घाइतेलाई पीडा, आसेपासेलाई फाइदा

समाधान संवाददाता २०७६ वैशाख १२ गते १२:१४

समाधान संवाददाता
पोखरा

नागरिक समाजका अगुवाले ३ तहको सरकारले २०६२÷०६३ सालको जनआन्दोलनका घाइते तथा योद्धाको सबाललाई सम्बोधन गर्न नसकेको बताएका छन् । उनीहरुले जनआन्दोलनका घाइते तथा सहिदको सबाललाई नीतिगत सम्बोधन गर्न आग्रह गरेका छन् ।

नेपाल बार एसोसियसनका उपाध्यक्ष सुरेन्द्र थापामगरले राजनीतिक परिवर्तनका संवाहकलाई सरकारले नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने बताए । लोकतन्त्र दिवसको अवसरमा सहिद परिवार तथा घाइते समन्वय समिति कास्कीले बुधबार गरेको लोकतन्त्र दिवस, प्राप्त उपलब्धि र कार्यान्वयनबारेको अन्तक्र्रियामा अधिवक्ता थापामगरले जन आन्दोलनको जगमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षता कायम भएको उल्लेख गरे ।

Advertisement

‘आन्दोलनका योद्धाको योगदानको कदर गर्दै प्राप्त उपलब्धिको रक्षा गर्नु आवश्यक छ,’ उनले भने, ‘राजनीतिक परिवर्तनसँग जनताले समृद्धि खोजेको भए पनि त्यसतर्फ काम हुन सकेको छैन ।’ जन आन्दोलनको सफलतापछि पात्र फेरिएको भए पनि प्रवृत्ति परिवर्तन हुन नसकेको उल्लेख गर्दै उनले संघीयताको कार्यान्वयनमा जटिलता भएको धारणा राखे । समन्वय समिति कास्कीका सल्लाहकारसमेत रहेका थापामगरले संघीयताको कार्यान्वयनका लागि अधिकार प्रत्यायोजन व्यावहारिक रुपमा कार्यान्वयन हुन नसकेको संकेत गरे ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले नयाँ संघीय प्रणालीमा जाँदा व्यवस्थापकीय समस्या भएको बताए । उनले संघीयता ३ तहको सरकारबीच समन्वय, सह अस्तित्व र सहकार्यमा अघि बढ्ने व्यवस्था भए पनि आआफ्नो अस्तित्वमात्र खोज्ने काम गलत भएको उल्लेख गरे । उनले आन्दोलनको सफलतापछि आर्थिक सुधार र समृद्धिमा ध्यान दिन नसकिएको धारणा राखे ।

Advertisement

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालले दलबीचको आपसी झगडा र विदेशीको प्रभावको कारण उपलब्धिको रक्षा हुन नसकेको बताए । अग्रज मानव अधिकारकर्मी टेकनाथ बरालले क्रान्ति आन्दोलनको सफलतापछिको व्यवस्थापनको काम चुनौतीपूर्ण हुने बताए । मानव अधिकार संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष नवदत्त ढुंगानाले मानव अधिकारको संरक्षण र प्रबद्र्धन गरी सुशासन कायम गर्नुपर्ने बताए ।

जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति कास्कीका निवर्तमान अध्यक्ष ढाकाराम पौडेलले राजनीतिक परिवर्तनको फाइदा नेताका आसेपासेले लिएको आरोप लगाए ।

कार्यक्रममा पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपाली, नेकपाका प्रतिनिधि शोभाखर भण्डारी, मानव अधिकार आयोगका अधिकृत टंक खनाल, जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति कास्कीका अध्यक्ष शेखर गौतम, उपाध्यक्ष नारायण सुवेदी, सचिव विजया सुवेदी, सल्लाहकार सविता दाहाल, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानुभक्त ढकाल, अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटा, अखिल छैटांैका नेता गणेश अधिकारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया