बेसहाराको सहारा बने तुलसीराम पाण्डे

समाधान संवाददाता २०७६ वैशाख २० गते १३:१४

समाधान संवाददाता
दमौली

कम्प्युटर एसोसिएसन महासंघ नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष तुलसीराम पाण्डे बेसहारा बालिकाको सहारा बनेका छन् । व्यास नगरपालिका वडा नं ११ शेरास्थित वसन्त आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत पुष्पा थापाको अभिभावकत्व ग्रहण गर्दै पाण्डेले उनलाई उच्च शिक्षासम्म अध्ययन गराउने जिम्मा लिएका छन् । उनले भने, ‘उनले जतिसम्म पढ्न चाहन्छ त्यतिसम्म पढाउनका लागि सम्पूर्ण जिम्मेवारी अब मेरो भयो ।’

राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवसरमा बिहीबार दमौलीमा आयोजित कार्यक्रममा लुम्बिनी कम्प्युटरका सञ्चालक समेत रहेका पाण्डेले ती बालिकालाई शैक्षिक सामग्री समेत उपलब्ध गराएका छन् । प्रतिनिधि सभा सदस्य केदार सिग्देल, प्रदेश सभा सदस्य रामबहादुर गुरुङ, डोबाटे विक र सरीता गुरुङको उपस्थितिमा पाण्डेले बालिकालाई झोला, पोसाक र पाठ्यपुस्तक उपलब्ध गराए ।

Advertisement

वसन्त आधारभूत विद्यालयकी प्रधानाध्यापक शर्मिला ओझाले बालिकाको अभिभावकत्व ग्रहण गरेर पाण्डेले उदाहरणीय काम गरेको बताइन् ।

ठूलीआमासँग बसेर अध्ययन गर्दै आएकी पुष्पाले आर्थिक अभावकै कारण पढाई छाड्नुपर्ने हो की भन्ने चिन्ता अब हटेको उनले बताइन् ।

Advertisement

सोही वडाको रामथुम्की निवासी पुष्पाको बुबाको २ वर्षअघि हत्या भएको थियो । त्यसलगत्तै उनकी आमाले समेत उनलाई छाडेर अन्यत्रै गएपछि ठूलीआमासँग बसेर पढ्दै आएकी छन् ।

तपाईको प्रतिक्रिया