गौ संरक्षण केन्द्र निर्माण अन्तिम चरणमा

समाधान संवाददाता २०७६ वैशाख ३ गते १३:४७

राजन उपाध्याय
दुलेगौंडा

चौपाया व्यवस्थापनका लागि तनहुँको शुक्लागण्डकी नगरपालिकामा गौ संरक्षण केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ ।

संरक्षण केन्द्र शुक्ला गण्डकी ९ को घारीमा करिब ६ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । जग्गालाई तारबार, र खानेपानीको लागि पोखरी निर्माण गरिएको गौं संरक्षण केन्दशुक्लागण्डकीकी संयोजक गीता महतले जानकारी दिइन् । हाल चौपाया बस्न ट्रस्ट निर्माण जारी रहेको उनले बताइन् ।

केन्द्रमा पुगेका शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनालले संरक्षण केन्द्र निर्माण भएकोमा खुसी व्यक्त गरे ।

खनालले कार्यविधि बनाएर व्यवस्थित रुपमा सञ्चालन गर्न सुझाव दिए । लामो प्रतिक्षापछि छाडा चौपाया नियन्त्रणका लागि निर्माण गरिएको संरक्षण केन्द्र उपयुक्त स्थानमा रहेको प्रतिक्रिया दिए । ‘अब यसलाई दिगो र प्रभावकारी रुपमा सञ्चालन कसरी गर्ने सम्बन्धमा नगरले चासो दिनुपर्छ,’ उनले भने, ‘राम्रो व्यवस्थान गर्न सकिए प्रदेशकै नमुना संरक्षण केन्द्र बन्न सक्छ ।’

केन्द्रकी संयोजक महतले हाल करिब १ सय ४० छाडा चौपाया संरक्षण केन्द्रमा आइसकेको बताइन् । संरक्षण केन्द्र निर्माणका लागि नगरपालिकाले ७ लाख छुट्याएकोमा थप १० लाख गरी कुल १७ लाख रुपैया विनियोजन भएको थियो ।

महतले तत्काल कार्यविधि बनाएर चौपाया राख्नुपर्ने बताइन् । ‘केही दिन नगरका केही वडाका महिलाले रातको समयमा ५०÷६० वटा चौपाय लिइर आउनुभयो,’ उनले भनिन्, कहाँबाट कति ल्याइयो, तथ्यांक राख्नुपर्छ । भोलि चौपायलाई खानेकुरा कसले व्यहोर्ने, प्रष्ट हुनु जरुरी छ ।’ उनले निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गरिन् । सोमबार तराईबाट ल्याएको पराल चौपायालाई दिइएको थियो । केन्द्रमा गाई, गोरु र बाच्छा बाच्छी छन् ।

शुक्लागण्डकी–९ का अध्यक्ष लोकनारायण श्रेष्ठले चौपायाको रेखदेका लागि कम्तीमा २ जना हेरालो आवश्यक पर्ने बताए । उनले ल्याइएका चौपायाको स्वास्थ्य परिक्षण गर्नुपर्ने आवश्यकता औंल्याए । ‘वडाकोतर्फबाट जग्गा छुट्याऔं उनले भने, ‘अब समिति सक्रिय भएर काम गर्नु जरुरी छ ।’

कृषकहरुले दूध दिन छाडेपछि बाहिर छोड्नुका साथै छिमेकी पोखरा महानगरपालिकाबाट भित्रने चौपायाका कारण शुक्लागण्डकी नगरपालिकामा थुप्रँदै गएको थियो । स्थानीय तहको निर्वाचनपछि छाडा चौपायाको विषयलाई तत्काल समाधान गर्न स्थानीयले दबाबसमेत दिएका थिए ।

चौपायाका कारण यस क्षेत्रका किसान र स्थानीयलाई ठूलो पिरलो पर्दै आएको थियो । खेतबारीमा लगाएका तरकारी, फलफूल र अन्यबाली खाइदिने गरेको थियो । नगरका छाडा पशु व्यवस्थित गर्न नसक्दा सवारी चालक, पैदल यात्रुले समेत दुःख पाएका थिए । व्यवसायीको पसलमै पुगेर हिनामिना गर्ने गरेको थियो । सडकमा रहने ती चौपायाले दुर्घटनामा समेत टेवा पु¥याएको थियो ।

तपाईको प्रतिक्रिया