मुस्ताङ खबरः कोरला सडकको समर–भेनामा ब्लास्टिङ सुरु

समाधान संवाददाता २०७६ वैशाख २७ गते ८:५३

सुन्दरकुमार थकाली, मुस्ताङ

उत्तर–दक्षिण जोड्ने बहुचर्चित उत्तरी कोरलाको समर–भेना सडकखण्डमा कालिगण्डकी करिडोरले ब्लास्टिङको तैयारी थालेको छ ।

आयोजनाका ईन्जिनीयर अश्विनीकुमार यादवले ब्लास्टिङका लागि चट्टाने पहाडमा होल खोल्ने काम तिब्र गतिमा भईरहेको जानकारी दिए ।
करिडोरले जोमसोम-कोरला सडकको समर र झो खोलामा ब्लास्टिङको तैयारी गरेको हो । यहाँ ठुला ठुला कडा चट्टाने पहाड अवस्थित रहेकाले सडक फराकिलो गर्नेकार्यमा अप्ठ्यारो परेको थियो ।करिडोरको ११ मिटर सडक मापदण्ड अन्तर्गत समर र झो खोलाको दुईस्थानमा करिव २ किमी सडकमा ब्लास्टिङ गर्न आवश्यक देखिएको ईन्जिनीयर यादवले उल्लेख गरे ।

Advertisement

यसका लागि भौतिक पूर्वाधार मन्त्रालयको सिफारिसमा गृह मन्त्रालयको अनुमतिपछि रक्षा मन्त्रालयमा बिस्पोटक पदार्थको माग स्वीकृत भएको ईन्जिनीयर यादवले बताए ।उनका अनुसार समर र झो खोलाका लागि १९ टन बिस्पोटक पदार्थ माग गरिएको हो ।

करिडोरले गत माघमै रक्षाको अनुमति पाईसकेकाले जोमसोम स्थित सैनिक उच्चशिखर शिक्षालय मार्फत बिस्पोटक पदार्थसहित सैनिक सहयोग प्राप्त गर्ने भएको हो । यतिबेला करिडोरका मजदुरले धमाधम चट्टाने पहाडमा होल खोल्ने काम गर्दै गरेको भएपनि जोमसोममा बिस्पोटक पदार्थ भण्डारण बङ्करमा बिस्पोटक सामाग्री नभएकाले केही समय पर्खन पर्ने ईन्जिनीयर यादवको भनाई छ ।

Advertisement

समर र भेना खण्डमा करिडोरका ४ दर्जन मजदुरले काम गरिरहेको उनले उल्लेख गरे । आयोजनाका अनुसार यहाँ चट्टान काट्न महिनौ लाग्न सक्ने जनाएको छ ।मजदुरले होल खोल्ने र सेनाले ब्लास्टिङ गरेर सडक फराकिलो पार्ने योजना छ ।जोमसोम स्थित सैनिक तालिमकेन्द्रका नेपाली सेनाको टोली जोमसोमबाटै यहाँ आउजाउ गर्नेछन् ।

जोमसोम-कोरलामा ७ खण्डमा काम बिभाजन गरिएको हो ।चैले देखि भेना सम्म करिव ११ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा लिईएका कन्टेक कान्छाराम कोशी एण्ड न्यौपानेले यहाँ जम्मा ३० प्रतिशत मात्र काम संम्पन्न गरेको करिडोरले जनाएको छ ।जोमसोम ÷कोरला सडक खण्ड मध्ये सबैभन्दा ढिलोसुस्तीको रुपमा यस खण्ड पर्दछ ।करिडोरको जोमसोम÷कोरला सडकखण्डको समर र झो खोला निकै अप्ठ्यारो सडक हो ।वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ देखि लोमान्थाङ जाने सवारी साधनलाई अप्ठ्यारो सडकका कारण सास्ती हुने गरेको छ ।

यस खण्डमा सडक स्तरोन्नति कार्य संम्पन्न भएमा उपल्लो मुस्ताङको यात्रा सजिलो हुने लोघेकर गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बताए ।उनले उपल्लो मुस्ताङमा यसै सडक हुँदै ३ दर्जन सार्वजनिक सवारी संञ्चालनमा रहेको जानकारी दिए ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत करिडोर सडकले कोरला खण्डको जोमसोम देखि छोसेरको नेचुङ सम्मको ६ खण्डमा ७० प्रतिशत काम संम्पन्न भएको ईन्जिनीयर यादवले खुलाए ।यसअघि नै छोसेर-कोरला खण्डको १६ किमी सडक करिडोरलाई हस्तान्तरण भईसकेको छ ।

आयोजनाका ईन्जिनीय यादवले जोमसोम÷कोरला ११ मिटरको दुईलेन सडक २०७७ साल बैशाख सम्म सम्पन्न हुने दावी गरे ।उनका अनुसार जोमसोम देखि चैले सम्म असार सम्म,भेना देखि चराङ सम्म दशै सम्म र चराङ देखि लोमान्थाङ मंसिर सम्म संम्पन्न हुने जानकारी दिए ।

तपाईको प्रतिक्रिया