लाइसेन्सको ट्रायल पास गराइदिने भन्दै घुस लिने दुई जना रंगेहात पक्राउ

समाधान संवाददाता २०७६ जेठ १४ गते १५:०९

समाधान संवाददाता, पाेखरा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले दुई जनालाई ४० हजार घुससहित सोमबार राती पक्राउ गरेको छ ।

यातायात व्यवस्था कार्यालय गण्डकीबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउँदा लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिने दुई जनालाई अख्तियारको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीहरुसँग घुस लिँदै गर्दा पोखरा १७ को एक रेष्टुरेन्ट पक्राउ परेका हुन् ।

Advertisement

हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इस्न्टिच्युट, पोखराका सञ्चालक खगेन्द्र प्रसाद काफ्लेलाई ४० हजार नगद सहित घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

काफ्लेले विभिन्न सेवाग्राहीसँग लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै लिएको १ लाख ६ हजार रुपैँया र डायरी लगायत प्रमाणहरु बरामद गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सुचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । दुबै जनालाई मंगलबार अख्तियारको कार्यालय काठमाडौ लगेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया