पोखरा महानगरको लक्ष्यभन्दा ३९ प्रतिशत कम आम्दानी

समाधान संवाददाता २०७६ जेठ १५ गते ९:०४

ईश्वर देवकोटा

आर्थिक वर्ष सकिन ४५ दिन बाँकी रहँदा पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७५-०७६ मा लक्ष्यभन्दा कम आम्दानी गर्ने संकेत देखिएको छ ।

चालु आवका लागि महानगरले ६ अर्ब १७ करोड बजेट अनुमान गरेको थियो । महानगरले बाह्य आम्दानीमा ३ अर्ब ९१ करोड र आन्तरिक आय २ अर्ब २६ करोड हुने लक्ष्य सार्वजनिक गरेको थियो ।

Advertisement

मेयर मानबहादुर जिसीले सोमबार सार्वजनिक गरेको आर्थिक प्रगति विवरणमा लक्ष्यभन्दा झन्डै ३९ प्रतिशत कम आय भएको उल्लेख छ । महानगरले जेठ १३ गेतसम्म प्राप्त आम्दानीमा बाह्यतर्फ २ अर्ब ७६ करोड र आन्तरिक आम्दानी तर्फ १ अर्ब ४ करोड रुपैयाँ संकलन गरेको देखिन्छ । गत वर्ष महानगरले दुवै स्रोतबाट ३ अर्ब ३ करोड ५१ लाख आम्दानी गरेको थियो ।

आम्दानीको लक्ष्यमा आन्तरिक स्रोतबाट प्राप्त हुनुपर्ने राजस्व बेलैमा जम्मा नहुँदा लक्ष्य प्रभावित हुने देखिएको हो । एकीकृत सम्पति कर, घरबहाल कर, घरजग्गा रजिष्टे«सन शुल्क, सवारी कर, सेवा शुल्क, व्यवसाय कर लगायत महानगरका मुख्य आन्तरिक आम्दानीका स्रोत हुन् । तर महानगरले घरबहाल करसमेत लक्ष्यमुखी ढंगले उठाउन सकेन ।

Advertisement

२ अर्ब २६ करोड राजस्व संकलनको लक्ष्य लिएको महानगरले चालु आवको ११ महिनासम्म १ अर्ब ४ करोड रुपैयाँमात्र संकलन गरेको देखिन्छ । सटर भाडाबापत वार्षिक २ करोड ७ लाख रुपैयाँ आम्दानी हुन्छ । महानगरकै कमजोर संयन्त्रका कारण वर्षौदेखिको घरभाडा बक्यौता खप्टिएको छ ।

सम्झौतामा महानगरको सटर भाडामा लिएर हालसम्म १ करोड ५६ लाख रुपैयाँ उठाउन नसकेको देखिन्छ । यहीँ आर्थिक वर्षभित्र महानगरले बक्यौता रकम सहितको सटर भाडा आउदो असार मसान्तसम्ममा उठाइ सक्ने मेयर मानबहादुर जिसीले बताए ।

घरबहाल कर संकलनको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएसँगै महानगरले उठाउने विषयले चर्चा पाए पनि काम सुरु हुन सकेन । आउँदो वर्षदेखि कानुन नै बनाएर महानगरले आधुनिक पद्दतिमार्फत घर बहाल करलाई थप व्यवस्थित गर्ने मेयर जिसीले सुनाए । ‘कर प्रणालीमा आधुनिक पद्दतिमार्फत सरलीकरण गरी लागु गर्ने योजनामा छौं,’ उनले भने । महानगरका विभिन्न २० वटा वडाबाट सफ्टवेयरमार्फत राजस्व संकलन भइरहेको छ ।

बाह्य आम्दानीमा नेपाल सरकारबाट प्राप्त हुने निसर्त अनुदानसहितका वित्तीय समानीकरण अनुदान, प्रदेश सरकाबाट प्राप्त अनुदान र जनसहभागिताबाट समेत महानगरलाई आम्दानी हुन्छ ।

चालु आवमा अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत २ अर्ब ५५ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपणसहित महानगरले बजेट ल्याएको थियो । जसमा निसर्त अनुदान ६१ करोड ४४ लाख नेपाल सरकाबाट प्राप्त हुने उल्लेख थियो । सशर्त अनुदानबाट १ अर्ब २० करोड ४२ लाख रुपैयाँ महानगरलाई प्राप्त हुनुपर्ने थियो ।

समपूरक अनुदानबाट ६ करोड रुपैयाँ, विशेष अनुदानबाट १५ करोड, राजस्व बाँडफाँडबाट ३४ करोड ६५ लाख रुपैयाँ प्राप्त गर्ने महानगरको लक्ष्य थियो । महानगरले मंगलबार जारी गरेको आर्थिक विवरणमा २ अर्ब ७६ करोड रुपैयाँमात्र बाह्य आम्दानी भएको जनाइएको छ । लक्ष्य भेट्टाउन महानगरले अबको ४५ दिनमौ १ अर्ब बेंसी आम्दानी गर्नुपर्छ ।
४९ प्रतिशत बजेट खर्च

महानगरपालिकाले चालु आर्थिक वर्षको विनियोजित बजेटमध्ये साढे १० महिनामा ४९ प्रतिशत बजेट खर्चिएको छ । पुँजीगततर्फ जेठ १३ गतेसम्म महानगरले १ अर्ब १८ करोड ४७ लाख रुपैयाँ खचिएको छ । कुल पुँजीगत बजेट २ अर्ब १६ करोड ७ लाखमध्ये यो रकम ४९.५ प्रतिशत हो ।

चालु खर्चतर्फ महानगरले विनियोजन गरेको २ अर्ब १२ करोड ८७ लाख रुपैयाँमा १ अर्ब ६७ करोड ४८ लाख ७८ रुपैयाँमात्र खर्चिएको छ । यो ५३.५ प्रतिशत हो । मेयर जिसीले अधिकांश विकास निर्माणका योजना ठेक्का प्रक्रियामा गइसकेकाले असार मसान्तसम्म बजेट खर्च उल्लेख्य बढ्ने बताए ।

‘गत वर्ष विविध समस्याका कारण पनि महानगरले ८० प्रतिशत प्लस खर्च गरेको थियो,’ उनले भने, ‘विकास योजनाका टेन्डर धमाधम सम्झौता भई काम भइरहेकाले असारसम्म हामी ८५ प्रतिशत हाराहारी बजेट खर्च गर्छाैं ।’

तपाईको प्रतिक्रिया