पोखरा महानगर नीति तथा कार्यक्रमः बहुतले पार्किङ, पातले छाँगोमा सिसा पुल

समाधान संवाददाता २०७६ असार ९ गते १२:१६

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिकाको अहिलेको प्रमुख समस्या नै पार्किङ बनेको छ । दिनानुदिन बढिरहेको सवारी साधनको संख्याले स्मार्ट महानगरलाई कै खिल्ली उडाइरहेको भान हुन्छ । पार्किङस्थल बनाउन खुला क्षेत्र नहुनु र पार्किङ स्थल बनाएका भवनमा व्यापार गर्ने थलोका रुपमा प्रयोग गर्न थालेपछि पार्किङ महानगरको ठूलो टाउको दुखाइको विषय बन्दै गइरहेको छ ।

पार्किङको समस्या मुख्य सडकमा मात्रै हुँदैनन् । पछिल्लो समय मुख्य बजार क्षेत्रका शाखा बाटोमा पनि पार्किङ हुन थालेका छन् । शाखा बाटो तथा फुटट्र्याकमै सवारी साधन पार्किङ हुन हिँड्नै अप्ठेरो पर्न थालको पैदलयात्रीका गुनासो छ ।

Advertisement

पोखरा महानगरले पार्किङ समस्याका कारण अस्तव्यस्त हुने सडकलाई व्यवस्थित गर्ने नीति लिएको छ । अव्यवस्थित पार्किङ र सडकका जाम घटाउन महानगरले बहुतले पार्किङ भवन तथा आकासे पुल बनाउने भएको छ । महानगरको आइतबार भएको पाँचौ मेयर मानबहादुर जिसीले आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रममार्फत पार्किङलाई व्यवस्थित गर्ने जनाएका हुन् ।

पार्किङ समस्या बढिरहेका कारण बहुतले पार्किङ सुविधादेखि पार्किङसहितको भवन बनाउने व्यापारिक भवनलाई करमा छुट दिने महानगको योजना छ । ‘दिनानुदिन सवारी चाप बढिरहेको छ । मुख्य सहरी क्षेत्रमा भवन नक्सा पासको स्वीकृति लिँदा अनिवार्य रुपमा अन्डरग्राउन्ड पार्किङ बनाउनुपर्ने महानगरले नीति लिएको छ,’ मेयर जिसीले भने । अन्डरग्राउन्ड पार्किङसहितको भवन बनाउनेलाई एकतलासम्मको राजश्वसमेत मिनाहा गरिने उनले बताए ।

Advertisement

व्यक्तिगत वा संस्थागत रुपमा पार्किङस्थल तथा भवन बनाउनेलाई पनि नक्सापासको दस्तुर मिनाहा गरिने महानगरले नीति ल्याएको छ । ‘व्यक्तिगत तथा संस्थागत खाली जग्गाहरुको पहिचान गरी त्यस्ता जग्गाहरुलाई सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार कमर्सियल पार्किङको रुपमा प्रयोगमा ल्याइने छ,’ मेयर जिसीले भने ।

पृथ्वी राजमार्ग हुँदै पोखरा आउजाउ गर्ने साना तथा ठूला सवारी साधनले गर्दा पोखराका मुख्य सडकमा जाम हुन थालेको छ । पृथ्वीचोक भएर दैनिक लाखौं सवारीसाधन ओहोरदोहोर गर्ने तथ्यांक छ । ती सडक जाम घटाउन महानगरले आकासे पुल आउने आर्थिक वर्षभित्रै सक्ने योजना बनाएको छ । ‘साथै ओभरहेड र सबवे संरचना निर्माण गर्न अध्ययन, डिजाइन काम अघि बढाइनेछ,’ मेयर जिसीले भने ।

सार्वजनिक यातायातमा वैज्ञानिक भाडा दर कायम गरेर ई–टिकेटिङ लागू गरी मेट्रो कार्ड मार्फत् भाडा बुझाउन मिल्ने गरी आवश्यक प्रबन्ध मिलाइने मेयर जिसीको भनाइ छ । सहरका मुख्य चोकहरु महेन्द्रपुल, पृथ्वीचोक र सिर्जनाचोकमा ट्राफिक लाइट राखिने भएको छ ।

महानगर क्षेत्रको व्यवस्थित, दीर्घकालीन एव वातावरणमैत्री एवं दीगो विकासको लागि भू—उपयोग गुरु योजना तर्जुमा गरी आवास क्षेत्र, सार्वजनिक क्षेत्र, खुल्ला एवं हरियाली क्षेत्र, सार्वजनिक पार्क, वन, कृषि तथा सुरक्षित क्षेत्रको पहिचान गरी कार्यान्वयनमा ल्याइने नीति गाउँपालिकाले लिएको छ ।

‘लेक टु लेक, केभ टु केभ’ जोड्ने सडकको प्राविधिक सर्वेक्षण गरी नमुना मार्गको रुपमा अगाडि बढाइने महानगरले बताएको छ । पोखरा सभागृहको मर्मत गर्ने र अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माणको प्रक्रिया अगाडि बढाइने कार्यक्रम मेयर जिसीले सुनाए । सेती गर्जलाई साहासिक पर्यटन पूर्वाधारको रुपमा विकास गर्ने योजना महानगरले ल्याएको छ । यसै वर्ष पातलो छाँगोमा सिसा पुल निर्माण गर्ने योजना महानगरको छ ।

औद्योगिक क्षेत्र र वैकल्पिक ल्यान्डफिलको स्थापना

मेयर नमुना पूर्वाधार योजना कार्यक्रम सञ्चालन गरी महानगरभित्रका सडकलाई २ वर्ष भित्रमा नमुना सडकको रुपमा विकास गरिने मेयर जिसीले बताए । लामे आहालमा निर्माण गरिने आधुनिक बसपार्कको डिपिआर तयार भइसकेकाले गण्डकी प्रदेश सरकारसँग सहकार्य गरी यस आर्थिक वर्षमा निर्माण कार्य सुरु गरिने बताइएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित तल्लोपुँडीमा औद्योगिक क्षेत्र स्थापना गर्ने महानगरको योजना छ । कर्मचारीलाई वार्षिक एक पटक सात दिन कार्यालयले तोकेको समयमा खर्च सुविधा सहितको अनिवार्य भ्रमण बिदाको सुरुवात गरी आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने नीति पोखरा महानगरले लिएको छ ।

महानगर क्षेत्रभित्र वैकल्पिक ल्यान्डफिल साइट छनोट गर्ने गर्ने र फोहोरलाई मोहोरमा परिणत गर्न महानगरमा संकलित फोहोरबाट ऊर्जा तथा कम्पोस्ट मल बनाउने कार्य अगाडि बढाउने मेयर जिसीले बताए ।

सबै तालमा पैदलमार्ग
पोखरा महानगरले ९ वटै तालको वरिपरी पैदल मार्ग निर्माण गर्ने भएको छ । सबै तालको अतिक्रमण रोकी सौन्दर्यीकरणका लागि प्रदलमार्ग बनाउने नीति महानगरले लिएको छ ।
फेवाताल जलाधार क्षेत्र संरक्षणका लागि सिल्ट्रेसन ड्याम निर्माण कार्य यस वर्षभित्र सक्ने महानगरको योजना छ ।

शान्तिवन बाटिकालाई बोटानिकल गार्डेनमा रुपमा विकास गर्ने, सुन्दरीडाँडास्थित पचभैंया सामुदायिक वनक्षेत्रलाई जैविक विविधता संरक्षण केन्द्रको रुपमा विकास गरी सुनाखरी संरक्षण क्षेत्र पञ्चासेको विकास एंव प्रवद्र्घन गर्ने महानगरले जोड दिएको छ ।

एकीकृत जग्गा विकास योजना तयार पारी स्विकृति नलिएसम्म कित्ताकाट र नक्सापास तथा अन्य भौतिक संरचनाको निर्माणको सिफारिस तथा स्विकृति रोक्का राख्ने नीतिपोखराले लिएको छ महानगरले कृषि क्लब गठन गरी ‘एक हप्ता एक दिन खेतबारीमा केही छिन’ अभियान मार्फत् श्रमको वातावरण तयार गर्ने बताएको छ ।

खेल परिषद र प्रज्ञा प्रतिष्ठान गठन
महानगर युवा परिषद् तथा खेलकुद विकास समिति गठन हुने भएको छ । गोस्तेघाट, भण्डारढिक, आर्बा र विजयपुरमा आधुनिक खेल मैदान निर्माण गर्नुका साथै वडा नम्बर २० मा हाइअल्टिच्युट खेल मैदान निर्माण गर्ने महानगरका मेयर जिसीले योजना राखे ।

‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै टोल तथा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने महानगरले कार्यक्रम ल्याएको छ । पोखरा महानगरपालिकाले पनि प्रज्ञा प्रतिष्ठान गठन गर्ने नीति लिएको छ । भाषा, संस्कृति, कला र साहित्यको संरक्षण गर्दै महानगरीय प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने मेयर जिसीले बताए ।

आइतबार प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि छलफल सोमबार हुनेछ । मंगलबार महानगरले नगरसभामा बजेट प्रस्तुत गर्नेछ । आव ०७६÷७७ का लागि महानगरले साढे ७ अर्बको बजेट ल्याउने तयारी गरिरहेको प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।

भवन नक्सापास स्वीकृति लिँदा अनिवार्य अन्डग्राउन्ड बनाउन महानगरले तोकेका सडक
.तालचोक—विजयपुर–अमरसिंहचोक–पृथ्वीचोक–जिरोकिमीहुँदै हल्लनचोक सडक
. पृथ्वीचोक – मुस्ताङचोक – बिरौटा हुँदै छोरेपाटन ।
.पृथ्वीचोक—नयाँबजार–महेन्द्रपूल—पालिखेचोक—नदीपुर—केआइसिंहपुल—लामाचौर—बाटुलेचोर—महेन्द्रगुफा—चमेरेगुफा ।
. न्युरोड सडक ।
. लेकसाइड—खहरे—हल्लनचोक—बाराहीचोक—सहिदचोकहुँदै मुस्ताङचोक सम्म ।
.बिरौटाचोक—राष्ट्रबैंकचोक—रत्नचोक–सिर्जनाचोक—सिद्धार्थचोक—बगर—ट्याक्सीचोक
.जिरो किमीदेखि हरिचोकहुँदै हेम्जा सुइखेतसम्म ।
.महेन्द्रपुल–रानीपौवा–हस्पिटलचोकहुँदै अमरसिंहचोक ।
.गौरीमार्ग—हस्पिटलचोक– बुद्धचोकहुँदै रामबजार सम्म ।
.घलेचोकबाट वन क्याम्पससम्मको सडक ।
. रानीपौवादेखि भद्रकालीहुँदै आर्बा साझाचोक सम्म
. तालचोक—बेगनास सडक सम्म ।

तपाईको प्रतिक्रिया