जमिन नै नभएकाे लालपुर्जा देखाएर सहकारीबाट १ करोड १० लाख झ्वाम्

समाधान संवाददाता २०७६ जेठ ८ गते १४:४९

समाधान सम्वाददाता

सहकारीमा धितो राख्न कागजात किर्ते गरेको र धितो नतिरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पोखरा १० कुँडहरस्थित कुँडहर बचत तथा ऋणबाट पोखरा १४ चाउथेका विशाल पौडेल र उनका दाजु विद्यासागर पौडेलले ऋण लिँदा कागजात किर्ते गरेको भेटिएको हो । सहकारीबाट २ जनाले १ करोड १० लाख रुपैयाँ ऋण लिएको कुँडहर बचत तथा ऋणका म्यानेजर बृहस्पती अधिकारी जानकारी दिए ।

Advertisement

पौडेल दाजुभाइ लगायत ५ जनाले सहकारीबाट ठगी गरेको सहकारीको तर्फबाट गत वैशाख २० गते कास्की प्रहरीमा किटानी जाहेरी दर्ता भएको थियो । विद्या र विशालबाहेक अन्य किर्ते सहयोगी भएको प्रहरी अनुसन्धानमा खुलेको छ । विशाल वैशाख २० गते नै पक्राउ परे भने अन्य आरोपित ४ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङले बताए ।

गत असोजमा पनि र मंसिरमा उनीहरुले कर्जा निकालेका थिए । उनीहरुले धितो राखेको लालपुर्जा मध्य १ लालपुर्जाको जग्गा नै नरहेको भेटिएको हो भने १ लालपुर्जामा भने मालपोतमा हेर्दा अकैको नाममा रहेको भेटिएको अधिकारीले बताए ।

Advertisement

तोकिएको समयमा ऋण तिर्न नआएपछि सहकारीका कर्मचारी उक्त जग्गा रोक्का गर्न मालपोत पुगेका थिए । उक्त जग्गा उनको नाममा नभएपछि कागजात किर्ते भएको खुलेको हो । ‘उनीहरुले धरौटीमा राखेको लालपुर्जा नक्कली रहेको प्रमाण भेटिएको छ, ‘गुरुङले भने, ‘उनीहरुले जुन कित्ता राखेर पैसा निकालेका छन् उक्त जग्गा अर्कैको नाममा छ ।’ उनीहरुले कहाँ कसरी लालपुर्जा बनाए भन्नबारे थप अनुसन्धान भइरहेको छ ।

किर्ते कागज बनाउने योजना विद्यासागरको भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विद्यासागर यस अघि पनि यस्तै घटनामा संलग्न भएको प्रहरीले जनाएको छ । उनले यसअघिको घटनामा ३४ लाख ९९ हजार रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।

तपाईको प्रतिक्रिया