सम्पादकीयः लायन्सलाई स्वार्थमा प्रयोग नगरौं

समाधान संवाददाता २०७६ वैशाख १३ गते ८:५१



मानवीय सेवाकै लागि सय वर्ष अघि स्थापना भएको हो लायन्स । लायन्स अर्थात् लिबर्टी, इन्टेलिजेन्स आवर नेसन्स सेफ्टी । ७ जुन १९१७ का दिन अमेरिकाको सिकागो इलियोन्समा १ सामान्य जीवन बिमा व्यवसायी मेल्भिन जोन्सको पहलमा स्थापित एसोसिएसन अफ लायन्स क्लब्स नै आजको लायन्स क्लब्स इन्टरनेसनल हो ।

आफ्नै पेसामा व्यस्त रहने मेल्भिन जोन्सलाई पहिलो विश्व युद्ध र त्यसले पारेको असरले पोलिरहन्थ्यो । त्यसैले होला उनमा दया भाव पलायो । अनि साथीभाइ जुटाएर ‘हामी सेवा गर्छौं’ भावना साथ क्लब स्थापना गरे । १३ जनवरी, १८७९ मा अमेरिकाको थोमस आरिजोनामा जन्मेका मेल्भिन जोनले जन्माएको लायन्स क्लब अहिले विश्वकै सबैभन्दा ठूलो सेवादायक संस्था सावित भएको छ । उनको अभियानले शताब्दी पार गर्दा लायन्सको महत्व व्यापक भएको छ । विश्वव्यापी रुपमा सञ्जाल विस्तार भएको छ र सहयोगी मनहरु दिनप्रतिदिन थपिँदै छन् ।

विश्वका सबैजसो देशमा सञ्जाल भएको वृहत सामाजिक संस्था अन्तर्गत उत्कृष्ट डिस्ट्रिक्टमा दरिएको ३ सय २५ बी १ । आगामी दिनमा समेत डिस्ट्रिक्टलाई अझ उचाइमा पुर्‍याउन यसले सोही अनुसार काम गर्दै गएको छ । जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने विश्वासलाई आत्मसात गर्दै आएको लायन्सको काँधमा धेरै जिम्मेवारी थपिएको छ । चाहे भूकम्पको बेलामा होस या बाढी पहिरो । अनि अरु कुनै घटनाहरु । त्यहाँ लायन्स पुगेर सहयोग गरिरहेको छ ।

Advertisement

०७२ वैशाख १२ गते प्रज्ञा भवन काठमाडौंमा डिस्ट्रिक्ट कन्भेन्सन भइरहेका बेला भूकम्प गयो । फास्ट ट्रयाकबाट अधिवेशन टुंग्याएर लायनहरु तत्काल सेवा भावमा जुटेको अवस्थालाई हामीले बिर्सनु हुँदैन । अविरल वर्षाले तराईमा पुर्‍याएको मानवीय र भौतिक क्षतिले सबै नेपालीको मन रुवाएको बेला पनि लायन्सले आफ्नो दायित्व निभाएकै छ । बारा र पर्सामा आएको आँधिहुरीले पुर्‍याएको क्षतिमा समेत लायन्सले मल्हमपट्टी लगाउन चुकेन ।

डिस्ट्रिक्ट ३ सय २५ बि १ को ७ औं महाधिवेशन ०७५ वैशाख १३ र १४ गते पोखरामा हुँदैछ । आगामी वर्षका लागि नेतृत्व चयनसँगै पोखराको पर्यटन प्रवद्र्धनमा यो महाधिवेशन कोशेढुंगा सावित हुने छ । मुलुकभरबाट २ हजार ५ सयभन्दा बढी लायन पोखरा आउने छन् ।

Advertisement

समाजसेवाकै लागि खुलेको लायन्स अरु बेलाभन्दा पनि नेतृत्व चयनका बेला अलि बढी विवादमा तानिने गरेको छ । सहमतिकै आधारमा सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर चयन गर्ने परम्पराले निरन्तरता पाउन सकेको छैन । मतदानकै अवस्था सिर्जना भएको छ । पोहोर पनि उक्त पदका लागि मतदान नै भएको थियो । विभिन्न स्वार्थ समूहको प्रभाव, अनि नेतृत्वमा पुग्ने होडबाजीका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको छ । चुनाव जित्ने नाममा आफू निकट समूह बनाउने, अनि सामाजिक सञ्जालमा गालीगलोजका शब्द प्रयोग गर्ने क्रम बढ्दो छ ।

आफ्नो आम्दानीको केही हिस्सा कटाएर आफूभन्दा कमजोर अवस्था भएकालाई सहयोग गर्न स्थापित यो संस्थालाई समाजमा अधिकांश तत्वले अझै सकारात्मक रुपमा स्वीकार्न सकेका छैनन् । अझ चुनावमा नाममा हुने होडबाजीले पक्कै पनि समाजमा राम्रो सन्देश प्रवाह गरेको छैन । प्रजातान्त्रिक प्रणालीलाई लायन्सले स्थापना कालदेखि नै लायन्सले आत्मसात गर्दै आएको छ । तर चुनावका नाममा हुने गैर प्रजातान्त्रिक गतिविधिलाई तत्काल रोकेर अघि बढ्नुपर्छ ।

तपाईको प्रतिक्रिया