कांग्रेसलाई चेतना भया

समाधान संवाददाता २०७६ वैशाख २६ गते १४:५५

तारा पाखे

दोस्रो विश्वयुद्धपछि साम्राज्यवादको पतन र लोकतान्त्रिक चेतनाको विकासद्वारा विश्वमै लोकतान्त्रिक व्यवस्थाको स्थापनामा सहज वातावरण सिर्जना भयो ।

यससँगै भारतीय स्वतन्त्रताद्वारा अभिप्रेरित हुँदै नेपालमा प्रजातन्त्रको स्थापनामा बलियो जग तयार गर्नुहुने प्रजातन्त्रका आदर्श पुरुष स्व. पिताजी कृष्णप्रसाद कोइरालाको त्यागमय, अदम्य साहस, प्रजातन्त्रका निमित्त समर्पित गर्नु भयो । उहाँकै सुपुत्र स्व. विश्वेश्वरप्रसाद कोइरालाको अग्रसरता र नेतृत्वमा प्रजातन्त्रको स्थापना र राजाबाट सैन्यबलमा खोसिएको प्रजातन्त्रको पुनर्वहालीमा निर्भिकतापूर्वक, दृढ अठोटद्वारा गर्नुभएको नेतृत्वदायी भूमिका, सूवर्ण, गणेशमान, कृष्णप्रसाद, गिरिजा, सुशीलसम्मका जीवनोत्सर्गमा हुर्के ।

Advertisement

विश्व राजनीतिमा सर्वाेत्कृष्ट हुन सफल लोकतान्त्रिक समाजवादी, बिपीवादी दर्शनको व्यावहारिक प्रयोग गर्दै बिपीले अनेकौं अवरोध, प्रतिकूलताका बाबजुद, संक्रमणकालीन अवस्थामा पनि युगान्तकारी उपलब्धि मुलुकलाई प्रदान गर्नु भयो । यसले नेपाली जनमानसमा मात्र होइन कि विश्व समाजवादी आन्दोलनको समेत नेतृत्व गर्दै नेपालको गौरव बढाइ नेपालीलाई यसबाट नागरिकको मर्यादित उचाइमा पुर्‍याउनु भएको थियो ।

००३÷४ देखि ०४३÷४४ र ०६२÷६३ सम्मको आन्दोलनमा अग्रणी भूमिकामा नेतृत्व गर्नुहुने गिरिजासम्मको विशाल, दह्रो, सुरो, आँटिलो अन्तर्राष्ट्रिय व्यक्तित्वको अभावमा उहाँहरूको नेतृत्वमा सडक संघर्षका अगुवा शेरबहादुरदेखि रामशरण, अर्जुननरसिंहजस्ता नेतालाई, नेतृत्वको अनुभवको कमीले हो कि पार्टी अकर्मण्य र अन्योलग्रस्त बनेको छ ।

Advertisement

जुद्धशमशेरदेखि, महेन्द्र, ज्ञानेन्द्रका तानाशाहीलाई परास्त गर्दै माले, मसाले, एमाले, माओवादी, मण्डले धेरैसँग सामना गर्दै राजतन्त्र र हत्या हिंसा समाप्त गर्ने ऐतिहासिक पार्टी कमजोर हुनामा एक त धेरै उचाइका नेताको उचाइबाट एक्कासी वनचित हुनु नै हो । वास्तवमा युगपुरुष सधैं पाइने कुरा पनि त होइनन् । त्यस्ता युग पुरुषको सदासर्वदा संरक्षण नेतृत्व पाइरहने कुरा होइन । जुगजुगान्तरमा महापुरुष जन्म लिन्छन् । हामीले त उनीहरूका शिक्षा÷उपदेश लिएर अघि बढ्ने हो ।

सृष्टिको आदिम कालदेखिका शिक्षा लिएर हिन्दू लगायत विविध धर्म सम्प्रदायका सत्कर्मी, सज्जन अहिले पनि सत्कर्ममा लागेर जीवनलाई र जीयवनान्तरसमेत कल्याणकारी बनाए झैं राजनीतिक क्षेत्रमा पनि आ–आफ्नो बुद्धिविवेकले, ज्ञान र परिस्थितिले सोही अनुकूल सर्वजन हिताय सिद्धान्त अपनाएर इतिहासमा अमरता, जीवनमा पदप्रतिष्ठा र आत्मशान्तिका निमित्त, अन्तरात्माका आवाजलाई आत्मसात् गरेर अघि बढ्ने नै हो ।

जसलाई बिपीले ‘मातृभूमिको एकमुठी माटोलाई सोध’ भन्नु भएको हो । त्यही एक वाक्यमात्र सम्झेर नेता अघि बढ्नुपर्नेमा राजनीति सेवा नभएर ठगीमागी खाने भाँडो बनाइनाले आज नेपाली कांग्रेस जस्तो ऐतिहासिक, राजनीतिको मूल प्रवाह निस्तेज, अकर्मण्य र अन्योल ग्रस्त बनेको छ ।
जब नेता ‘हाम्रो सिद्धान्तले त जितेकै छ, हामीले कसरी हारेको भन्ने ?’ भन्नु हुन्छ, मलाई विद्यार्थी जीवनमा काठमाडौंमा सुनेको एउटा व्यंग्यात्मक उक्ति याद आउँछ, ‘विष्णुमती पारी स्यालकराको, म हत्तपत्त घ्याम्पाभित्र पसेको, घ्याम्पो त थर्थर् कामेको तै पनि म नडराएको ?’

यदि सिद्धान्तको जीत नै संविधान हो भने र सोही अनुसार वर्तमान सरकार चलेको छ । समाजवाद उन्मुख, संघीय, लोकतान्त्रिक गणतन्त्र विप्लव बाहेकका सबैको हो, यसमा तराईका केही असन्तुष्टिमात्र हुन् भने फरक के हो त ? केमा कांग्रेस फरक छ ? र यसलाई जोगाइ राख्नुपर्‍यो ? नेता र पार्टी भन्ने बित्तिकै राष्ट्रिय सम्पत्तिमा भागवण्डा गरी सबैले लिए, खाएकै छन् । राष्ट्रिय सम्पत्तिको ब्रह्मलुट त के सरकार के प्रतिपक्ष ? वाइडबडी प्रकरणले कांग्रेसीको शिर निहुरिएको छ ।

कांग्रेसले सरकारका गल्ती, कमजोरीको विरोध गर्न सक्दैन । सुन, निर्मला हत्याकाण्ड, आयल निगमको जग्गा खरिद प्रकरण, बालुवाटारको जग्गा प्रकरण, राष्ट्रपतिका विलासिता पूर्ण फजुल खर्च, आम नेपालीका भावना विपरीत, संविधानको मर्म विपरीतका प्रधानमन्त्रीका तकमामिराई, पुरस्कारको लोभ, व्यापक जग्गा घोटला, अतिक्रमण जस्ता कतिपय कुरा छन्, कांग्रेसले उठाउनुपर्ने मुद्दाहरू तर कांग्रेस बोल्दैन ?

भनिन्छ, ‘आफू सीसाको घरमा बस्नेले अर्काका घरमा ढुंगा हान्दैन’ आफ्ना अनैतिक, भाग, शान्तिमा रमाउने प्रवृत्तिले भाग, शान्ति लिए, खाएर ढाडिएपछि बोल्ने शक्ति कहाँबाट आओस् ? आज आम नेपालीको कांग्रेसप्रतिको जनधारणा यस्तो बन्दै छ ।

यो कुरा के हो ? हो भने जे भयो भयो । प्रायश्चित्त रूप लोभका पदमा रहेका र पहिले रहेर कमाए, भ्रष्टाचार गरी खाएका सम्पत्ति फिर्ता गर । होइन भने किन वक्य फुट्दैन ? सार्वजनिक रूपमा क्षमा माग, अहिलेका तलबभत्ताहरू सके सबैका घटाऊ ? ए, नसके आफ्ना तलबभत्ता सार्वजनिक सेवामा लगाऊ ।

त्यागी, तपस्वी, आदर्श पुञ्ज अनेकौं सहिदको धरोहर त्यस्तै त्याग र आदर्श बिना कसरी जोगिन्छ ? आज आम आदर्श कार्यकर्ताको मूल चिन्ताको विषय नै ‘पार्टी समाप्त हुने भो ?’ भन्ने नै हो । नेतामा चेतना भया नत्र कुर्ची छाड नछाडे अपमानित भएर झोक्राउँदै बिदा लिनुपर्ला ? अस्तु ।

तपाईको प्रतिक्रिया