निलम्बनमा परेका वरिष्ठ विमानचालक लामा भन्छन्, ‘विचलित भएको छैन’

समाधान संवाददाता २०७६ वैशाख १८ गते १४:४७

बीबीसी, काठमाडाैं

नेपाल वायुसेवा निगमका वरिष्ठ विमानचालक विजय लामालाई प्रवक्ताको जिम्मेदारीबाट हटाउने निर्णयले सामाजिक सञ्जालमा अनेकौँ प्रतिक्रिया निम्त्याइरहेका बेला उनी स्वयंले त्यसबारे मुख खोलेका छन् ।

आफू हिजो पनि नेपाल वायुसेवा निगमको अनौपचारिक प्रवक्ता भएको र पनि रहिराख्ने भन्दै क्याप्टेन लामाले भने, “खालि केही समय कुनै कागजको टुक्रामा लेखेर औपचारिकता दिइएको थियो ।”

Advertisement

“तर मलाई किन दु:ख लागेन भने म त सर्वप्रथम विमानचालक हुँ र त्यसैलाई मेरो सबभन्दा ठूलो प्राथमिकता छ ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानचालक तथा प्रवक्ताको दोहोरो भूमिका निर्वाह गर्दा हवाई सुरक्षामा असर पर्न सक्ने भनेपछि निगमले उनलाई प्रवक्ताको पदबाट हटाएको थियो ।
तर आफूलाई त्यसरी हटाइँदा बचाउ गर्ने पर्याप्त अवसर नदिइएकोमा उनले गुनासो गरे ।

Advertisement

साथै यस विषयमा सरकारले समेत ध्यान दिनुपर्ने उनले बताए ।
विजय लामा नेपाल वायुसेवा निगममा कार्यरत परिचित व्यक्ति हुन् । उनी अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन् ।

केही महिना पहिले उनलाई निगमले प्रवक्ता नियुक्त गरेको थियो ।

तर अन्तर्राष्ट्रिय उडान गर्न लागेएको निगमको एउटा विमानलाई चार मिनेट ढिलो गरेको भन्दै त्रिभुवन विमानस्थलले उड्ने अनुमति नदिएपछि झन्डै एक महिनाजति अघि समस्या सुरु भयो ।
विमानस्थलको धावनमार्ग सुधार चल्दै गर्दा राति १० बजेपछि उडान बन्द गरिएको बेला यात्रुहरू सबै राखेर उड्न ठिक्क पारिएको विमान उडाउन नदिइएपछि लामाले निगमका तर्फबाट कडा प्रतिक्रिया दिएका थिए ।

के त्यसकै रिस फेर्न नागरिक उड्डयन प्राधिकरणले तपाईँलाई कारबाही गर्न लगाएको हो जस्तो लाग्छ भनेर सोध्दा लामाले भने, “यो त सरासर ममाथि दबाव दिइएको हो ।”

तर प्राधिकरणले चाहिँ लामाले नै दिएको एक अन्तर्वार्तामा उनले आफू मानसिक तनावमा रहेको भनेको विषयलाई पनि जोडेको छ ।
कुनै पाइलट स्वयंले आफू तनावमा छु भन्दाभन्दै नियामक निकायले उसलाई त्यत्तिकै विमान उडाउन दिन मिल्छ त भन्ने प्रश्नमा लामाले त्यो विषयलाई असान्दर्भिक रूपमा मौकाको फाइदा उठाउने हिसाबले प्रयोग गरिएको बताए ।

तपाईको प्रतिक्रिया