नागढुंगामा ४४ बुटिक चौतारी

समाधान संवाददाता २०७६ जेठ २३ गते ११:३३

समाधान संवाददाता
पोखरा

पोखरा ८ को नागढुंगादेखि पृथ्वीचोकसम्म ४४ वटा चौतारी निर्माण गरिएको छ । नागढुंगा चौतारी निर्माण समितिले ७ सय मिटर क्षेत्रमा बुटिक चौतारी बनाएको हो । सडक किनारमा हुर्किएका बिरुवाको संरक्षण तथा सौन्दर्यका लागि पोखरा ८ र पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा बुटिक चौतारी निर्माण गरिएको हो ।

चौतारीको पोखराका मेयर मानबहादुर जिसीले उद्घाटन गरे । उनले महानगरलाई हरित सहरका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । पोखरेलीले स्वतस्फुर्त १ घर १ वृक्ष अभियान सुरु गरे पोखरा केही वर्षमै हरित सहर बन्ने धाराणा राखे ।

Advertisement

पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले वडाभित्र बाटोघाटोको पर्याप्त विकास भएको बताउँदै अब वातावरण तथा कृषिजन्य कार्यक्रमलाई प्राथमिकता दिने औंल्याए । महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा नेपालमा पनि देखिएको उल्लेख गरे ।

चौतारी निर्माण अनुगमन समितिका सदस्य डम्मरराज सुवेदीले उच्त स्तरीय सामग्रीको प्रयोगमा उत्कृष्ट चौतारी बनेको बताए । नागढुंगास्थित विभिन्न समूहको तर्फबाट आमा मिलन सहकारी संस्थाका प्रबन्ध निर्देशक ध्रुवराज पौडेलले सामाजिक सिर्जनात्मक एवं रचनात्मक कार्यमा सहकार्य गर्नुपर्नेमा जोड दिए ।

Advertisement

चौतारी निर्माण समिति अध्यक्ष विनोद लामिछानेले निर्मित चौतारीको संरक्षण अबको चुनौती भएको बताए । समिति कोषाध्यक्ष कमला श्रेष्ठले स्वागत तथा इशु श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया