‘मदन भण्डारी साँझ’ असार १३ मा

समाधान संवाददाता २०७६ असार ४ गते १६:१९

समाधान संवाददाता
पोखरा

जननेता मदन भण्डारीको ६७ औं जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसन कास्कीले मदन भण्डारी साँझ गर्न लागेको छ । मदन भण्डारीका दर्शन, विचार र योगदानलाई जनतामाझ पुर्‍याउने उद्देश्यले स्थापित फाउन्डेसनले असार १३ गते पोखरा उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम गर्न लागेको हो ।

प्रतिष्ठान कास्कीका अध्यक्ष माधव बास्तोलाले कार्यक्रममा लोकदोहोरी एवं हाँस्य कलाकार र नृत्य प्रस्तुति हुने जानकारी दिए । कार्यक्रममा सांस्कृतिक, आर्थिक, प्राविधिक, खेलकुद र उद्यम गरी ५ विधामा योगदान पुर्‍याएका महानुभावलाई सम्मान गरिने उनले बताए । सम्मान गर्ने व्यक्ति छनोटका लागि पुण्यप्रसाद पौडेलको संयोजकत्वमा दिलीपविक्रम शाही, तेजनारायण अधिकारी सदस्य रहेको समिति समेत गठन भएको छ ।

Advertisement

कार्यक्रममा लोकदोहोरीतर्फ प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, तारापति सुवेदी, जीवन दाहाल, शंकरबिरही गुरुङ, सुरेन्द्र गुरुङ, कृष्ण भण्डारी, सरला पाण्डे, लक्ष्मी नेपाली, सविना गुरुङ लगायतको प्रस्तुति रहनेछ । हाँस्य कलाकारतर्फ राजा राजेन्द्र, पुर्खे बा (पुरुषोत्तम भण्डारी) तथा १ खुट्टाले नृत्य प्रदर्शन गर्ने रमा न्यौपानेसहितका स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारले नृत्य प्रस्तुत गर्ने अध्यक्ष बास्तोलाले जानकारी दिए ।

जिल्ला स्तरीय वक्तृत्वकलामा उत्कृष्ट ३ जनाले मैले चिनेको मदनको विषयमा प्रस्तुति गर्ने कार्यक्रम छ ।

Advertisement

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख प्रमुख अतिथि रहने समारोहमा गण्डकी प्रदेशका आदिवासी जनजातिका सांस्कृतिक झाँकी, लोकगीत, लोकनृत्यका अलावा भाषा, भेषभूषाको प्रदर्शनी गरिनेछ ।

‘कम्युनिस्ट पार्टी भूमिगत भएका बेला कास्कीका सेल्टरदाता, आन्दोलनका घाइते, अपांग, बेपत्ता तथा सहिद परिवारका व्यक्तिको पहिचान र दस्तावेजीकरण गरिने छ,’ अध्यक्ष बास्तोलाले भने, ‘मदन भण्डारीका बारेमा युवाबीच रचनात्मक कार्यक्रमका साथै महिला उत्पीडितको व्यक्तित्व र नेतृत्व विकासको कार्यक्रम ल्याउने तयारी गरेका छौं ।’ प्रतिष्ठान कास्कीले १ वर्षे कार्ययोजना बनाएर रचनात्मक कार्यक्रम गर्न लागेको उल्लेख गर्दै अध्यक्ष बास्तोलाले प्रशिक्षण तथा स्कुल चलाएर कास्कीका १ हजार जनालाई प्रशिक्षण दिने बताए । उनले कास्कीका १ हजार जनालाई नेतृत्व विकास र स्वरोजगारसम्बन्धी तालिम दिने बताए ।

तपाईको प्रतिक्रिया