कम्युनिष्टको सपथः गोहीको शक्ति पानीमा, कम्युनिस्टको शक्ति जनतामा

समाधान संवाददाता २०७६ वैशाख २८ गते ९:४४

समाधान सम्वाददाता, लमजुङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी लमजुङको सपथ बिहीबार भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका उक्त पार्टीको गण्डकी प्रदेश इन्चार्ज पुथ्वीसुब्बा गुरुङले जिल्ला कमिटीका सदस्यहरुलाई सपथ गराए । अध्यक्ष मधु अधिकारी र सचिव धनजञ्जय दवाडीले भने यसअघि नै इच्चार्जसँग सपथ लिएका थिए ।

इन्चार्ज गुरुङले १२७ जनालाई सपथ गराए । तत्कालीन एमाले र माओवादी केन्द्रका जिल्ला सदस्यहरुलाई समेटेर नेकपाको जिल्ला कमिटी बनेको हो । सोही अवसरमा आयोजित प्रथम बैठकले विभिन्न स्थानीय तहको कमिटीका पदाधिकारीलाई सपथ खुवाउने जिम्मेवारी र मितिसमेत तय गर्यो‍।

Advertisement

सपथ खुवाएपछि बोल्दै मुख्यमन्त्री गुरुङले जनताको घरदैलोमा पुग्न कार्यकर्तालाई निर्देशन दिए । उनले सर्वहारा श्रमजीवीको पार्टीको नेता कार्यकर्ता भएर सर्वहारा श्रमजीवीकहाँ जान लाज मानिरहेको पनि सुनाए । तर जनताकहाँ नगई कम्युनिस्ट सफल हुन नसक्ने उनको भनाइ थियो । ‘गोहीको शक्ति पानीमा हुन्छ, पानीमा हुँदा आफूभन्दा ठूला जीव ढाल्न सक्छ, जमिनमा सक्दैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘कम्युनिस्टको शक्ति जनतामा हुन्छ । जनताबाट अलगथलग भएरै सोभियत संघमा कम्युनिस्ट असफल भयो ।’

जनतालाई आफ्नो शक्ति बुझाइदिने दायित्व कम्युनिस्टको हुने गुरुङले बताए । हनुमानलाई आफ्नो शक्ति थाहा नभएर अरुले बताइदिनुपरेको प्रसंग उनले उप्काएका थिए । उनले कम्युनिस्टहरुमा असल आचरण हुनुपर्ने खाँचो पनि औंल्याए । ‘कम्युनिस्ट जहिले पनि विभेदको विरुद्ध लाग्नुपर्छ, शोषणको विरुद्ध लाग्नुपर्छ, सर्वहारा वर्गको पक्षमा लाग्नुपर्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘अंशबन्डामा दाजुभाइ, दिदीबैनीलाई मार्ने, छोरा र छोरीमा विभेद गर्ने, धनी र गरिबमध्ये धनीको पक्षमा लाग्ने कम्युनिस्ट हुन सक्दैन ।’ जिल्ला, गाउँ र नगर पार्टी कमिटीहरुलाई जनताका समस्यामा केन्द्रित गरी समाधान दिने बनाउन उनले निर्देशन दिए ।

Advertisement

कम्युनिस्ट र कांग्रेस, कम्युनस्टि र सामान्य मानिसबीच फरक हुने मुख्यमन्त्रीको भनाइ थियो । उनले कम्युनिस्ट आफ्नोभन्दा सामूहिक स्वार्थमा लाग्ने स्वभावको हुने सुनाए ।
मुख्यमन्त्री गुरुङले लेनिनवादी संगठनमा हरेक व्यक्ति संगठनको मातहत हुने जानकारी पनि गराए । तल्लो संगठन माथिल्लोको अधिनस्थ हुने पनि उनले सुनाए । ‘संगठनभित्र बहुमतको आधारमा निर्णय हुन्छ र फरक मत फेरि अर्काे बैठकमा राख्न सकिन्छ,’ उनले भने । पछिल्लो समय भएको पार्टी एकताका सन्दर्भमा मुख्यमन्त्री गुरुङले २ पार्टीबीच घुलमिल हुनुपर्ने बताए ।

उनले भने, ‘दुई पार्टीको मिलन बालुवा र पानीको जस्तो होइन, चिनी र पानीको जस्तो हुनुपर्छ ।’ अहिले सत्तामा भएका कम्युनिस्टहरु मात्तिनु नहुने बताउँदै उनले नेपोलियन बोनापार्टको एउटा भनाइ सुनाए— मान्छेको पतनको दिन उसको विजयको दिनबाट सुरु हुन्छ ।’ कम्युनिस्टहरु सर्वहारा श्रमजीवी वर्गको बस्ती पुग्न नसके पतन हुने उनको भनाइ थियो ।

नेकपा गण्डकी सचिव गोविन्दबहादुर नेपालीले साँच्चै कम्युनिस्ट फरक धातुले बनेको देखाउन आचरण बदल्नुपर्ने खाँचो औंल्याए । ‘हामी कम्युनिस्ट पार्टीको नेता भइयो, कम्युनिस्ट भइएको छैन,’ उनले भने, ‘अध्ययनको हिसाबले, बुझाइको हिसाबले कम्युनिस्ट बन्ने बाटोमा लागौं ।’ अहिले दुईतिहाइको उत्सवको जगमा मात्रै कम्युनिस्ट पार्टी बढ्न नसक्ने उनको भनाइ थियो ।

नेकपा केन्द्रीय सदस्य मायानाथ अधिकारीले जनतालाई निराश होइन आशावादी बनाएर अगाडि बढ्नुपर्ने खाँचो औंल्याए । नेकपा लमजुङ अध्यक्ष मधुमाया अधिकारी अध्यक्षताको कार्यक्रम सचिव धनञ्जय दवाडीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया