चाल नपाउने सरकार

समाधान संवाददाता २०७६ जेठ १२ गते १५:४२

बद्रीविनोद प्रतीक

हिमालको देशमा हिमालका कथा थोरै छन् । हाम्रा हिमालको बारेमा लेखेर विदेशी लेखकले अर्बाै कमाए होलान् । त्यसबारे हामी बेखबर छौं । उनीहरुले लेखेर छोडेका रिपोर्टमा हाम्रा योजना बुनिँदै आएका छन् । तिनै योजनामा हामीले हिमाली जीवनको समृद्धि खोज्दैछौं । जसलाई हामीले कहिल्यै भेटेनौं ।

हाम्रा आँखाभरि अग्ला–अग्ला हिमाल छन् । तिनीहरु भित्रका कथा हिमालभन्दा पनि अग्ला छन् । त्यसबारे हामीलाई केही थाहा छैन । यसो भन्दा हामीलाई लज्जाबोध हुन्छ र पनि आँखा चिम्लेर हाँसिरहेका छौं । यसलाई हामीले नै नाम राखेका छौ ‘हिमाली हाँसो ।’

Advertisement

हिमाल देखेर हामीमात्र होइन, हाम्रा राजनीतिज्ञ र योजनाकार पनि रमाउँछन् । अनि रमाएको बेलामा घोषणा गर्छन् पर्यटकीय प्रदेश गण्डकी । पर्यटनबाट कुल गार्हस्थ उत्पादनमा कति योगदान छ ? त्यसको उत्तर खोजिएन ।

हिमाल, पहाड, ताल, खोला, हरियाली जंगल र पर्यटन व्यवसायमा लागेका व्यावसायीको मुस्कानको भरमा कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशतको योगदान पनि नभएको पर्यटन व्यवसायलाई गण्डकी प्रदेश सरकारले १ नम्बरमा राखिदियो । हाम्रा योजनाको प्राथमिक सूचीमा पनि पर्यटन १ नम्बरमै रह्यो ।

Advertisement

त्यसपछि त प्रदेश सरकारको थेगो नै पर्यटन भयो । अहिले गाउँघरमा कृषि, पशुपालन, फलफूल, तरकारी उत्पादन, होमस्टे जहाँ पनि पर्यटनकै कुरा हुन्छ । परिणम कस्तो आउँछ थाहा छैन । प्रदेश सरकारले भने अरु कुरा सुन्नै छोडेको छ । यता अर्थशास्त्रीले भने राजनीतिक व्यक्तित्वको भाकामा लय मिलाउन लाज मानेका छन् । उनीहरु भन्छन्, पर्यटन कुल गार्हस्थ उत्पादनमा योगदान पु¥याउने पर्यटन पहिलो होइन । यो त धेरै पछाडि छ ।

पोखराको फेवाताल वरिपरि व्यवसाय गर्नेहरुले पर्यटनको ठूलो संसार यही देखे । भ्यागुताले कुवामा समुद्र देखें झै देखिरहे । यसोभन्दा उनीहरुको मन दुख्ला । संसार धेरै फराकिलो छ । लुकाएर केही लुक्दैन । सिनेमा हेरुन्जेलका लागि वास्तवमा सिनेमा नै हो । वास्तविक जीवन धेरैधेरै फरक छ । त्यही क्षेत्रमा पर्यटन व्यवसाय गरेर बसेको भए सायद मेरो पनि मन दुख्थ्यो होला । यो मानवीय स्वभाव हो ।

जतिसुकै चित्त दुखे पनि सत्य कुरा भन्नै पर्छ । सत्य कुरा भनिएन भने किङ मिदासको कथा झै हाम्रा राजनीतिकर्मीमात्र होइनन्, हामी पनि उनीहरुकै पछिपछि सुन्दर वस्त्र पहिरेका नांगा राजाको जयजयकारमा सामेल हुनेछौं । हाम्रो कारणले गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री र सांसद मिदासको भेषमा सडकमा नदेखिउन् । योजनाकारले पनि लहैलहैमा गण्डकी प्रदेश पर्यटकीय प्रदेश हो भन्ने गायत्रीमन्त्र नजपिदिए हुन्थ्यो ।

पोखरा प्रकृतिले बनाएको सुन्दर सहर हो । यसमा शंका छैन । प्रकृतिले दिएको बाहेक सरकारको पहलमा निर्माण गरिएका दर्शनीय स्थल यहाँ त्यति छैनन् । केही निजी संघसंस्थाको पहलमा निर्माण गरिएका मानव निर्मित भौतिक संरचनाहरु छन् । तिनीहरुको पनि संरक्षण र संवद्र्धन गर्न सकिरहेको अवस्था छैन ।

तिनीहरु सबैको कुरा यो आलेखमा अटाउने सम्भव छैन । पोखरामै रहेका अर्थात प्रदेशको राजधानी अर्थात मुख्यमन्त्रीको ढोकैमा जोडिएको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराको बारेमा केही सरकारका सामु कुनै माग राख्नु पनि व्यंग्य जस्तै हुँदोरहेछ । अहिले भ्रमण वर्ष भनिएको छ । प्रदेशको भ्रमण वर्षलाई सहयोग पुर्‍याउने आन्तरिक पर्यटनले हो ।

यो हप्ता अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय संयोगले २ पटक भिजिट गरेँ । संग्रहालयमा घुम्दा डेढ २ घन्टा बितेको थाहै भएन । त्यति धेरै समय लगाएर घुम्दा पनि के–के छुट्यो जस्तो भइरह्यो । संग्रहालयको अवलोकन भ्रमण गर्दा यस्तो हुनु पनि पर्छ । २ पटक हेर्दा पनि धेरै छुटाएको छु ।

जेठ ६ गते बिहान, प्रदेशका नीति तथा योजना आयोगका उपाधयक्ष डा. गिरिधारी शर्मा पौडेलसँग हामीले पनि संग्रहालय अवलोकन गर्‍यौं । योजना बनाउने मुख्य योजनाकारले के–के देखे थाहा छैन । हामीले भन्दा बढी समय उनैले लगाए । संग्रहालय अवलोकमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपाली र मुख्यन्यायाधिवक्ता राजेन्द्र घिमिरे पनि सामेल रहे ।

प्रदेशको योजनामा परोस् वा नपरोस् प्राकृतिक सम्पदाको भरमा मात्र पर्यटनको विकास हुँदैन भन्ने निष्कर्षमा भने डा. पौडेल पुगेको कुरा चिया गफमा थाहा भयो । उनको निष्कर्ष चिया गफमै सीमित हुन्छ कि प्रदेशको योजनामा पर्छ हेर्न बाँकी छ ।

योजनाकारले चासो दिएर योजना बनाउन सक्छन्, राजनीतिकर्मीलाई बुझाउन भने सक्दैनन् । यो नै नेपालको ठूलो समस्या हो । निजामती प्रशासनमा खारिएका शंकर गौतमले राजनीतिक सल्लाहकारलाई उपाध्यक्ष्यको भ्रमणमा समावेश गर्नु नै चातुर्य हो । गौतम संग्रहालयका कार्यकारी निर्देशक हुन् ।

आजको पोखरा हिजोको जस्तो छैन । हिजोको पोखरा पुरै फेरिएको छ । हिजोको आवश्यकता र आजको आवश्यकतामा परिवर्तन आएको छ । आवश्यकता हेरेर चल्न सकिएन भने एकातिर आँधी अर्को तिर झोलुंगे पुल हुन पुग्छ । त्यस्तो नहोस् भन्नाको खातिर हिजोआज स्थलगत भ्रमण गरेर पुरै तस्बिर उतार्ने गरिन्छ । त्यही तस्बिर उतार्न डा. गिरिधारी पर्वतीय संग्रहालय आएका होलान् भन्न सकिन्छ । व्यस्त व्यक्ति त्यत्तिकै मन डुलाउनमात्र किन आउँथे र ? हुन त कहिलेकाहीं साथीभाइको मन राख्ने काम पनि गरिन्छ । यो अवलोकन भ्रमण मनमात्र राख्ने खालको नहोस् भनी प्रार्थना गरिहेका छन् संग्रहालयका कार्यकारी निर्देशक गौतम ।

अहिले मुलुकको शासन प्रणालीको ढाँचा फेरिएको छ । योजना छनोट र निर्माण प्रक्रियाको ढाँचा पनि फेरिएको छ । हिजो केन्द्रीकृत राज्य प्रणाली थियो । आज त्यस्तो छैन । प्रदेशमा ७ र पालिकामा ७ सय ५३ सरकार छन् । ती सबै आ–आफ्नो क्षेत्रको विकास योजना छनोट गर्न र निर्णय गरी कार्यान्वयन गर्न स्वतन्त्र छन् । यसमा गण्डकी प्रदेश सरकार पनि पूर्ण स्वतन्त्र छ ।

१६ वर्ष अगाडि नेपाल पर्वतारोहण संघले पर्वतीय अर्थात हिमाली जनजीवन झल्कने संग्रहालय स्थापना गरेको थियो । विसं २०६० साल माघ २२ गतेबाट विधिवत सञ्चालनमा आएको पर्वतीय संग्रहालय अहिले पनि सञ्चालनमा छ । नेपालका धेरै भूभागबाट मात्र होइन संसारभरका मानिस हिमाली जीवन र हिमाल पढ्न यहाँ आउँछन् । विश्वका लाखौं मानिसले हेरिसकेको संग्रहालयमा पोखराकै बासिन्दा कम पुग्छन् । पोखरा आसपासका मानिसलाई पनि संग्रहालयसम्म पु¥याउनु सबैको कर्तव्य हो । पर्यटनको कुराले मात्र पर्यटनको विकास हुँदैन भन्ने कुरा सबैले मनन गर्नुपर्छ ।

पर्वतीय संग्रहालय पोखरामा स्थापित गराउने प्रमुख श्रेय डा. हर्क गुरुङलाई जान्छ । पोखराका फ्यान थिए हर्क । पोखराको बारेमा धेरै अध्ययन र अनुसन्धान गरेका गुरुङले पर्वतीय संग्रहालय पोखरालाई उपहार स्वरुप दिएर गए । यति बेला उनी भने छैनन् । उनले परिकल्पना गरेको संग्रहालय भने यहीं छ । करिब १ सय रोपनी क्षेत्रफलमा फैलिएको हाताभित्र निर्मित विशाल हलमभित्र हिमाल र हिमाली जनजीवनको जीवन्त इतिहास संग्रहित छ । जसको अवलोकनले मानिसको मन भुलाउन सफल भएको छ । हिमाली क्षेत्रको मात्र होइन सिंगो नेपालको जाति–जनजातिको झलकसमेत झल्कने तस्बिर छन्, जसले नेपालको छुट्टै सान थपेको छ । अन्तर्राष्ट्रियस्तरको पर्वतीय संग्रहालय पोखराको गहना हो । पोखरा आउने पाहुनाका लागि छुटाउनै नहुने पर्यटकीय गन्तव्य बनेको छ । अन्तर्राष्ट्रिय स्तरको संग्रहालय यत्तिले मात्र पूर्ण हुन सक्दैन । स्व. हर्क गुरुङको सपना पूरा गर्ने हो भने यसमा धेरै कुराहरु थप्नुपर्ने देखिन्छ । जस्तो कि एउटा सोभिनियर सप त्यहाँ तुरुन्तै थप्न सकिन्छ । त्यस्तो पसल भइदिए । पोखराको चिनो पाहुनाले लैजान पाउने थिए ।

डा. गुरुङ अहिले छैनन् तापनि उनको स्मृतिमा संग्रहालयकै हाताभित्र उनको एउटा अर्धकदको सालिक छ । त्यहाँ उनको मात्र सालिक छैन तर पनि बीचमा रहेको डा. हर्कको सालिकप्रति छुट्टै श्रद्धाभाव उब्जन्छ । त्यहाँ प्रवेश गर्ने हरेक भिजिटरले डा. गुरुङलाई हेरेर मात्र भित्र पस्ने गर्छन् । हामी पनि त्यसरी नै पसेका थियौ । भित्रको विशाल संग्रहालयमा हराउँदा पनि डा. गुरुङको योगदानलाई बिर्सन सकिएन । मनमा उनी आइरहे ।

पछिल्लो तथ्यांकअनुसार २०७४÷७५ मा २ लाख ६० हजारले अवलोकन गरेको पर्वतीय संग्रहालयका प्रबन्ध निर्देशक शंकर गौतम बताउँछन् । उनी भन्छन्, यसबाट नोक्सान छैन । यसबाट ३२ जनालाई प्रत्येक्ष र हजारांैलाई अप्रत्येक्ष रोजगारी मिलेको छ भने आम्दानी २ करोड ७८ लाख गरेको छ । नेपाल भ्रमण वर्ष २०÷२० लाई केन्द्रमा राखेर संग्रहालयले छुट्टै कार्ययोजना र रणनीतिक योजना बनाइसकेका छन् । यसै बीचमा उनले राज्यसँग आश गर्नु पनि स्वभाविक नै हो ।

पोखरामा सरकारले सञ्चालन गर्दै आएको क्षेत्रीय संग्रहालय पनि छ । सहरको माझमा भएर पनि गुमनाम छ । संग्रहालयको प्रवेशद्वारमा व्यापारिक घरानाको गाडी सोरुम छ । त्यहाँभित्र संग्रहालय छ भन्ने यहीका मानिसलाई पनि थाहा नहुन सक्छ । सरकारी अधिकारीको त कुरै छोडौं, स्थानीय तहका जनप्रतिनिधिलाई समेत सरकारी संग्रहालयको बारेमा ज्ञान छैन । जसले यसको हेरचाह गर्नुपर्ने हो उही अनभिज्ञ देखिएपछि कसरी त्यसको विकास होला ? पोखराकै अर्को गोर्खा संग्रहालय छ । ब्रिटिस क्याम्पगेट नजिकै रहेको उक्त संग्रहालय पनि दर्शनीय छ । गोर्खा सैनिकको वीरताको कथा झल्काउन सफल संग्रहालय ब्रिटिस सरकारकै सहयोगमा सञ्चालित भएकाले सहयोगको आशा गर्दैनन् उनीहरु ।

तपाईको प्रतिक्रिया