‘नमूना युवा संसद’मा माझिँदै युवा

समाधान संवाददाता २०७६ जेठ २४ गते १२:१९
sdr


ईश्वर देवकोटा
पोखरा

सभामुखको दायाँतर्फ सत्तापक्षका सांसद । बायाँतर्फ भने प्रतिपक्षका सांसद छन् । सत्ता अहिले २ तिहाईको छ । सत्ता र प्रतिपक्ष गरी ६०÷४० प्रतिशतका सांसदहरु संसदमा उपस्थित छन् ।

जनाउँ घन्टी बज्छ । मर्यादापालक विष्णु पोखरेल अघि उभिएर उपस्थित सांसद र सभामुखलाई एकसाथ सम्बोधन गर्छन् । ‘माननीय सांसद ज्यूहरु, माननीय सभामुख ज्यू’, मुल ढोकाबाट केही ओझेल पर्दै तिनै मर्यादापालक सभामुखसँगसँगै पुन भित्र प्रवेश गर्छन् ।

Advertisement

सभामुखको आसनमा तनहुँकी दुर्गा भण्डारी देखिन्छिन् । सभामुखको प्रवेशसाथै राष्ट्रिय धुन बज्छ । संसदमा रहेका ३६ सांसद उभिएर राष्ट्रिय धुनमा सहभागिका लागि यथास्थानबाट उठ्छन् ।

राष्ट्रपतिको पत्र पढेर सुनाउँदै सभामुख भण्डारीले नमूना युवा संसदको कारवाही प्रारम्भ भएको जानकारी गराउँछिन् । शून्य समय र विशेष समयमा बोल्ने सांसदहरुलाई आफ्ना भनाई राख्न समय दिइएको उनले सभामा जानकारी दिन्छिन् ।

Advertisement

शून्य समयको १ मिनेटमा सम्बोधनका लागि श्वेता नेपाली पहिलो क्रममा छिन् । उनले माइक समाउना साथ सभामुखलाई सम्बोधन गर्दै भन्छिन्, ‘सभामुख महोदय, विभिन्न स्थानमा फेला परेका धातु खानीको उचित प्रयोग हुन सकेको छैन । मुस्ताङको लोमान्थाङमा भएको बहुमूल्य धातु युरेनियम भेटिए पनि त्यस धातुको उचित प्रयोग हुन सकेको छैन किन ? सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँदछु ।’ प्रतिपक्षतर्फबाट शून्य समयमा बोलेकी नेपालीले युवा सरकारसँग जवाफ मागेकी छन् ।

त्यस्तै, शून्य तथा विशेष समयमा बोल्ने अन्य सांसदले देशको राजनीतिक, भौगोलिक तथा राष्ट्रिय सिमानादेखि, नीति निर्माण र बजेट खर्चबारे समेत धारणा राख्छन् । सत्तापक्षका सांसदले पनि समसामयिक विषयमा विचार पोख्छन् र जनताका समस्याबारे जानकारी दिन्छन् । प्रतिपक्षी दलको नेता नवलपुरका इन्द्रज्योति पोखरेल छन् । उनले सरकार कामै नलाग्ने भइसकेको आरोप लगाउँछन् । प्रचार र भाषणमा मात्रै लिप्त भएकाले जनता झन् पीडित भएको भन्दै रोष पोख्छन् ।

सत्तापक्षबाट लमजुङका निश्चल पाण्डे प्रधानमन्त्रीको हैसियतमा छन् । उनले शून्य तथा विशेष समयमा उठेका प्रश्नको जवाफ दिन्छन् । युवा सरकारले समयअनुसार उपयुक्त काम गर्दै जाने आश्वास्त पार्छन् ।

यी संवाद र दृश्य हेर्दा ठ्याक्कै प्रतिनिधि संसद बैठकको झल्को दिनेगरी यहाँ बैठक चलिरहेको छ । जिल्ला समन्वय समिति कास्कीको सभाहलमा जेठ २१ गतेबाट गण्डकी प्रदेशका ३६ युवा नमूना युवा संसद स्थापना र अभ्यासमा जुटिरहेका छन् ।

युवा तथा खेलकूद मन्त्रालयको राष्ट्रिय युवा परिषदले आयोजना गरेको प्रदेशस्तरीय नमूना युवा संसद शुक्रबारसम्म चल्ने छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्न परिषदले गत वर्षदेखि नमूना युवा संसद कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

हरेक पालिकाहरुमा नमूना युवा संसद सञ्चालनका लागि मन्त्रालयले बजेट समेत पठाएको छ । त्यसरी नै पालिकाबाट चयन भएर आएका प्रतिनिधि प्रदेशस्तरीय नमूना युवा संसदमा अभ्यास गरिरहेका हुन् ।

स्थानीय समस्याबारे नीति निर्माण हुने ठाउँ संसदमा कसरी विषयबारे जानकारी दिने, सरकारबाट तत्काल कसरी समस्या समाधानका लागि पहल गर्ने, त्यसबारे प्रयोगात्मक सिकाईका लागि युवालाई संसद अभ्यास दिइएको छ ।

अभ्यास कार्यक्रममा सहभागि पर्वत मोदी गाउँपालिकाका मदन शर्मा उत्साही देखिन्थे । उनी सत्तापक्षका तर्फबाट युवा संसदमा सहभागि छन् । नागरिकले पालना गर्नुपर्ने नियम, कानुन निर्माणबारे आफूलाई अभ्यासबाट प्रशस्त ज्ञान मिलेको शर्माले बताए ।

‘विधेयकको मस्यौदा कसरी तयार हुन्छ । कानुन निर्माणमा सांसदको भूमिका कस्तो हुने रहेछ भन्नेबारे थाहा पाए,’ उनले थपे, ‘सत्तापक्षमा हुँदा सरकारको कामलाई कसरी प्रचारात्मक बनाउने पनि जानियो । सत्तापक्षकै सांसदले सरकारको धेरै आलोचना गर्न नहुने रहेछ । शसक्त देखाउनका लागि भएपनि सरकारको विरोध सत्तापक्षमै बसेर गर्न नहुँदो रहेछ ।’

पर्वत कुश्मा नगरपालिकादेखि आएकी प्रकृति शर्मा अभ्यास कार्यक्रममा निकै जुझारु देखिइन् । उनी प्रतिपक्षको रुपमा सरकारको आलोचना गर्न तम्सिइन् । सुन तस्कर र भ्रष्टलाई युवा सरकारले संरक्षण गरिरहेको आरोप लगाइन् ।

अभ्यास कार्यक्रमले आत्मविश्वासी बनेको उनले बताइन् । प्रतिपक्षले सरकारको कामलाई आलोचनात्मक दृष्टिबाट हेर्नुपर्ने शर्माले सुनाइन् । प्रतिपक्षको रचनात्मक सुझावले सरकारलाई जवाफदेही बनाउन जोड पुग्ने उनले विश्वास बटुलेकी छन् ।

४ दिने प्रशिक्षणमा युवाहरुलाई बैठकमा पालना गर्नुपर्ने नियमहरु, प्रस्ताव दर्ता, सम्बोधनका क्रममा बोलिने भाषाबारे प्रशस्त जानकारी दिइने राष्ट्रिय युवा परिषदका उपसचिव धुव्रराज पौडेलले जानकारी दिए ।

एक वर्षसम्म कार्यवधि भएको युवा संसदबाट दीक्षित युवाहरुलाई आगामी दिनमा सामाजिक क्षेत्रमा स्वयंसेवक स्वरुप परिचालन गर्न सहज हुने विश्वासका साथ कार्यक्रम सञ्चालनमा ल्याइएको उनले बताए ।

देशको कानुन, नीति, ऐन तथा वार्षिक कार्यक्रम र व्यवस्थापिका संसदबाट सरकारको काम कारवाहीलाई नियन्त्रण सम्बन्धी प्रशिक्षणमा युवाहरुले अभ्यास गर्ने राष्ट्रिय युवा परिषद सदस्य दिलीप न्यौपानेले जानकारी दिए ।

‘धेरै भन्दा धेरै युवाहरुलाई संसदीय अभ्यासबारे जानकारी दिने हो,’ प्रशिक्षक समेत रहेका न्यौपानेले भने,’ प्रशिक्षक समेत रहेका न्यौपानेले भने, ‘प्रशिक्षणमा युवाहरुले सामाजिक विषयलाई कसरी राष्ट्रिय मुद्दाको रुपमा उठान गर्न सकिन्छ भन्ने समेत अभ्यासमा सिक्न पाउँछन् ।’

सहभागिमध्ये ५० प्रतिशत महिला छन् । समान सहभागिता र समान अधिकारकाबारेमा कुरा गरिरहँदा अहिल्यैदेखि युवाहरुमा त्यसकिसिमको प्रभाव पार्न युवा संसद अभ्यासले दूरगामी सकारात्मक प्रभाव पार्नेमा उनको भनाइ छ ।

अभ्यासमा युवाहरुले सार्वजनिक महत्वको प्रस्ताव दर्ता, प्रश्नोत्तर, विधेयकमाथि छलफल, कानुन पारित, मतदान लगायतका संसदीय पद्दतिमा हुने सम्पूर्ण प्रक्रिया बुझ्ने छन् ।

तपाईको प्रतिक्रिया