—सम्पादकीय— फिर्के खोला नबिर्सनु होला

समाधान संवाददाता २०७६ जेठ १ गते १४:२१


पानी नभए जीवन हुँदैन । पानीका स्रोत खोलानाला, ताल, इनार, कुवा, नदी, हिमाल हुन् । जीवको उत्पत्ति नै पानीबाट भयो । पानीबिना बाँच्ने जीव आजसम्म संसारमा पत्ता लागेको छैन । मानव सभ्यता पनि पानीकै वरिपरि फस्टायो, मौलायो । जहाँजहाँ खोला र नदी छन् तिनकै किनारकिनारमा मानव वस्ती बस्यो । सभ्यता विकास भयो । दुर्भाग्य जुन पानीले मानिसलाई जीवन दिन्छ, त्यही पानीमाथि मानिसले भयंकर ठूलो ज्यादती गरेको छ ।

हेरौं न पोखराको फिर्के खोला । जुन आफैंले आफ्नो बाटो तय गथ्र्याे, उसलाई वरिपरिका बासिन्दाले मिचीमिची खुम्च्याइदिएका छन् । आफ्नो घर, होटल र रेस्टुरेन्टको फोहोर जति त्यसैमा फालिदिएका छन् । कुनै बेला अञ्जुलीमा उबाएर पिउन हुने फिर्केखोलामा अचेल हिउँदयाम पानी देखिन्न, केवल देखिन्छ ढल । त्यही ढल बगाउँदै लगेर फिर्केले फेवातालमा बिर्सजन गरिदिन्छ । आखिर उसको के दोष ? फोहोरको भारी बोकाइदिने त मानिस नै त हुन् ।

फिर्केमाथि पोखरेलीले गरिरहेको ज्यादती अत्याचार हो । कुनै बेला भारी वर्षा हुँदा र बाढी आउँदा फिर्केले फेरि आफ्नो बाटो आफैंले बनाउँदा थुप्रैका घरमात्रै होइन ज्यानै पनि जान सक्छ । त्यसको ख्याल अहिल्यै गर्नुपर्नेले नगरेपछि त्यतिबेलै पछुताउनुको विकल्प हुनेछैन । यसबीचमा पोहोर साल पोखरा महानगरपालिकाले फिर्केखोलालाई उसकै बाटोमा बग्न दिने भनेको थियो ।

Advertisement

मेयर मानबहादुर जिसीले यो खोलाको छेउछाउ सफा गर्ने र खोला मिचेर बनेका संरचना हटाउने भनेर असारको १ गते डोजर चलाउन सुरु गरेका थिए । तर त्यस दिन मेयरको अन्जानले र दुर्भाग्यबस केही व्यक्तिलाई डोजरले चोट पुर्‍यायो । त्यस घटनायता फिर्केलाई मेयर जिसीले बिर्सेजस्तै छ । फिर्केखोलाको दायाँबायाँ करिडोरै बनाउन मिल्ने गरी मापदण्ड लगाएर अवैध संरचना हटाउन महानगरले वास्ता गरेको छैन । तामझामकै साथ काम सुरु गर्ने र पछि बीचैमा छाड्ने पोखरा महानगरको रोगै देखिएको छ ।

बेलैमा फिर्केलाई बचाइएन भने, यसले फेवाताललाई पनि अझै प्रदूषित गर्दै जानेछ । फिर्केमा पानीको सट्टा ढलमात्रै बग्नै भइरह्यो भने जलचर बाँच्ने छैन । त्यसको प्रत्यक्ष नकारात्मक असर मानव जीवनमा पर्ने नै छ । अझै खोलालाई आफ्नो बाटो हिँड्न रोक्यो भने उसले आफ्नो बाटो आफैं बनाउने छ, त्यतिबेला मानिसले ठूलो मूल्य चुकाउनुपर्नेछ । यसैले मेयर सा’ब फिर्के खोला नबिर्सनुहोला ।

Advertisement

तपाईको प्रतिक्रिया