूपमा अर्थ्याए।

उनले भने, “प्रधानमन्त्रीले भनेका कुराहरू केही प्रतिशत पनि पूरा हुन नसकेका बेला नयाँनयाँ सपनाहरू देखाउनु भनेको शब्दजाल बाहेक केही पनि होइन।”

सम्बोधनमा उल्लिखित ‘पृथक्तावादीलाई मूल धारमा ल्याएको’ भनी गरिएको दाबीलाई भने उनले ‘अनर्गल प्रलाप’ भनेका छन्।

यो सरकार जंगबहादुर पछिको सबैभन्दा शक्तिशाली हो तर पनि केही डेलिभरी गर्न सकेनअनिलकुमार झा, नेता, राजपा नेपाल

“यो सरकार जंगबहादुर पछिको सबैभन्दा शक्तिशाली हो तर पनि केही डेलिभरी गर्न सकेन,” झाले भने, “आफ्नै मान्छेहरू भ्रष्टाचारमा मुछिइरहेका छन्, तर उहाँले केही गर्न सक्नु भएको छैन।”

ओली

राष्ट्रहित विपरीतका गतिविधिको पुष्टि’

नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी (माओवादी)का एक वरिष्ठ नेता सीपी गजुरेलले चाहिँ यो सम्बोधनले ओलीले देशलाई उल्टो दिशामा लिएर जाँदैछन् भन्ने पुष्टि गरेको दाबी गरेका छन्।

उनले बीबीसीसँग भने, “त्यसको सबैभन्दा ठूलो उदाहरण भनेको उहाँले सम्बोधनमा सबैभन्दा धेरै महत्त्व दिएर प्रचार गर्नुभएको पृथक्तावादीलाई मूल धारमा ल्याएँ भनेको कुरा हो। जसलाई उहाँले मूलधारमा ल्याएँ भन्नुभयो उनले चाहिँ आफ्ना मुद्दा छाडेको छैन भनिरहेका छन्।”

“त्यसले ओलीजी कतै पृथक्तावादीसँग मिल्नु भएको हो कि जस्तो देखिएको छ।”

गजुरेलले बाँकी रहेका चार वर्ष पनि ओली सरकार यस्तै गतिविधि गरेर अघि बढिरह्यो भने देश ‘रसातल’मा पुग्ने दाबी गरे।

जसलाई उहाँले मूलधारमा ल्याएँ भन्नुभयो उनले चाहिँ आफ्ना मुद्दा छाडेको छैन भनिरहेका छन्सीपी गजुरेल, नेता, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी (माओवादी)

गजुरेलले नेपाल वायुसेवा निगमको विमान खरिदको भ्रष्टाचार छानबिनका लागि संसदीय समितिको निर्णयलाई अस्वीकार गरेर अर्को छानबिन समिति बनाउनुले ओली भ्रष्टाचारप्रति सम्बोधनमा भनिएजस्तो संवेदनशील नदेखिएको बताए।

आफ्नो सम्बोधनमा सीके राउतसँगको सम्झौताको प्रशंसा गरेका ओलीले नेपाल कम्युनिस्ट पार्टीकै नाममा विभिन्न गतिविधि गरिरहेको नेत्रविक्रम चन्दको पार्टीदेखि राजतन्त्र र हिन्दू राज्यको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसम्मका गतिविधिको आलोचना गरेका छन्।

उनले सम्बोधनमा कतै पनि ती दलको नाम भने लिएका छैनन्।

तर नाम नलिईकनै भए पनि उनले ती दलका गतिविधिलाई नियन्त्रण गर्ने छनक भने दिएका छन्।

आफू कतिखेर सुत्छु र उठ्छुसम्मका कुरा समेटिएको ओलीको उक्त सम्बोधनको अन्त्यमा नेपालमा सुख सहित खुसीको वसन्त आउने उल्लेख छ।

तर विपक्षीहरू भने उनको यो ‘वसन्त आउने आशा’लाई पनि ‘असम्भव सपनाको खेती’ भनी अर्थ्याइरहेका छन्।

तपाईको प्रतिक्रिया