भलाममा मदिरा परामर्श र उपचार केन्द्र

समाधान संवाददाता २०७६ जेठ २९ गते १२:०६

समाधान संवाददाता
पोखरा

कम्युनिटी सपोर्ट गु्रप हेरचाह ग्राम अन्तर्गत पोखरा महानगरपालिका २० भलाममा लागुऔषध तथा मदिरा परामर्श र उपचार केन्द्र भवन निर्माण गरिएको छ । लागुऔषध तथा मदिरा परामर्श र उपचार केन्द्र भवनको मंगलबार धार्मिक गुरु स्वामी पण्डिता आनन्दले उद्घाटन गरे ।

२ तले उक्त भवनको लागत करिव १ करोड रहेको छ । ८ रोपनी ९ आना क्षेत्रफलमा बन्ने जमीन १ दशक अगाडि १० लाख रुपैयाँमा खरिद गरिएको कम्युनिटी सपोर्ट गु्रपका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । उनका अनुसार उक्त जमीन कम्युनिटी सपोर्ट ग्रुपले महायज्ञ गरी उठाएको करिव ४५ लाख मध्येबाट १० लाखमा जमीन खरिद गरिएको हो ।

Advertisement

४० जनाको क्षमता रहेको केन्द्रमा हाल १७ जनाले उपचार गराइराखेको सपोर्ट ग्रुपका प्रोग्राम म्यानेजर लाल गुरुङले जानकारी दिए । भवन निर्माणका लागि धार्मिक गुरु स्वामी आनन्दले २० लाख सहयोग गरेका छन् । खास गरी यस क्षेत्रको शिक्षा स्वास्थ्यमा सहयोग गर्दै आएका आनन्दले कम्युनिटी सपोर्ट गु्रपलाई पनि भवन निर्माण सहयोग गरेका हुन् ।

कार्यक्रममा गुरु आनन्दले भवनको पूर्ण सदुपयोग गर्न आग्रह गरे ।

Advertisement

‘म सँग पैसा भएर सहयोग गरेको होइन सवैले सहयोग गरेको रकम यहाँ दिएका हौं’ उनले भने, ‘यहाँहरुले राम्रो गर्दै जानुहोस् सहयोग गर्दै जानेछौं ।’ पोखरा २० का वडाध्यक्ष सिम गुरुङले राज्यले गर्ने काम संघ संस्थाले गरेको भन्दै आभार व्यक्त गरे । ‘कम्युनिटी सपोर्ट गु्रपले हाम्रै वडामा आएर उदाहरणिय काम गरेको छ’ वडाध्यक्ष गुरुङले भने, ‘तपाईहरुको हरेक काममा वडाको पूर्ण साथ र सहयोग रहन्छ ।’

स्वामी आनन्द फाउन्डेसन अन्नपूर्णका संयोजक जगन गुरुङले धार्मिक गुरु स्वामी ऊःपण्डिता आनन्दले अन्नपूर्ण क्षेत्रमा ५ करोड बढी आर्थिक सहयोग गरिसेकेका छन् । ‘यस क्षेत्रको शिक्षा स्वास्थ लगायतका क्षेत्रमा उहाँको सहयोग अतुलनिय छ’ उनले भने, ‘फाउन्डेसनले समन्वय गर्ने काम मात्रै गरेको छ ।’

कार्यक्रममा कम्युनिटी सपोर्ट गु्रपका संरक्षक तथा एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्वमोहन गौचन, कम्युनिटी सपोर्ट ग्रुपका संरक्षक सुन्दर गुरुङले समाजको विकृत विसंगती न्यूनीकरण गर्न संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए । कम्युनिटी सपोर्ट ग्रुपका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव रामचन्द्र पोख्रेलले स्वागत र मौसम गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया