प्रकृतिको दिनानुदिन स्खलन

समाधान संवाददाता २०७६ जेठ २२ गते १२:४८

झलकराज पौडेल

व्रह्मान्डमा रहेका जति पनि जैविक तथा अजैविक अवयवको सामूहिक स्वरुप र तिनीबीचको सन्तुलित अन्तक्रिया एवं अन्तरसम्बन्धबाट उत्पन्न परिवेशलाई वातावरणको रुपमा बुझिन्छ । वातावरणको कारणले गर्दा पृथ्वीमा मानिसलगायतका सम्पूर्ण जीव–जीवात्मा अस्थित्वमा छन् । सन्तुलित र स्वस्छ वातावरणले नै मानव जीवनलाई स्वस्थ, सुखी र खुसी तुल्याउँछ । वातावरण, पारिस्थितिक प्रणाली र जैविक विविधता संरक्षणबीच अन्योन्याश्रीत सम्बन्ध छ । जैविक विविधताको संरक्षण र पारिस्थितिक पद्धतिले वातावरण सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छन् ।

वातावरण संरक्षण कायम राख्न र वातावरणको प्राकृतिक स्वरुप क्षय गर्न मानिस स्वयं कै ठूलो भूमिका हुन्छ । मानिसले प्रत्यक्ष वा अप्रत्यक्ष, जानी वा नजानीकन दिनानुदिन वातावरणको प्राकृतिक अस्थित्वलाई नष्ट गर्दैछ । स्वाभाविक रुपमा मानिस चेतनशील र उन्नतोन्मुख प्राणी हो । यथास्थितिलाई शिरोधार्य गरी चित्तोशान्ति गर्ने र रमाउने स्वभाव नभएको कारणले नै होला निमेष–निमेषमा उसले आफ्नो प्रगति, उन्नति र अग्रगमनका पाइला लम्काइरहेको हुन्छ ।

Advertisement

त्यसैले त आज विज्ञान तथा प्रविधिको क्षेत्रमा उसले अलौकिकता र चामत्कारिकता प्राप्त गर्न सफल भएको छ । तर यिनै उन्नति, प्रगति, विकास र चमत्कारिताका नाउँमा प्रकृति र वातावरणको प्राकृतिक स्वरुप र वातावरणीय प्रभावलाई बेवास्ता गर्दा मानव जीवनका लागि अति नै महत्वपूर्ण पक्षको रुपमा रहेका वातावरणीय तत्वको दिनानुदिन स्खलन भएको छ ।

विश्वव्यापीकरण, औद्योगिकीकरण, सहरीकरण, यान्त्रिकीकरण, आधुनिकीकरण आदिको अगुणकारी उपयोग, बढ्दो सवारी साधन, आणविक भट्टीको प्रयोग, प्राकृतिक स्रोतसाधन माथिको अत्यधिक दोहन, जनसंख्या वृद्धिमा व्यवस्थापकीय कौशलताको अभाव जस्ता मानवीय क्रियाकलापसँगै विश्वभर विशेषगरी विकसित राष्ट्र र औद्योगिक राष्ट्रबाट भएको अत्यधिक कार्वन उत्सर्जनबाट आज विश्वव्यापी रुपमा वातावरणीय विनास भइरहेको परिस्थिति हाम्रो सामु छर्लङ छ ।

Advertisement

तथापि जलवायु परिवर्तन, विश्वव्यापी उष्णता, आणविक हिउँद, अम्लिय वर्षा, जैविक विविधतामा ह्रास, हरितगृह प्रभाव, ओजोन तहको विनाश आदिबाट मौसमको स्वरुपमा परिवर्तन, अतिवृष्टी, अनावृष्टी, प्राकृतिक एवं दैविक प्रकोपजन्य भूक्षय, बाढी पहिरो, भूकम्प, खडेरी, कृषि उत्पादनमा ह्रास, मानवीय स्वास्थ्यमा प्रतिकूल प्रभाव, खाद्यान्न संकट जस्ता जटिलताको सामना गर्न हामी बाध्य छौं ।

त्यस्तै मौसममा आएको अशोभनीय फेरबदल, पृथ्वीको तापक्रममा आएको क्रमिक वृद्धिले हिमालको हिँउ पग्लिने, सामुन्द्रिक सतहमा वृद्धि भई तटीय क्षेत्र डुबानमा पर्ने, हिमाली भेगमा रहेका हिमताल फुट्ने, हिउँ पहिरो, सुख्खा पहिरो झर्ने जस्ता खतराबाट मानव जीवन प्रत्यक्ष जोखिमको शिकार बन्नुको साथै स्थलीय, जलीय पारिस्थितिक प्रणाली प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संकटमा परिरहेको अवस्था विद्यमानता छ । यी र यस्ता समस्याबाट नेपाल पनि अछुतो छैन ।

विकसित र औद्योगिक राष्ट्रले वातावरणीय क्षेत्रमा गरेको अकर्मन्यता र हेलचक्र्याइको प्रत्यक्ष नियती भोग्नुपर्ने जस्ता बाध्यता नेपाल लगायतका कम विकसित राष्ट्रको डरलाग्दो चुनौती नै बनिसकेको छ, जसको वातावरण विनासमा नगन्य रुपमा मात्र भूमिका रहेको छ । त्यसो त नेपालले कार्वनको बढ्दो उत्सर्जनलाई न्युनिकरण गर्न योगदान पु¥याएवापत अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरेको छ । त्यस्तै विकसित तथा औद्योगिक राष्ट्रसँगको कार्वन व्यापारबाट पनि नेपालले महत्वपूर्ण आम्दानी गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय प्रयास
जलवायु परिवर्तनको एजेन्डा र वातावरणीय एजेन्डा आज विश्ववापी रुपमा सर्वाधिक चासो र चिन्तनको विषयको रुपमा छ । वर्तमान समयमा वातावरणमैत्री विकास, हरित विकास, प्रकृतिमैत्री विकास जस्ता अवधारणा अगाडि सारिएको छ । वर्तमानका विकासका गतिविधिले भावी पुस्ताका अधिकारलाई हनन गर्न नहुने गरी विकासलाई वातावरण सापेक्ष र सन्तुलित रुपमा अगाडि बढाइनुपर्ने मान्यताको विकास भएको छ ।

विश्वव्यापी रुपमा विकास प्रक्रियामा आएको तीव्रतासँगै प्रकृतिमा उपलब्ध स्रोतको दीगो उपयोगद्वारा पृथ्वीको धान्न सक्ने क्षमता ह्रास हुन नदिनका लागि विश्वव्यापी रुपमा वातावरणमैत्री विकासको अवधारणा ल्याउन थालिएको हो । यस सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा सन् १९७२ मा युएनइपीको स्थापना, सन् १९८३ मा गठित ब्रुटल्यान्ड कमिसनको सन् १९८७ मा पेस गरिएको प्रतिवेदन, सन् १९९२ को रियो सम्मेलनमा एजेन्डा २१ पारित, सन् १९९७ मा क्योटो प्रोटोकल पारित, सन् २००७ को वाली सम्मेलन, सन् २००९ को कोपनहेगन सम्मेलन तथा त्यसपछिका विभिन्न कोप सम्मेलन (हालसम्म २४ वटा कोप सम्मेलन सम्पन्न भइसकेका), जलवायु परिवर्तन र जैविक विविधता संरक्षणका लागि विश्वस्तरमा भएका विभिन्न सन्धि, महासन्धि, सम्झौता र प्रतिबद्धता आदिको माध्यमबाट वातावरणीय विनास, जैविक विविधता संरक्षणमा प्रतिकूलता, पारिस्थितिक प्रणालीमा ह्रास, हरितगृह ग्यासको अस्वाभाविक उत्सर्जन लगायतका सवाललाई एउटा गम्भीर मानवीय संकटको रुपमा औल्याई तिनीहरुको न्युनीकरणका लागि व्यक्तिस्तरदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने र वातावरण संरक्षणका लागि महत्वपूर्ण भूमिका वहन गर्नुपर्ने वस्तुनिष्ठता प्रकट गरेको छ । सोही अनुरुप अन्तर्राष्ट्रिय स्तरमा संयुक्त राष्ट्र संघ लगायत अन्य क्षेत्रगत संघसंस्था र निकायले पर्यावरण संरक्षणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।

राष्ट्रिय प्रयास
वातावरणीय विनास र जलवायु परिवर्तनको असरबाट बढी प्रभावित हुने विश्वका थोरै देश मध्ये नेपाल पनि एक हो । यस परिस्थितिको सामना गर्न अर्थात वातावरण संरक्षण कायम गर्नका लागि अन्तर्राष्ट्रिय र क्षेत्रीय रुपमा गरेका प्रतिबद्धता साथै विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल सहभागी भई पीडित राष्ट्रका तर्फबाट बुलन्दित सशक्त धारणा ग्ल्यामरको रुपमा छन् ।

त्यसैगरी नेपालले संवैधानिक रुपमा संविधानको मौलिक हक मै उल्लेख गरी वातावरण संरक्षणमा बेवास्ता गर्ने उपर कानुनी उपचारको समेत व्यवस्था गरेको छ भने राज्यको मार्गनिर्देशक सिद्धान्तको रुपमा दीगो विकासका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्दै र वातावरणको स्वच्छता कायम गरी विकास निर्माणका कार्य सञ्चालन गर्नुपर्ने जस्ता संवैधानिक व्यवस्था अंगीकार गरेको छ ।

त्यस्तै नीतिगत रुपमा वातावरण संरक्षण ऐन, २०५३ तथा नियमावली, २०५४, सो ऐनको पहिलो संशोधित वातावरण संरक्षण ऐन, २०७५ का अलवा वन ऐन, २०४९, जल उत्पन्न प्रकोप व्यवस्थापन नीति, २०७२, भू–उपयोग नीति, २०७२ समेतका नीतिले वातावरण संरक्षण एवं सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छन् ।

त्यसैगरी छैटौं योजनादेखि नै वातावरण र भू–उपयोग नीति, ७ औं योजनामा विकासमा वातावरणीय प्रभाव मूल्यांकन, ८ औं योजनामा दीगो विकासको अवधारणागत नीति अघि सारेको र ९ औं योजनादेखि हालसम्मका योजनामा दीगो विकास र वातावरण संरक्षणका विषयलाई निरन्तर रुपमा सम्वोधन गरेको छ ।

संस्थागत रुपमा वातावरण मन्त्रालय, वातावरण परिषद्, वातावरण विभाग, प्रदेश सरकार, स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालय लगायतले वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा सरसफाई अभियान, भवन निर्माण मापदण्ड निर्धारण, विभिन्न विकास आयोजना सञ्चालन गर्दा वातावरणीय प्रभाव मूल्यांकन परीक्षण गर्नुपर्ने लगायतका क्रियाकलाप एवं कदमबाट वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्युनीकरण गर्नका लागि गरिएका व्यवस्था महत्वपूर्ण छन् ।

दिवसको सन्दर्भ
वातावरण संरक्षणका लागि विश्वस्तरमै सामाजिक र राजनीतिक जनचेतना जगाउने उद्देश्यले सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गर्‍यो । उक्त सम्मेलनले वातावरण संरक्षणको आवश्यकता महसुस गरी सन् १९७३ जुन ५ मा विश्व वातावरण दिवस पहिलो पटक मनाउन सुरु गरेको हो । त्यसै समयदेखि संयुक्त राष्ट्र संघको अग्रसरतामा हरेक वर्ष भिन्न देशको आयोजनामा भिन्न नाराका साथ जुन ५ का दिन विश्व वातावरण दिवस मनाउँदै आइरहेको छ । यस वर्ष पनि ‘वायु प्रदूषण’ नाराको साथ चीनको आयोजनामा विश्व वातावरण दिवस भव्यरुपमा मनाइँदै छ ।

नेपालले पनि सन् १९७६ देखि उक्त दिनको अवसर पारेर हरेक वर्ष वातावरण संरक्षण गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरी वातावरण दिवस मनाउँदै आएको छ । वातावरण मन्त्रालय र वातावरण विभागले वायुको गुणस्तरीयता कायम गर्ने क्रियाकलापका लागि सबैलाई आग्रह गर्दै ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाउँदैछ ।

वातावरणीय पक्षमा क्रियाशील विभिन्न सरकारी, गैरसरकारी तथा सामुदायिक संघसंस्था, नागरिक समाज, टोल सुधार समूह, आमा समूह, विभिन्न अन्तर्राष्ट्रिय तथा स्थानीय तहका क्लब, सामुदायिक तथा निजी विद्यालय, विश्वविद्यालय तह लगायतबाट वातावरण दिवसको अवसर पारेर वा अन्य कुनै विशेष अवसरमा वातावरण संरक्षण तथा जलवायु परिवर्तनको प्रभाव न्युनीकरणका लागि आ–आफ्नो स्थानबाट विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै वातावरण सन्तुलनका लागि रुख–विरुवा रोप्ने, सामूहिक सरसफाई अभियान सञ्चालन गर्ने, वातावरण विनास, वन विनासको असरबाट हुने असर बारे गोष्ठी, कार्यपत्र आदि समेत सञ्चालन गर्दै आइरहेकोमा आजको दिनमा पनि यी उल्लेखित संघसंस्थाले त्यसैको निरन्तरता दिएको छ । जसले वातावरण स्वच्छन्दता कायम राख्नमा पक्कै पनि थप महत्वपूर्ण भूमिका खेल्ने छ ।

अन्त्यमा, विभिन्न राष्ट्रको प्राविधिक, आर्थिक, भौतिक विकासको होडबाजीका साथै नयाँनयाँ आविष्कारको पछाडि प्रतिस्प्रर्धात्मक रुपमा दौडिने तर वातावरणीय पक्षलाई ध्यान नदिइने परिपाटीले आज वातावरण र विकास एकअर्कामा अन्तर सम्बन्धित नभई परस्पर विरोधीको रुपमा देखापरेको, विकासका नाममा विनास हुने गरेको जस्ता अभिव्यक्ति सर्वत्र सार्वजनिक हुने गरेको छ । यदि यहि अवस्था रहने हो भने भोलि मानवीय जीवन ठूलो जोखिममा पर्नसक्ने स्थिति आउन अब धेरै समय पर्खिरहनु पर्दैन ।

विश्व वातावरण दिवसको अवसरमा वातावरणीय स्वच्छन्दता कायम राख्न र जलवायु परिवर्तनको असरलाई कम गर्ने उद्देश्यले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको दिवसले सार्थकता पाओस् । यो एउटा बहुआयामिक र अन्तर्राष्ट्रिय स्तरको सवालको रुपमा रहेको हुँदा एउटा सिंगो राष्ट्रको एकल प्रयासबाट मात्र वातावरणीय संरक्षण असम्भव हुने चेतना सबैमा जागृत भई यसका लागि व्यक्ति, समाज, समुदाय, राष्ट्र र अन्तराष्ट्र सबैको उत्तिकै भूमिका र दायित्व हुनेछ ।

र सोको अन्तरआत्मादेखि पहल गर्ने भावनाको विकास होस् । राष्ट्रले सोही अनुरुप विकास र वातावरणबीचको तादाम्यता कायम गर्ने किसिमको नीति निर्माण र कार्यान्वयनमा हौसला प्रदान गरोस् । वातावरण दिवसको दिनमा मात्र वातावरण संरक्षणको हुण्डरी मच्चाउने संस्कृतिको अन्त्य होस् । वातावरण दिवसको गरिमा उच्च राख्न सबैको चित्ताकृष्ट होस् । वातावारण दिवसको सबैलाई शुभकामना !

पौडेल उच्च अदालत पोखरामा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया