निशुल्क तालिमको नाममा रकम असुलेर सञ्चालक फरार

समाधान संवाददाता २०७६ जेठ ८ गते १५:३१

सुशील सुवेदी, वालिङ

स्याङ्जाको नेसनल इम्प्लोयमेन्ट सर्भिसेज एन्ड कन्सल्टेन्सी सेन्टरले निशुल्क तालिम भन्दै सर्वसाधारणलाई ठगेको आरोप लागेको छ । उक्त गैर सरकारी संस्थाले निशुल्क तालिम दिने नाममा रकम असुली गरी फरार भएपछि सर्वसाधारण पीडित भएका छन् ।

संस्थाले गाउँ गाउँमा कर्मचारी पठाएर बेरोजगारी फर्म भर्ने र फर्म भरेका बेरोजगारीसँग १ सय रुपैयाँ फर्म दस्तुर असुल्दै तालिममा सहभागी गराउने आश्वासन दियो । तर सर्वसाधारणले न तालिम प्राप्त गरे न पैसा फिर्ता पाए, उनीहरु ठगिएको भन्दै प्रहरी र स्थानीय तहको न्यायिक समितिमा पुगेका छन् ।

Advertisement

यस अघि भने निशुल्क तालिम सञ्चालन गरेको भए पनि सहभागीसँग प्रमाणपत्र शुल्क भन्दै प्रतिव्यक्ति ५ सयदेखि १२ सयसम्म रकम असुलेपछि सञ्चालक फरार भएको वालिङ १४ की जेनीसा गुरुङले बताइन् । गुरुङलाई उक्त संस्थाले गाउँ गाउँमा गएर बेरोजगारी फर्म भराउने र प्रतिफर्म १ सय दस्तुर उठाउने गरी कर्मचारी राखेको थियो । मासिक ६ हजार तलब दिने भने पनि उनले डेढ महिनासम्म तलब पाएकी छैनन् ।

उनले गाउँ गाउँमा गएर बेरोजगारी फर्म भर्ने र १ सय उठाउँदै आएकी थिइन् । ‘फर्म दस्तुर बराबर ९ हजार सरलाई ल्याएर दिएँ, अहिले न अफिस छ न त कार्यालय प्रमुख नै’, गुरुङले भनिन्, ‘ कि तालिम चाहियो कि पैसा फिर्ता चाहियो भनेर जनता मसँग आएका छन्, म कहाँ जाने थाहा छैन ।’

Advertisement

गुरुङ जस्तै सुन्तलाको जुस बनाउन सिकाउने प्रशिक्षक वालिङ ३ खाल्टेका शेरबहादुर गुरुङ दुवै मिर्गौला खराब भएका व्यक्ति हुन् । उनलाई संस्थाका संञ्चालक ढुंगानाले मासिक तलब दिने गरी प्रशिक्षक नियुक्ति गरे तर तलब भने दिएनन् । सुन्तलाबारी अर्गानिक जुस तथा सस उद्योग सञ्चालन गर्दै आएका गुरुङलाई विभिन्न प्रलोभनमा पारी ढंगानाले गुरुङले उत्पादन गरेको जुससमेत मार्केटिङ गरिदिने प्रलोभन देखाउँदै कर्मचारी बनाएका थिए ।

ब्यानरमा निशुल्क तालिम लेखेर जुस बनाउन सिक्ने सहभागीसँग प्रतिव्यक्ति ५ सय लिएको गुरुङको भनाइ छ । वडा प्रहरी कार्यालय वालिङमा उजुरी दर्ता गर्दै गुरुङले भने, ‘मैले ३ ठाउँमा प्रशिक्षण दिएँ, सबै पैसा उठाएर संस्थाका सञ्चालक फरार भए । अफिसको भाडा, रासन खाएको पैसाको फोन मलाई आउन थालेको छ ।’

जनता तालिम भन्नासाथ पछि लाग्नुभन्दा पहिले संस्थाको वैधानिकताबारे जानकारी लिन आवश्यक हुने वडा अध्यक्ष वसन्त श्रेष्ठको भनाइ छ । ‘तालिम वडा कार्यालयले नै प्रदान गर्दै आएको छ । तर जनता वडामा आएर तालिम माग नगरी घर दैलोमा आएको ठगलाई विश्वास गर्नु मुर्खता हो,’ वडाध्यक्ष श्रेष्ठले भने ।

वालिङ १० बिहारथोककी माया क्षेत्री पनि निशुल्क सिलाइकटाइ तालिममा सहभागी भइन् । उनीजस्तै बिहारथोकका २५ जनाले ३ महिने सिलाइकटाइ सिक्दै थिए । उनीहरुले प्रतिव्यक्ति ९ सयका दरले रकम बुझाएका थिए । निशुल्क तालिममा किन पैसा दिने भन्दा सञ्चालकले प्रमाणपत्र दस्तुर ३ सय र तालिम सकिएपछि ६ सय फिर्ता हुने आश्वासन दिएको क्षेत्रीले बताइन् ।

निर्बाध संस्था स्थापना हुने र ठगी गरी भाग्ने भइरहँदा अनुगमन र नियमन गर्ने निकाय भने निकम्मा बनेका छन् । नियमित अनुगमन र दोषीलाई कानुनी दायरामा ल्याउन सके जनता ठगिनु नपर्ने पीडितको भनाइ थियो ।

तपाईको प्रतिक्रिया