गौंथली

समाधान संवाददाता २०७६ वैशाख ८ गते १६:०३

डोलराज अर्याल

Advertisement

‘गौंथली यातायात !’ अहिले पनि गौंथली देख्नासाथ र गौंथलीको नाम सुन्नासाथ मेरो दिमाग खलबलिन्छ । कुनै समय गौंथलीले ठूलै हलचल ल्याएको थियो । अहिले पनि त्यसको धक्का महसुस गरिरहेछु । गौंथलीले बिस्तारामा फोहोर गरेर, सुकाएको बिस्कुन खाइदिएर हलचल भने ल्याएको होइन । पोथी मरेपछि भोलेले ल्याएकी कान्छी श्रीमतीले प्वाँख नउम्रेका बचेरालाई भूइँमा खसालेर मारेपछि बचेराको विभत्स मृत्यु देखेर पनि मस्तिष्क हलचल भएको होइन हो त हाम्रो समूहमा ठूलै आतंक मच्चाएर ।

गौंथलीको समूहमा ६ ओटी केटी थिए । पुतली, सुन्तली, डल्ली, नक्कली, कौशिला र भद्रकली । आइए सेकेन्ड इयरका म्याथ ग्रुपका चञ्चले केटीको संयुक्त नाम भने ‘गौंथली’ । मेकअपका सामग्री बढी प्रयोग गर्ने, कपालमा सधैं गुलाबी फूल सिउरने र पुतली जस्तै राम्री लागेर हामीले राखेको नाउँ पुतली, वास्तविक नाम भने पवित्रा । सुनिताको आधुनिक नाम सुन्तली ।

Advertisement

डल्लीलाई उचाइले ठगेको थियो । नक्कली नामअनुसारको व्यवहार, कपालको फुर्काे टाउको झड्कारेर पछाडि लैजानुपर्ने र बजारमा लेडिज फेसनको पहिलो प्रयोगकर्ता । सरले दिएको हिसाब सबभन्दा पहिला गर्न कुशल कौशिला । छुच्चो ग्रुपमा बढी सुन्ने र कम बोल्ने, साथीको व्यवहारको आलोचना पनि गर्ने तर संगत नछाड्ने भद्र अर्थात् भद्रकली ।

हामी पनि ६ जना थियौं । म, प्रकाश, दीपक, लालध्वज, विवेक र पाण्डु । हाम्रो समूहको नाम के राखेका थियौं र हामीप्रतिको दृष्टिकोण कस्तो थियो थाहा भएन । दुवै समूहका सदस्य मिली खाली समयमा बदाम, सुन्तला, चिया, चमेना साथै हुन्थ्यो । गौंथली ग्रुपमा अमिली अनिवार्य प्रयोग गरिन्थ्यो ।

Advertisement

थोरै मित्रता र धेरै आलोचनाका बीच सम्बन्ध अगाडि बढ्दै थियो । ग्रहण लाग्यो । १ दिन मैले आफूले नजानेको हिसाब सरसँग सोध्दै थिएँ । नक्कलीले प्याच्च भनी, ‘छ्या तेती पनि नजान्नी ।’ सरले पनि यति पनि नजानेको भन्दै नक्कलीकै पक्षमा फैसला गर्नुभयो र मेरो अपमान ।

म जुरुक्क उठें । सरासर बाहिर गएँ । हाम्रो ग्रुपका सबै साथी बाहिरिए । हामीले कक्षा बहिष्कार गर्यौं‍। भोलिपल्टदेखि म्याथ पिरियडमा बाहिर चौरमा बदाम र सुन्तलाको व्यापार राम्रो हुन थाल्यो । गौंथली ग्रुपले थाहा पायो । अर्काे पिरियडमा सोध्यो, ‘किन नपढेको ? तिमीहरूलाई सरले सोध्दै हुनुहुन्थ्यो ।’ प्रकाशले भन्यो, ‘किन सोध्नु परेको ।

नजानेको उत्तर भन्ने कि अपमान गर्ने ? राम्रोसँग पढाए त भइगो नि ! आदर्श शिक्षकका आदर्श विद्यार्थीलाई । हामीले पनि ट्युसन पढेर पास गरी देखाइन्छ ।’ नक्कलीले केही भन्न खोज्दै थिई । लालध्वज अगाडि सर्‍यो र चोर औंला ठड्याउँदै भन्यो, ‘आजदेखि केटाहरूलाई इन्सल्ट गर्ने होइन । फेरि बढी भइस् भने सबको कपाल काटेर मुडुली बनाइदिउँला ।’

केटाहरू गलल्ल हाँस्न थाले । नक्कलीले के भनिस् रे ? हेरौं त तेरो तागत ! सक्छस् भने आइज भन्दै झम्टिन थाली । पुतलीले नक्कलीलाई र मैले लालध्वजलाई तानेपछि मत्थर भयो ।

त्यसपछि गौंथली ग्रुप देख्ने बित्तिकै केटाहरूले जिस्काइहाल्थे । गौंथली ग्रुपका अगाडि हामी १÷२ जनामात्र भयौं भने लाजले पानीपानी हुने गरी जिस्क्याउँथे । एक पटक पाण्डुलाई भनेछन्, ‘ओइ पाण्डे, हेर त तेरो फस्नर खुला छ ।’ पाण्डु लाजले रातो हुँदै ट्वाइलेटतिर गएछ । हेर्दा त फस्नर खुला थिएन ।

कहिले भन्थे, ‘ए केटा ! तँलाई के भएको ? हिँड्दा त तेरो एउटा खुट्टो अगाडि एउटा खुट्टो पछाडि पो छ ।’ हामी भने कहिले एक्लै भेट्टाउँला र लज्जित तुल्याउँला भन्दाभन्दै मौका नै पाउँदैनथ्यौं ।’ एकपटक होली पूर्णिमाको अगिल्लो दिन पानीका बेलुन लिएर बसेका थियौं । टक्–टक् पान्डा जुत्ताको आवाजसँगै डल्ली देखापरी । एक्लै थिई । यही हो मौका । नछोड् । सबै केटाले पानीका बेलुन डल्लीमाथि प्रहार गरे । मजाले रुझी । केटाहरू गौरव मान्दै बसेका थिए । टक्क उभिएर भनी, ‘साले भिखारी, रंग किन्ने पैसा थिएन ? शुद्ध पानीले छ्यापिस् । पख् तँलाई ।’ डल्ली सरासर गई हामी हेरेको हेर्‍यै भयौं ।

यस्तैयस्तै द्वन्द्वमा सेकेन्ड इयरको पढाइ सकियो । म्याथको ट्युसन पढ्न थालियो । गौंथली ग्रुपसँग जे भए पनि पुतली त मेरो मनमा बसिछ । थाहै नपाई उसको तस्बिर मेरो मुटुमा कोरिएछ । उसैलाई सम्झेर एकान्तमा टोलाउन पुगेछु । राम्री पनि कस्ती ? सेतो छाला, बाटुलो अनुहार, बदामी आँखा, चुच्चो नाक, चौडा निधार, अनार जस्ता दाँत । अग्लो कद । खिरिलो जिउडाल । आकर्षक व्यक्तित्व र घरिघरि मैलाई हेर्ने बानी ।

हाम्रो द्वन्द्व हुनुभन्दा अगाडि १ दिन भनेकी थिई, ‘यो पवन त कस्तो छुच्चो छ ।’ मैले अनायसै सोधेको थिएँ । किन ? प्याच्च भनी, ‘पढाइ भएको बेलामा पनि मलाई मात्र हेरिरहन्छ ।’ मैले शान्त हुँदै सोधें, ‘कसरी थाहा पाइस् नि ?’ ‘मैले तँतिर हेरिरहँदा तैंले पनि खाली मैतिर हेरिरहन्छस् ।’ वास्तविक उत्तर दिएकी थिई । हाँसो बढेर गएको थियो ।

मैले उसलाई हेर्ने र उसले मलाई हेर्दा आँखा जुधेर ४ भएपछि दुवैले सरलाई हेर्ने हाम्रो दिनचर्या नै बनेको थियो । क्याम्पस जान छाडेपछि पुतलीलाई देख्नै पाइएन । पढ्न बस्यो, आँखामात्र किताबमा । मन त घरि पुतलीलाई उडाउँदै बगैंचामा पुर्‍याएको छ । घरि पुतलीसहितका छोराछोरीलाई गाडीमा राखेर देश–विदेश घुमाएको छ ।

दिक्क लाग्थ्यो । केटाहरूलाई भन्थें, नपढे पनि क्याम्पस जानुको मजा त बेग्लै हुँदो रहेछ । जाऊँ न यार क्याम्पस । केटाहरूले जिस्क्याउँथे । गौंथली ग्रुपको याद आयो कि ! अर्काे भन्थ्यो, ‘पुतलीलाई पनि ट्युसन पढ्न बोला न ? होइन मुला ।’ कान राता बनाउँदै भन्ने गर्थें । यत्रो नहुनु नि । केटाले सही पो भनेका हुन् । कतै केटाले मेरो मनको डायरी पढे कि ? प्रहरीलाई देखेको अपराधी जस्तै भन्ने गर्थें, ‘होइन मुला ।’

जतिखेर पनि पुतलीमात्र नाच्न थाली । मेरो मनको फुलबारीमा पुतली आतंक ज्यादै बढ्न थाल्यो । तर पुतली कति दुष्ट भने एकै ठाउँमा बस्दै नबस्ने । चञ्चल, चञ्चल र साह्रै चञ्चल । पढ्न मनै छैन । ट्युसनमा पनि सरले दिएको हिसाब साथीले हल गरेर भ्याउँदा म झस्कन्थें यादहरूदेखि ।

१ दिन बागबजारमा देखेको थिएँ । एक्लै थिई । म दाजुसँग । मुस्कानमात्र साटासाट भयो । बगर जान लागेको भन्दै हिँडीहाली । मेरो मनमा जम्मा भएको हुटहुटी सुनाउनै पाइनँ । भन्न मन लागेको थियो । पुतली, म तिमीलाई मन पराउँछु । तिमीबिना म बाँच्न सक्दिनँ । आजभोलि तिमीलाई नदेख्दा पढ्न पनि मनै लाग्दैन । प्लिज मलाई स्वीकार । तिमीहामी सँगै मिलेर पढौं । मलाई सिकाइदेऊ । तिमीले पढाइदिए मैले क्याम्पस नै टप गर्न सक्छु । आदि, आदि ।

उसलाई देखेपछि भन्नै सकिनँ । सार्वजनिक ठाउँ, दाजुसँगै हुनुहुन्छ । उसलाई छुट्टै बोलाएर भनुँ भने पनि दाजुले के ठान्नुहोला । फेरि पुतलीले यी कुरा सुनेर गालामा २ थप्पड लगाइदिइ भने । अस्तिनैको झगडादेखि त मलाई लुकीलुकी हेर्न पनि छोडेकी छ । भन्नै सकिनँ । बाटो क्रस भएर पुतली गई । म भने गरुडको छायाँमा परेको सर्प जस्तै भएँ । झस्कें विचारदेखि र वरिपरि हेरें । धन्न प्रभु, कसैले मलाई हेरेका रहेनछन् । नत्र मेरो त्यो अस्तव्यस्त मानसिक अवस्था देखेर के भन्दा हुन् ? डराउँदै अघि बढें ।

परीक्षामा कहिलेकाहीं भेट हुन्थ्यो । आँखा जुध्थे । गौंथली ग्रुप र हाम्रो ग्रुप छेडछाड चलिहाल्थ्यो । साथीहरू पढेर ढुक्क थिए । आफू भने खाली मनमा पुतली उडाएर बसियो । विषयवस्तुको ज्ञान केही थिएन । पवन, पवित्रा । अल्फाबेट एउटै । कहिलेकाहीं एउटै कोठमा पनि परिन्थ्यो । प्रश्नपत्र हात परेपछि कलम दौडाइहाल्ने पुतली, कलम टोक्दै बस्ने म । आफैंलाई नरमाइलो लाग्थ्यो ।

सेकेन्ड इयरको परीक्षा सकियो । केही लेखिएको होइन । फस्ट इयरको पनि २÷२ वटा ब्याक छ । मन एकतमासको भयो । उता पुतली फस्ट इयर पास छु भन्थी । फेरि मैले पढेर ब्याक कटाए पनि डिप्लोमा पढ्दा पुतली सिनिअर हुने भई । पुतलीसँगै पढ्न नपाएपछि पढेर पनि के मजा होला र ? अनि पढेर पनि के गर्न सकिएला र ? पढाउने पनि कोही थिएन । बाआमा बुढाबुढी । दाइहरूले पढाउन परेकामा चिन्ता मान्दै बसेका थिए । यस्तै सोचेर बगरको डेरा छोडेर फर्कें बागलुङतिरै । बाआमाले कान्छो सहराँ पढ्न गइच्च । पढेर मास्टर हुन्च भन्दै छिमेकीलाई भनेका भनाइलाई झुटा सावित गर्दै गाउँ फर्कें । साथीहरूसँग बिदा हुन पनि मन लागेन । गाउँ फर्कनु परेकामा भन्दा पनि पुतलीलाई छोड्न परेकामा मन चिन्तित थियो ।

असार–साउनमा खेतीबाली लगाएपछि आइए पास भएकाहरू बिए पढ्न सहर झरे । म भने गाईबाख्रासँगै हराउन थालें । पढाइको चिन्ता त थिएन । पुतली गुमाउनुको ठूलै चिन्ता थियो । भविष्य खोज्न थालें गाउँका कुना, कन्दरा र भीर पाखाहरूमा । अहँ भेटिएन ।

पढेर पास नहुने छोराछोरीलाई बाआमाले पनि जाती मान्दैनन् । फेल भएरै गाउँमा बसेपछि बाले पनि छेडछाड गर्न थाले, ‘त्यत्रो वर्ष सहराँ बसेर के अरिस् तनि ? पास पनि भ’को छैनस् अरे । दाजुहरूले पसिना बगा’र कमा’छन् के रे, मोज गरिस् । आफूले नपढे पनि कान्छालाई पढा’र ठूलो मान्छे बनाम्नी भनेको तरलाउनी भइनस् । बाख्रा हेर्न पनि पढ्न पर्थाे र ?’
बाले भनेकै दिन माइला दाइलाई चिठी लेखें ।

दाइ, पढ्न सकिनँ । म पनि अरबै आउँछु । भिसा पठाइदिनू । चिठी पाएको दिन दाइ निकै खुसी थिए रे । पहिलो कुरा पढाउन परेन । दोस्रो कुरा भाइ पनि अरबे नै हुने भयो । भाइ पढेर हाकिम बन्छ कि भनेर चिन्ता गर्ने दाइहरूका लागि मेरो निर्णय आत्म सन्तोष गर्ने विषय बन्यो । भिसा पठाइहाले । जानै लागेको थिएँ । दसैंको टिको ला’र जालास् । आमाको ममताले जान दिएन । अगिल्लो दसैंमा धेरै पढेर ठूलो मान्छे बनेस्, मास्टर भएस् भनेर आशीर्वाद दिने बाआमाले यसपालिको– ‘दसैंमा पढ्न सकिनस् के रे । तेरै कर्म तेस्तो । सजिलो काम पाइयोस् । दुख नपाएस्’ भन्दै आशिष दिए । दसैंको भोलिपल्ट झोला बोकियो ।

अरबको घाम । मरुभूमिको जागिर । भेडा चराउनुपर्ने । भेडा हराए तलबबाटै पैसा काटिने । गर्मी त्यस्तै । साह्रै दुख पाइयो । मनमा त पुतली नै थिई । पुतलीको घर मेरो मनमा यति बलियोसित बसेछ कि कर्णालीको भीर भत्काएर डोल्पामा बाटो पुर्‍याउन सकिएला मेरो मनको घर भत्केन । डोजरले पनि भत्केन, ब्रेकरले पनि भत्केन । बम पड्काउँदा पनि भत्केन ।

मरुभूमिका चर्का घाममा पनि पुतलीको कल्पनामा सीतल मिल्थ्यो । पैसा कमाएर पोखरामा घर बनाएपछि त पुतली कसरी आफ्नी नहोली र ?
३ वर्ष भेडा चराएर फर्कें । १ लाख ८० हजार कमाएको थिएँ । दाजुहरू पहिल्यै विदेसिएका । म पनि अरब पुगेपछि माइला दाइले भनिहाले, ‘जग्गा–जमिन बाँड्न परेन । कमाइ आफ्नो–आफ्नो गरम् । तेरो विवाह तँ आफैंले गर् । विवाहमा लाउनीभन्दा बढी पैसा पोखरामा बसेर खाइस् ।’
मैले कमाएको मेरै भयो । घरमा २÷४ दिन बसेपछि पोखरा झरें । जग्गाको भाउ सस्तै थियो । लेखनाथको गगनगौंडामा घडेरी किनें । जग्गा पास गरेपछि मन मानेन । पुतलीलाई देख्न पाइन्छ कि भन्दै क्याम्पस गेटतिर लागें ।

ऊ बेला त मोबाइल–फोन पनि थिएन । घरभेटीकहाँ फोन गर्‍यो भने केटाले गरेको भनेपछि नबोलाइदिने । अहिले जस्तो मोबाइल भएको भए त पुतली मेरै हुन्थी । यस्तै सोचेर क्याम्पस गेटमा ३ घन्टा बसें । पुतली भेटिइन तर पुतलीहरू भेटिए । मेरो कल्पनाकी पुतली होइन अरूकै अँगालाका पुतलीहरू ।

दिल एकतमासको भयो । पुतलीको रूपाकृति मस्तिष्कमा घुम्न थाल्यो । मैले लुकीलुकी हेर्दा मलाई लुकीलुकी हेर्ने पुतली आज अरूकै फुलबारीमा घुम्दै छे जस्तो लाग्यो । घरमा गएँ । विवाहको कुरा आयो । ८ कक्षा फेल भएकी बाहुनी फेला परी । आइए फेल भएर अरबमा भेडा चराउनेलाई त्यत्तिको राम्रै लाग्यो । विवाह गरें ।

श्रीमतीमा पनि पुतली नै देख्न थालियो । श्रीमतीले लगाएको सारी पनि पुतलीको जस्तो लाग्ने । ओडेको पछ्यौरा पनि पुतलीकै हो जस्तै लाग्ने । यतिसम्म कि श्रीमतीलाई म्वाइँ पनि पुतलीकै स्वादमा खाइयो । विवाह गरेको २ महिनापछि फेरि ‘भेडो’ हुन हिँडें ।

आज विवाह गरेको १० वर्ष पुगेछ । छोरो ३ मा र छोरी २ कक्षामा पढ्छन् । लेखनाथमा घर पनि बनेको छ । दंग छु । बगैंचामा पुतली उडेको देख्दा र कतै पुतली नामांकित हुँदा पुतलीलाई सम्झेर दिमाग खलबलिने बाहेक म पनि मेरै संसारमा छु । सँगै पढेका जेहन्दार साथीहरू भाडाका कोठामा बसेर क्याम्पसमा पार्ट टाइम पढाउँदा रहेछन् । म भने बैंक ब्यालेन्ससहित आफ्नै घरमा बसेको छु । धन्य पुतली तेरै कारण त यत्रो प्रगति भयो ।

१ दिन पोखरा जाँदै थिएँ । बसमा चढें । सिट खाली थिए । रोजेर बसें एउटामा । अघिल्लो स्टेसनमा बस रोकियो । एउटी महिला १ वर्ष जतिको बालखा च्याप्दै चढिन् । हाँस्दै बस्ने अनुमति मागिन् । झसंग भएँ । पुरानो स्मृति आयो । घाउ बल्झियो । अरू त परिवर्तन भएछ । पुतलीको नाक र हाँसो उही । चिनें र भनें पवित्रा !

अचम्ममा परी । मलाई चिनिन । माइततिरको दाइ होला ठानी । उतिखेरको ३८ किलोको ख्याउटे म अहिले ८३ किलोको भुँडे भएको छु । मैले त जतिखेर पनि पुतलीकै ध्यानले चिन्न सकें । पुतलीको मनमा त म थिइनँ होला, चिनिन । जसको सम्झनामा म आजसम्म तड्पिरहें उसले मलाई चिन्नसम्म पनि चिनिन । मलाई लुकीछिपी हेर्ने पुतलीले निर्धक्क हेर्न पाउँदा पनि हेरिन । पुतलीसित बोल्न मन लाग्थ्यो । सोधें गौंथली ग्रुपलाई । सुन्तली विधवा भएकी छ रे । १० वर्षे जनयुद्धले उसको सिउँदो पुछिदिएछ । डल्ली घरमा गृहिणी । इन्डियाको लाउरे श्रीमान् छ रे । नक्कलीको तेस्रो घरबार बिग्रेछ, चौथाको सुर छ रे । कौशिलाले क्याम्पस पढाउँछे रे । भद्रकली गुमनाम ।

मैले पनि परिचय दिएँ । अहँ ! मेरो परिचयले पुतलीलाई प्रभावित बनाएन । ए, भनेर मुसुक्क हाँसी र उनै पुराना दाँत देखाइ । खस्न लागेको छोराको टोपीतर्फ ध्यान दिई । न मेरो विगत सोधी न त वर्तमान अनि हाम्रो ग्रुपका बारेमा पनि वास्ता गरिन । मौन रूपमा अगाडि बढ्यौं । पृथ्वीचोकमा बस रोकिएपछि जान्छु पनि नभनी पुतली झरी र फेरी बेपत्ता भई ।

तर पनि मेरो दिमागमा पुतली छे । गौंथली छ । हाम्रा झगडा ताजा छन् र सम्झनाका क्षणहरू पनि । कौशिला र प्रकाश क्याम्पसमा सँगै पढाउँछन् । गौंथलीहरूलाई पनि थाहा छैन होला गौंथलीका बारेमा । गौंथलीको नामाकरण गर्नेहरूको स्मृतिबाट पनि गौंथली हराइसक्यो होला तर मेरो मनमा गौंथलीले हलचल ल्याइरहेको छ ।

आज पनि मेरो मनमा गौंथली र पुतली ताजा नै छन् । बालखा च्यापेको पुतली होइन, चञ्चले, छुच्ची पुतली । छुट्टी सकियो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेन । काठमाडौं जानुप¥यो । बसको टिकट लिइनँ । टिकट कटाएका बसले पनि समयमै पु¥याउने होइनन् । पृथ्वीचोकबाट छुट्न आँटेको गाडी चढ्नुपर्ला भन्ने ठानेर पोखरा आएँ । झोला भिरेको हुनाले एउटा लुरे खलासीले सोध्यो । दाइ काठमाडौं ? मुसुमुसु हाँसेपछि झोला बोक्दै लुरे बससम्म पुग्यो । बसमा लेखिएको थियो ।
‘गौंथली यातायात’ ।

झस्कें । बस चढ्नै लाग्दा ढोकातिरको भागमा ठूला र चमकदार अक्षरमा लेखिएको थियो । पुतली । फेरि झस्कें । दुखें । पुतलीले छोड्ने भइन । बस गुडेपछि कन्डक्टर भाडा उठाउन आयो । आँखा जुधायो र भन्यो…, पवन ! । झस्कँदै हेरें । पान्डु रहेछ । दिमाग फन्फनायो । आइए फेल भएपछि बसमा कन्डक्टर गर्दै बसको मालिक भएको रहेछ । सोचें पान्डु भेटेपछि यात्रा सजिलो हुने भयो । सजिलो होइन अप्ठ्यारो लाग्यो । पान्डुले जीवजन्तु र कीराफट्याङ्ग्राको माया लागेर हो वा किन हो ? गौंथलीमा यातायातमा स्वर्णाक्षरले पुतली लेखेको ?

तपाईको प्रतिक्रिया