उद्देश्य के लिनु ? उडी पुग ‘इन्जोय जोन’ एक !

समाधान संवाददाता २०७६ वैशाख २७ गते १२:५१

सञ्जीव पौडेल

‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान यतिबेला गण्डकी प्रदेशमा चरितार्थ हुने क्रममा छ । रोग, भोक, गरिबी र बेरोजगारीले निरन्तर जनतालाई आक्रान्त बनाइरहेको छ, प्रदेश सरकारको सरोकार यसतर्फ भने छैन । कुन योजना ओकल्दा प्रसिद्धि प्राप्त गर्न सकिन्छ भन्नेतिर मात्रै सरकारको ध्यान गएको देखिन्छ । जनताको चेतनाको स्तर उही छ, नेता एक्कासि जनतालाई भर्‍याङको टुप्पोमा पुर्‍याउन चाहन्छन् ।

गाउँसहर दुवैतिर चौताराहरू निरन्तर मासिँदै छन्, मन्दिर, गुम्बा तथा स्तुपाहरू निरन्तर जीर्ण बन्दै छन्, तिनको संरक्षण र जीर्णोद्धार गर्नेतर्फ कुनै ध्यान छैन । लेकबेसीमा गुञ्जिने झ्याउरे लयका सुसेली हराउँदै गए, रोधीको रस सुक्दै गयो, मारुनीमा कम्मर मर्कन छोड्यो, यतातर्फ कुनै ध्यान छैन योजनाकारहरू ‘इन्जोय जोन’ जस्ता अन्तरिक्षस्तरीय योजना तथा आयोजना घोषणा गर्नमा व्यस्त छन् ।

Advertisement

गण्डकी प्रदेशको मन्त्रीपरिषद्ले पर्यटकको संख्या बढाउने एउटा बहुप्रतिक्षीत योजना अगाडि सारेको छ, पोखरामा इन्जोय जोन स्थापना गर्ने । पर्यटकलाई लोभ्याउने अन्नपूर्ण हिमशृंखला हेरिरहँदा यिनका आँखामा बादल लाग्छ, यहाँका प्राकृतिक छटा, झरना, नदीनाला, तालतलैयामा पर्यटक आकर्षण गर्ने शक्ति छ भन्नेमा यिनलाई शंका छ ।

कम्युनिस्ट वास्तवमै भौतिकवादी हुन्छन्, त्यसैले यिनलाई भौतिक सुखमा मात्र विश्वास छ । प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक आदि मौलिक विशिष्टताप्रति पर्यटक आकर्षित हुँदैनन् भन्नेमा यिनीहरू २ सय प्रतिशत विश्वास राख्छन् । पर्यटन वासना र शरीरसुखबाहेक अन्य कुनै पनि पक्षतर्फ लालयित हुँदैन, तसर्थ सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन गण्डकी प्रदेशले यो लोककल्याणकारी योजना अगाडि सारेको छ ।

Advertisement

फेवातालको छेउमा जाने तालको पानी हेर्ने अनि पानीपानी बन्ने÷बनाउने नयाँ वैज्ञानिक योजना, जसले पर्यटकको संख्यामा गुणोत्तर वृद्धि गराउँछ । यस योजनाको न्वारन गरेका छन्, प्र्रदेश सरकारका मूल पुरोहित माननीय पिएसजीले । ग्रह, नक्षत्र, राशी, घडी, पला सबैलाई मध्यनजर गरी योजनाको नामकरण गरिएको छ ‘इन्जोय जोन’ । नामै काफी छ कि हामी अब नेपालको पर्यटनको यसरी विज्ञापन गर्दैछौं ‘आउनोस्, इन्जोय गर्नोस् जानोस्’ । हामीकहाँ हिउँको चिसो, पहाडको शीतलताले सम्पन्न प्राकृतिक उपकरण पाइन्छन् जसले तपाईंलाई भरपूर ‘इन्जोय’ प्रदान गर्नेछन् । नयाँनयाँ ब्रान्डका शारीरिक सुख भोग गर्न हामीकहाँ पाइन्छ, आउनुस् रमाउनुस् र जानुस् ।

फेवातालको किनारमा शीतल हावामा बसेर १ सय डलर कप कफी खाने, हट बन्ने अनि इन्जोय गर्ने संसार चकित पार्ने चामत्कारिक योजना पर्यटन मन्त्रालयले यसरी अगाडि सारेको छ कि यसले छोटो समयमै संघीयतालाई सफलतापूर्वक कार्यान्वयन गराउँछ ।

संघीयता सफल बनाउने यो राम वाण सावित हुने कुरामा प्रदेश सरकार पूर्णतः विश्वस्त छ । मुख्यमन्त्री र पर्यटनमन्त्री यस कुरामा गर्व गरिरहेछन् कि यस योजनाले ७ वटै प्रदेशभन्दा गण्डकी प्रदेशलाई १ कदम अगाडि नै समृद्ध तुल्याउनेछ । गण्डकी प्रदेशका नागरिक वास्तवमै भाग्यमानी यसर्थ छन् कि उनीहरूले कुशल योजनाकारलाई सरकारका साथीका रूपमा प्राप्त गरेका छन्, जसको मस्तिष्क निमेषभरमै वैज्ञानिक एवं दूरगामी महत्वका योजना बुन्न खप्पिस छ ।

पोखरा आफैंमा पनि रमाइलो ठाउँ हो, यहाँका बासिन्दालाई केबल इन्जोयमा विश्वास छ । इन्जोय पोखरेली र पोखरा आसपासका नागरिकको मूल धर्म हो । इतिहासदेखि नै गण्डकी प्रदेशले इन्जोय सिवाय केही गरेन, पृथ्वीनारायण शाहले एकीकरणकालीन समयमा पनि इन्जोयमात्रै गरेका हुन् । त्यसभन्दा अगाडिका राम शाहले इन्जोयमात्रै गरिरहे, कहिल्यै जनतालाई न्याय दिएनन् । पछिल्लो समयसम्म राजा रहेका मुस्ताङका नरेशले नूनदेखि सुनसम्मको व्यापार नगरी इन्जोय मात्रै गरिरहेकै हुन् । कुनै समय संस्कृति र सभ्यतामा ध्यान नदिइ निरन्तर इन्जोयमात्रै गरेका हुन् यस भेगका पुर्खाहरूले ।

मुक्तिनाथनिकटको कागवेनीदेखि देवघाटसम्म निरन्तर बग्ने कालीगण्डकी इन्जोय गरेरै मूल फुटेर बगेको हो । कालिका किनारमा पाइने शालीग्राम पनि इन्जोय गर्दागर्दै स्वतः कुँदिएका हुन् । यहाँका देउराली तथा भञ्ज्याङमा रहेका देवीस्थान, डाँडाका टाकुरामा रहेका किल्ला, गढी र कोटहरूमा पुर्खाहरूले इन्जोयमात्रै गरेर बसेका हुन् । यहाँका प्रत्येक पाखाका खेत, टारी अनि मैदानका फाँटहरूमा कहिल्यै पुर्खाले बाली रोपेनन्, इन्जोयकै बीऊ रोपिरहे र इन्जोय नै फलाइरहे ।

धवलागिरी, अन्नपूर्ण, मनास्लु र माछापुच्छ्रेजस्ता उच्च हिमशिखर पनि इन्जोय गर्दागर्दै अग्लेका हुन् । मस्र्याङ्दी, मादी, सेती नदी तथा रुप्सेलगायतका झरनामा बगेको कञ्चन पानी इन्जोय गर्दागर्दै हिउँ पग्लेर बग्न थालेको हो । स्वयं फेवाताल पनि भदौरे तथा पञ्चासे क्षेत्रमा पुर्खाले इन्जोय गरेकै भरमा डोबिल्सो बनेर जमेको हो । त्यसैले फेवातालको यो इन्जोय इतिहासमाथि न्याय गर्नु प्रदेश सरकारको परम कर्तव्य हो ।

फेवाताललाई काखमा राखेको पोखरा घुम्न आएर चुर्लुम्म डुबुल्की मार्ने गरी इन्जोय गर्न नपाए पर्यटक काठमाडौंबाट पोखरासम्म किन आउने ? फेवाताल किनारमा इन्जोयमा व्यस्त र मस्त बनाउन पाए पो फेवातालको आयतन बढ्दै जान्छ र ताल डुबान हुनबाट जोगिन्छ । फेवातालकै माझमा कफीसप खोलेपछि कफीको राग र इन्जोयको रसायनले जलकुम्भी पनि जादूमयी तरिकाले हराएर जान्छ । यो इन्जोय जोन साँच्चीकै बहुआयामिक तथा बहुहितकारी आयोजना हो ।

सुन्नुस्, यहाँका मन्दिरका १÷१ तला देवी–देवताका लागि सुरक्षित तरिकाले इन्जोय गर्न बनाइएका हुन् । यहाँका मन्दिरमा कुँदेका टुँडालहरू कुनै कला होइनन्, ती केबल पुर्खाले इन्जोय गर्दाका डामहरू मात्र हुन् । गण्डकी क्षेत्रको लोकसंगीत पुर्खाले हजारौं वर्ष इन्जोय गर्दागर्दा निस्केको आवाजमात्र हो, यसमा कुनै गायक, संगीतकारको योगदान छैन । इन्जोयकै लयबाट तयार भएको छन्दबाट बनेका हुन् यहाँका वार्णिक, मात्रिक एवं वर्णमात्रिक कविताका हरफहरू ।

कुनै कविको हृदय बोलेको होइन कवितामा, केबल इन्जोयकै तालबाट छन्दको प्रादूर्भाव भएको हो । भूपी शेरचनले कुनै विद्रोह बोलेका होइनन् कविताभरि, त्यो त फगत आफूले इन्जोय गर्न नपाउँदा इन्जोय गरिरहेकाहरूमाथिको आक्रोशमात्र हो । यस भेगको ठाडो भाकामा कुनै सामाजिक, सांस्कृतिक सम्मिश्रण भएको छैन, त्यो भाका इन्जोय गर्दागर्दै ठाडो बनेको हो ।

यहाँको परिकारमा पाइने मौलिक स्वाद इन्जोयको स्वादभन्दा फरक छैन । गण्डकी भेगका सुन्तला, स्याउ, अनार, भोगटे, कटहर, ऐंसेलु सबैमा इन्जोयकै रस घोलिएकाले ती रसिला भएका हुन् । इन्जोयले नै पोटिला बनेका हुन् यस भेगका धान, मकै, गहुँ, जौ लगायतका खाद्यबाली । गण्डकीका लेक, जंगल र पहराहरूमा पाइने झार, बुट्यान र जराहरू इन्जोयकै राग मिसिएकाले औषधीय गुण बोकेर जडीबुटी बनेका हुन् । इन्जोयकै तालमा घन्किन्छ मादल, त्यसकै धून सुसेल्छ बाँसुरी, इन्जोयकै रागमा रेटिन्छ सारंगी ।

नेपालको पर्वतारोहणको इतिहास पनि गण्डकी क्षेत्रबाटै सुरु भएको हो । अन्नपूर्ण हिमालबाट थालनी भएको पर्वतारोहणको इतिहास पनि इन्जोयकै दस्तावेज हो । सन् १९५० देखिको यति लामो इतिहासलाई निरन्तरता नदिनु कुलद्रोही बन्नु हो, तसर्थ प्रदेश सरकारले कुलको इज्जतका खातिर अगाडि सारेको समयसापेक्ष आयोजना हो ‘इन्जोय जोन’ । गण्डकीका तमाम योद्धा विश्वयुद्धमा वीरता प्रदर्शन गरेर वीर भएका होइनन्, तिनीहरूले त सिर्फ इन्जोयको उत्तेजनामा बहुलाएर हातमा भएको हतियार नचाएका मात्र हुन् ।

यस क्षेत्र भएर उदाउने घाममा इन्जोयकै लाली पोतिएको छ, यहाँ तरेली परेर बहने हावामा इन्जोयकै सुसाइ बहिरहेको छ, रातमा उदाउने जूनले छर्ने शीतलता र झार्ने शीतमा इन्जोयकै बाछिटा छर्किएका छन्, यहाँ पर्ने हरेक साँझ र रातमा इन्जोयकै चूक जस्तो चकमन्नता पोखिएको छ ।

आउनुहोस् यो इन्जोय जोनमा भेटौं, इन्जोय गरौं र तीर्खा मेटौं । यस इन्जोयभूमिमा इन्जोय गरेरै निशस्त्रीकरणको कार्यान्वयन गरौं र शान्तिको बुद्धमन्त्र जप्दै फेवातालको किनारमा इन्जोयको छाल छचल्काऔं र गण्डकीको आधुनिक भेल निर्माण गरौं र फरक पहिचानसहितको इन्जोय स्वायत्त प्रदेश स्थापना गरौं । लेट्स् इन्जोय !

तपाईको प्रतिक्रिया