मलेसियालाई हराउँदै नेपाल एसीसी यू१६ इस्टर्न रिजन च्याम्पियन

समाधान संवाददाता २०७६ वैशाख १५ गते १५:२८

समाधान संवाददाता, काठमाडाैं

नेपाल एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ । थाईल्यान्डमा जारी प्रतियोगिताको फाईनलमा मलेसियालाई ५९ रनले हराउँदै उपाधि जितेको हो । नेपालले दिएको १ सय ४१ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३५ ओभरमा ३४.५ ओभर खेल्दै सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो ।

उसका लागि मोहम्मद हाजिक ऐमानले सर्वाधिक १८ रन बनाउँदा ओपनर वान मोहम्मद अजामले १६ रनको योगदान दिए । जिनेद्र मुरलीले १४ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर छुन सकेनन् ।

Advertisement

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका विशाल कुमार पटेलले सर्वाधिक ४ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १८ रन खर्चिए ।

यस्तै दीपक बोहोराले ३ विकेट लिए । समान ७ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १६ रन खर्चिए ।

Advertisement

६ ओभरमा एक मेडन राखेका निखिल कुमार सिंहले १ मेडन राख्दै ६ रन खर्चिएर १ विकेट हात पारे । यस्तै क्रिश कार्कीले १ रन खर्चिएर १ विकेट लिए ।

यसअघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो ।

नेपालका लागि प्रसान्त महतले सर्वाधिक ४० रनको योगदान दिए। उनले ६७ बलमा ५ चौका प्रहार गरे । ओपनर दिपक बोहाराले २३, सुसान्त थापा ५, आईस भट्टराई २,कप्तान विशाल विक्रम केसीले १७, रोहन दुधराज विक ९ र विशाल कुमार पटेल २ रनमा आउट भए ।

यस्तै कृष कार्की ९, निखिल कुमार सिंह १३ र तिलक राज भण्डारीले ८ रन जोडे ।

मलेसियाका लागि सचिनु हेतेगेले ३, जिनेन्द्र मुरली २, अहमद अकमल अलिफ, सिद्धार्थ कार्तिक, मोहम्मद इमरुल असराफ र सर्वेन सुरेन्द्रनले समान एक विकेट लिए थिए ।

तपाईको प्रतिक्रिया