स्काउटको प्रथम राष्ट्रिय रोभर मुट पोखरामा

समाधान संवाददाता २०७६ जेठ १७ गते १२:१८

समाधान संवाददाता
पोखरा

नेपाल स्काउटले प्रथम राष्ट्रिय रोभर मुट नामक बृहत कार्यक्रम पोखरामा गर्न लागेको छ । स्काउटले शुक्रबार १७ गतेदेखि २१ गतेसम्म पोखराको फेवा किनारमा अवस्थित कोमागाने पार्कमा युवा लक्षित कार्यक्रम गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ दिने समारोहको जेठ १८ गते उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए । उनले सम्मेलनमा विश्व स्काउट संगठनका महासचिव अहमद राफी मोहम्मद अल्हेन्दावी लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने बताए ।

Advertisement

संयोजक भण्डारीले समारोहमा नेपालसहित १४ मुलुकका ५ हजार स्काउट १६ देखि २५ वर्षसम्मका युवाहरु विविध कार्यक्रमसहित भेला हुने बताए । ‘समृद्धिका लागि सहकार्य भन्ने नाराका साथ ‘रोभर मुट’ नेपाल स्काउटले पहिलोपटक गर्ने अवसर पाएको छ,’ संयोजक भण्डारीले भने, ‘समारोह युवा केन्द्रित जमघट र सीमित गतिविधिमा सहयो पुग्ने मात्र नभई समग्र नेपाल र पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने हाम्रो विश्वास छ ।’ संयोजक भण्डारीले सम्मेलनका लागि १ करोड २५ लाख खर्च लाग्ने जनाए ।

सम्मेलनमा नेपाल, भारत, बंगलादेश, फिलिपिन्स, जोर्डन, हङकङ, अमेरिका, बेलायत, मलेसिया, थाइल्यान्ड, युगान्डा, ताइवान, इजिप्ट र लग्जम्बर्गका युवाहरुको सहभागिता रहने छ । संयोजक भण्डारीले सम्मेलनमा युवालाई गोष्ठीका अतिरिक्त मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति रोप क्लाइम्बिङ, आमेगा जम्प, नेट क्रलिङ, व्यालेन्सिङ बडी, स्विङ बोर्ड, रोप क्रसिङ, टाइगर जम्प, व्याम्बो वाल्क, टायल वाल, आर्चरी, याफ्ट बोटिङ, वाटर साइक्लिङ लगायत खेलमा सहभागी गराइने बताए  । उनले युवाहरु पोखरामा सञ्चालन भइरहेका विभिन्न साहसिक पर्यटकीय गतिविधिमा पनि संग्लग्न हुने जानकारी दिए ।

Advertisement

सम्मेलनमा विभिन्न देशका जाति, भाषा, धर्म, संस्कृति र भूगोलका युवा युवतीले एउटै नारा र एउटै उद्देश्यका साथ एकै थलोमा सांस्कृतिक आदानप्रदान, भ्रातृत्वको विकास गर्ने अवसर पाउने दाबी गर्दै सयोजक भण्डारीले युवाहरु समृद्ध नेपाल सुखी नेपालीको महा अभियानमा युवाहरुको सक्रियता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । संयोजक भण्डारीका अनुसार नेपालमा ६० हजार स्काउट सदस्य छन् ।

तपाईको प्रतिक्रिया