पोखरामा फेरि अर्काे वडामा चोरी

समाधान संवाददाता २०७६ वैशाख २० गते १२:४७

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिका वडा नं. १९ मा चोेरी भएको छ । पोखरा १९ को कार्यालयमा बिहीबार बिहान हेर्दा चोरी भएको भेटिएको वडाध्यक्ष शोभामोहन पौडेलले जानकारी दिए । कार्यालयबाट १ थान ल्यापटप चोरी भएको उनले बताए । गत भदौदेखि विभिन्न वडा कार्यालयमा शृंखलाबद्ध चोरी भएका थिए । महानगरपालिकाका ३२ वडामध्ये ८ वटा वडामा चोरी भएको छ ।

वडा कार्यालयमा चोरी भएपछि पटक पटक सुरक्षा निकाय र अध्यक्षहरुको बैठक पनि भएको थियो । सुरक्षाकर्मीले नै वडा कार्यालयमा सिसिटीभी जोड्न र सुरक्षा गार्ड राख्न अनुरोध गरेका थिए । तर पोखरा १९ मा सिसिटीभी र सुरक्षा गार्डको व्यवस्था गरिएको थिएन त्यसैले पनि चोरलाई सजिलो भएको प्रहरीको दाबी छ ।

Advertisement

यसभन्दा अगाडि पोखरा महानगरपालिकाका ५, १२, १३, १४, १५, १६, १९ मा चोरी भइसकोको छ । तर चोर अझैसम्म भेटिएको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले चोरीमा संलग्नलाई खोजिराखेको बताए ।

पोखरा १६ मा रहेको इन्द्रराज्य माविमा पनि सोही दिनमा चोरी भएको प्रधानाध्यापक केशव अमगाईँले बताए । उनले स्कुलबाट कम्तीमा ३० हजार रुपैयाँ चोरी भएको जानकारी दिए । झ्यालको ग्रील तोडेर चोर कोठामा पसेको अमगाईँले बताए । स्कुलको लेखा शाखाको दराजभित्र राखेको पैसा चोरी भएको अमागाईँले बताए । ‘स्कुलमा २ सुरक्षागार्ड आलोपालो ड्युटी गर्थे तर उनीहरुले नै थाहा नपाउने गरी कसरी चोरी भयो, घटनाबाट हामी पनि अचम्ममा छौं ।’

Advertisement

स्कुल नजिकैको मन्दिरमा पनि चोरी भएको छ । ठूलीपोखरीसँगै रहेको मन्दिरबाट दानपेटिकामा राखेको पैसा चोरी भएको हो । चोरले दानपेटिका नै लगेको प्रहरीले जनाएको छ । मन्दिरको दानपेटिकामा कति पैसा संकलन भएको थियो भन्ने यकीन भएको छैन ।

तपाईको प्रतिक्रिया