समाजसेवा र उद्यमशीलतामा रमाउने पवित्रा गुरुङ

समाधान संवाददाता २०७६ वैशाख १४ गते १७:२४
पवित्रा गुरुङ ।

जमुना वर्षा शर्मा

सानैदेखि सामाजिक रुपान्तरणका लागि अग्रसर हुन मन पराउने पवित्रादेवी गुरुङ सामाजिक र उद्यमशील क्षेत्रमा क्रियाशील सफल महिला हुन् । बुबा पदमबहादुर र आमा कुलकुमारी गुरुङकी जेठी सन्तान उनले जब सामाजिक अवस्था बुझ्न थालिन् त्यस बेलादेखि नै महिला अधिकारको क्षेत्रमा क्रियाशील बनिन् ।

राजनीतिक पृष्ठभूमिको परिवारमा कास्कीको सिल्जुरे तप्राङ गाउँमा २०२६ माघ १५ गते जन्मिएकी पवित्रा त्यसैको प्रभावबाट सचेत भएर अघि बढिन् । बुबा राप्रपाको सक्रिय नेता थिए । पवित्रा भने कम्युनिस्ट विचार धाराबाट प्रभावित भइन् । तत्कालीन महारुद्र निमाविका प्रधानाध्यापक उदयबहादुर बस्नेतको शिक्षाबाट उनले विस्तारै कम्युनिस्ट विचारधारालाई ग्रहण गरिन् । पृथ्वीनारायण क्याम्पसमा शिक्षाशास्त्रमा पढ्दै गर्दा विभिन्न राजनीतिक कार्यक्रममा पनि सक्रिय सहभागिता जनाउँदै गइन् । विविध कारणले उनले पढाइलाई अघि बढाउन सकिनन् । ३ वर्ष महारुद्र निमाविमा प्राथमिक तहमा पनि अध्यापन गराइन् । पोखरा महानगरपालिका वडा नं १४ लालीगुराँस बोर्डिङमा पनि २ वर्षे अध्यापनको अनुभव हासिल गरिन् ।

२०४५ सालमा पर्वतको राम्जाचित्रेका विश्वप्रकाश गुरुङसँग विवाह पश्चात उनको गृहस्थी जीवन सुरु भयो । उनका ४ सन्तान छन् । सन्तान जन्माउने हुर्काउने जिम्मेवारी सँगसँगै उनी सामाजिक क्षेत्र र राजनीतिक क्षेत्र हुँदै व्यावसायिक क्षेत्रमा उत्तिकै क्रियाशील हुँदै अघि बढिन् । पारिवारिक साथ र सहयोगले सामाजिक क्षेत्रमा अघि बढ्न सहज भएको पवित्रा बताउँछिन् । भारतीय सैनिक उनका श्रीमान् विश्वप्रकाश सामाजिक र राजनीतिक क्षेत्रका लागि हौसला दिन्छन् । अहिले बाबाआमा दुवैको स्वर्गबास भइसकेको छ, बाँचुन्जेल उनीहरु कुशल अभिभावक थिए । पवित्राले पनि बाबा र आमाका लागि छोरा सरहकै भूमिका निर्वाह गरिन् । वृद्ध बाबाआमाको सहारा बनिन् । छोरी संगीता, सुस्मिता, सुजिता र छोरा जेजसलाई मातृममतासहित असल संस्कार र शिक्षा दिइरहेकी छन् ।

२०४८ सालमा पोखरा- १८ (हाल १४) मसिना आमा समूहको (हाल भगवती आमा समूह) नेतृत्व गरेर दिदीबहिनीहरुलाई संगठित गर्ने कार्यमा सक्रिय भइन् । महिलालाई सशक्त बनाउन उनी सधैं नेतृत्वदायी भूमिका निर्वाह गर्छिन् । जीवनमा हरेक दुखसुख र आरोहअवरोहलाई सहज रुपमा ग्रहण गरेर कर्म क्षेत्रमा निरन्तर अघि बढ्न मन पराउने पवित्रा मानिस भएर जन्मेपछि मातृभूमि र समाजका लागि केही गर्नुपर्छ भन्ने मान्यता राख्छिन् । ‘जीवनलाई आफ्नै खुसीले मात्रै रंग्याएरभन्दा अन्याय अत्याचारमा परेकालाई न्याय दिलाउन सके सबैभन्दा सन्तुष्टि लाग्छ,’ उनी भन्छिन् । हुन पनि कतै कसैलाई अप्ठेरो परे, कोही हेपिए, चेपिए भने त्यहाँ आवाज उठाउन पुग्छिन् पवित्रा ।

भूकम्प प्रभावितहरुको चराइरहेको घाउमा मल्हम लगाउन होस् या विभिन्न पक्षबाट सताइएका पीडित महिलाको पक्षमा होस् उनी मानवीयतालाई केन्द्र बिन्दुमा राखेर सत्यको पक्षमा निडर र निर्भीक रुपमा आफूलाई उभ्याउँछिन् । आफ्नो प्रयासले न्याय पाएका दिदीबहिनीको अनुहारमा झल्कने खुसी जीवनको सबैभन्दा ठूलो उपहारको रुपमा आफूले लिने गरेको उनी बताउँछिन् ।

पछिल्लो समय हरेक क्षेत्रमा महिलाहरु सक्रिय रुपमा अघि बढ्दै गए पनि अझै पनि सामाजिक रुपमा महिला सुरक्षित हुन नसकेकोमा चिन्ता व्यक्त गर्छिन् । समाजमा बढ्दो अपराध हत्या र हिंसालाई निरुत्साहित गर्न हरेक घर घरबाट जागरण अभियान सुरु गर्नुपर्ने धारणा राख्छिन् । सामाजिक न्याय र समतामूलक समाजकालागि महिला र पुरुष विभाजित भएर होइन सामाजिक एकता र सहिष्णुताका लागि जुट्नुपर्ने उनको भनाइ छ ।

उद्यमशीलतातर्फका पाइला
पवित्रादेवी गुरुङ सानैदेखि सिर्जनशील थिइन् । आफ्नो समाज बुझेदेखि नै जातीय भेषभूषा रहनसहन र संस्कृतिले धनी गुरुङ समुदायको पहिचानलाई जोगाएर लानुपर्छ भन्ने सोच उनमा पलाउँदै गयो । भेषभूषाले कुनै पनि जातजातिको पहिचान झल्काउने भएकाले उहाँले सर्वप्रथम जातीय पोसाक भांग्राको संरक्षण गर्नुपर्छ भनेर लागिन् । घरमा आमाहरुले घरेलु तानबाट मेहनतका साथ भांग्रा बनाएको उनले देखिराखेकी थिइन् । त्यसलाई उद्योगको रुपमा दर्ता गरेर अगाडि लाने निर्णय गर्नुभयो । परम्परागत रुपबाट भांग्रा बनाउँदा मेहनत धेरै लाग्ने भएकाले आधुनिक तरीकाबाट भांग्रा उद्योग सञ्चालन गर्ने गृहकार्य थालिन् । भांग्रा तयार गर्ने सामाग्री लगायत विविध कुराको खोजी गर्न उनले झण्डै २ वर्ष खर्चिनुपर्‍यो । सोचलाई उद्देश्यमा पु¥याउन धैर्य र इच्छाशक्ति अपरिहार्य ठान्ने उनी कत्ति पनि विचलित भइनन् । अन्ततः उनी सफल भइन् ।

२०६९ सालमा ५ लाख रुपैयाँ लगानीमा आफ्नी आमाको हातबाट उनले भांग्रा उद्योगको शुभारम्भ गरिन् । आज आफ्नै घर पोखरा १० मा सञ्चालित तमु भांग्रा हस्तकला उद्योगबाट थुप्रै महिलाले रोजगारी पाएका छन् । जातीय पोसाकको संरक्षण पनि भएको छ । एउटा भांग्राको मूल्य १ हजारदेखि ५ हजार रुपैयाँसम्म पर्छ । यसको अलावा उद्योगमा महिलाहरुले प्रयोग गर्ने विविध सामग्री तयार गरिन्छ । कास्की कारागारका बन्दी महिलालाई समेत सीप सिकाएर रोजगारी प्रदान गरेकी छन् ।
महिलामाथिको हिंसाको एउटै कारण आर्थिक परनिर्भरता भएको विभिन्न अवस्थाहरुलाई नजिकबाटै नियालेकी पवित्राले आर्थिक समृद्धिका लागि उद्यमशीलता आवश्यक रहेको ठान्छिन् । समाजमा अझै पनि महिलाको क्षमता र दक्षताको कदर गर्ने परिपाटीको विकास हुन नसकेको देख्दा जस्तो सुकै राजनीतिक परिवर्तन भएपनि त्यसको अनुभूति अझै पनि महिलाले गर्न नपाएको उनको भनाइ छ । हरेक मानिस आत्मनिर्भरताका लागि उद्योग कलकारखाना व्यापार व्यवसायमा अथवा जसले जे जानेको छ त्यही सिप लिएर अघि बढ्न सके समृद्धिको सपना पूरा बताउँछिन् । आलोचनामा भन्दा बढी समय सिर्जनशीलतमा बिताउने सके हरेक मानिस सुखी र खुसी हुन सक्ने धारणा राख्छिन् ।

पवित्रा पोखरा महानगरपालिका नगर महिला समन्वय समितिकी अध्यक्ष हुन् । तमु धि नेपाल आमा समूहकी केन्द्रीय द्वितीय उपाध्यक्ष उनी मिलन टोल समाजमा उपाध्यक्ष रहिन् । पर्वतको राम्जा गाउँका बासिन्दाको समाज राम्जा पोखरा सम्पर्क समाजमा सल्लाहकार छिन् भने जनप्रिय टोल विकास संस्थामा अध्यक्ष । मानव विकास तथा शान्ति अभियान हुडेबक (मानवअधिकार)की कोषाध्यक्ष उनी पोखरा महानगरपालिका वडा न १० बाल मैत्री स्थानीय शासनको अध्यक्ष हुन् । २०५४ सालमै पवित्रा आफ्नै टोल पोखरा १० जनप्रिय टोलको जनप्रिय आमा समूहकी अध्यक्षय थिइन् । त्यसअघि ५२ सालमा मिलनटोल आमा समूहको संस्थापक अध्यक्ष उनै हुन् । मिलनटोल÷जनप्रिय टोलतिर बसाइ आउनुअघि पोखरा १८ (हाल १४) को मसिना आमा समूहको उनी संस्थापक अध्यक्ष भएको २०४८ सालमै हो । श्रीमान् आर्मी भएकैले पनि उनी नेपाल भारतीय गोर्खा भूपू कल्याणकारी महिला समितिमा पनि आवद्ध भइन् । २०६४ मा उनी उक्त समितिको अध्यक्ष थिइन् ।

२०४८ सालदेखि निरन्तर समाजसेवा हुँदै २०६९ सालबाट उद्यमशीलतामा प्रवेश गरेकी गुरुङ एक सामाजिक व्यक्तित्वको रुपमा चिनिन्छिन् । दर्जनभन्दा बढी संघसंस्थाबाट सम्मानित उनको सामाजिक क्षेत्रको योगदानलाई मूल्याकंन गर्दै नेपाल सरकारले संविधान दिवसको अवसरमा प्रदान गर्ने जनश्री सेवा विभूषण पदक २०७५ राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित भएकी छन् ।

तपाईको प्रतिक्रिया