घलेगाउँमा महोत्सव तयारी

समाधान संवाददाता २०७६ वैशाख २० गते १३:५३

समाधान संवाददाता
लमजुङ

घलेगाउँमा २० औं घलेगाउँ महोत्सव हुनेभएको छ । ‘प्राकृतिक सुन्दरता, गुरुङ कला संस्कृति र घरवास, घलेगाउँ समृद्विको आधार स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण र प्रवद्र्वन, ग्रामीण पर्यटनको विकासको पूर्वाधार’ भन्ने नाराका साथ वैशाख २३ देखि २५ गतेसम्म घलेगाउँ महोत्सव हुन लागेको हो ।

आर्थिक समृद्वि, ग्रामीण गुरुङको लोक संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्वन गर्न र घलेगाउँलाई स्मार्ट भिलेजको रुपमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष एवं क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

Advertisement

स्थानीयले २०५७ सालदेखि घलेगाउँ महोत्सव मनाउँदै आएका हुन् । पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार घलेगाउँका स्थानीयले ठूलो तडकभडक गरेर महोत्सव मनाउँदैनन् । पर्यटकलाई सदैव स्वागत गर्ने घलेगाउँका बासिन्दाले महोत्सवलाई चाडपर्वको रुपमा विगत देखी नै मनाउँदै आएका छन् ।

घलेगाउँको पर्यटन प्रवद्र्धन गर्न, पौराणिक लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकास, प्राकृतिक स्रोत–साधनको सदुपयोग गर्न, पौराणिक हास्तकला सामग्री तथा लोकल कृषि उपजको जगेर्ना गर्न, ग्रामीण पर्यटनको प्रचारप्रसार, पर्यटनबाट समृद्धि सम्भव छ भनी सन्देश फैलाउन र घलेगाउँलाई ‘स्मार्ट भिलेज’ को रुपमा चिनाउने उद्देश्य महोत्सवको छ ।

Advertisement

महोत्सवमा गुरुङ संस्कृति, घाटुँ, सेर्का, सोरठी, कृष्ण चरित्र, घ्याब्रे लगायतका पौराणिक नृत्य प्रदर्शन ,गुरुङ खाना महोत्सव, मनोरम प्राकृतिक दृश्यावलोकन, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती, पौराणिक हस्तकला सामग्री प्रदर्शनी, लोकल कृषि उपजको प्रदर्शनी, हिमालको दृश्यावलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी पार्क, सार्क भिलेज पर्यटन संग्रहालय, पौराणिक भेडीगोठ तिजे उत्तरकन्या मन्दिर, नमुना चिया बगान,स्वर्गभूमि रंगाशाला, क्व्होइँबो धीं पार्क, अवलोकनका साथै होमस्टे सम्वन्धी कार्यशाला गोष्ठी समेत सञ्चालन हुनेछ ।

२०५६ सालबाट सुरु भएको ग्रामीण पर्यटन प्रवद्र्वनका प्रयासबाट घलेगाउँलाई अहिले नेपालै पहिलो स्मार्ट भिलेजको रुपमा अघि बढेको छ । घलेगाउँ लाई २०७५ पुस १० गते गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले स्मार्ट भिलेजको शुभारम्भ गरेका थिए । यसको पूर्वाधार विकासको लागि गण्डकी प्रदेश सरकार, सोही गाउँपालिकाले केही आर्थिक सहयोग गरेको छ । स्मार्ट भिलेको अभियान अन्तर्गत गाउँका १ सय २५ घरधुरीमध्ये ९० प्रतिशत घरमा पुराना छाना हटाएर नयाँ रातो रंगको टिन लगाएको समितिका सचिव उमलबहादुर विकले बताए ।

घलेगाउँमा ३४ घरमा होमस्टे ञ्चालन गरिएकोे छ । चालु आवको साउनदेखि वैशाख १७ गतेसम्म मात्रै आन्तरिक तथा विदेशी पर्यटक गरी २० हजार पर्यटक घलेगाउँ आएको समितिले जनाएको छ । घलेगाउँ लमजुङको सदरमुकाम बेंसीसहरदेखि ३२ किलोमिटको दुरीमा पर्छ । कच्ची मोटरबाटो भएपनि ग्राभेल भएकाले अहिले बेसीशहरबाट २ घन्टामै घलेगाउँ पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया