बजेट नेताले भनेको ठाउँमा होइन, नीतिले भनेको ठाउँमाः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७६ वैशाख ३ गते १४:०७

समाधान संवमददाता, लमजुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेताले भनेको ठाउँमा बजेट विनियोजन नहुने बताएका छन् । ‘जनताको बजेट हो, पहिले पहिले जस्तो नेताले भनेको ठाउँमा आउँदैन,’ उनले भने, ‘हाम्रा नीतिहरुले भनेको ठाउँमा मात्र आउँछ ।’

लमजुङको सुन्दरबजार ११ तुर्लुङकोट गैह्रीगाउँमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले जनता र जनप्रतिनिधि मिल्न आवश्यक रहेको बताए । जनता र जनप्रतिनिधि मिलेमा विकास छिटो हुने धारणा राखे ।

Advertisement

कृषि उत्पादन नबढाई समृद्धि नआउने भन्दै उनले स्थानीयबासीलाई पौरख गर्न आह्वान समेत गरे । ‘हामीले कृषिमा ५० प्रतिशतसम्म अनुदान दिने निति लिएका छौं,’ उनले भने, ‘पौरखी हातलाई रित्तो फर्कन दिन्नौं ।’ कृषि पूर्वाधारमा प्रदेश सरकारले सहयोग गर्ने भन्दै उनले यस्तो सरकार नेपालमा पहिलोपटक बनेको बताए ।

विकास गर्ने पार्टी सरकारमा रहेको दाबी गर्दै उनले आवश्यकता हेरेर विकास निर्माणका योजना अघि बढाउने बताए । सो अवसरमा मुख्यमन्त्री गुरुङलाई दुरा सेवा समाजका उपाध्यक्ष सुरेशकुमार दुराले खजे दुरा संग्रहालय भवन निर्माण र खजे दुरा स्मृति पार्क सौन्दर्यीकरणका लागि सहयोग गर्न ज्ञापनपत्र बुझाएका थिए ।

Advertisement

यस्तै, स्थानीय आमा समूहले सामुदायिक भवन बनाउन र मोटरबाटो १२ महिना चल्ने बनाउन आग्रह गरेका थिए । त्यस अवसरमा न्यु लालिगुँरास युवा क्लब, बुद्धिविकास आमा समूह, कल्पना आमा समूह, अमरज्योति युवा क्लब, हिमाली आमा समूह, सानोपानी आमा समूह र चण्डी आमा समूहले सम्मान व्यक्त गरेको थियो । कार्यक्रममा सुन्दरबजार ११ का वडाध्यक्ष प्रेमबहादुर दुराले वडाको काम गर्दा कसैलाई पनि अन्याय र भेदभाव नगरेको बताएका थिए ।

तपाईको प्रतिक्रिया