फेदीखोलाको बजेट ३० करोड

समाधान संवाददाता २०७६ असार १२ गते १४:५९

समाधान संवाददाता
पोखरा

स्याङ्जाको फेदीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि ३० करोड २० लाख ३ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँसभामा मंगलबार उपाध्यक्ष देवी थापाले पुँजीगततर्फ १३ करोड २२ लाख ६६ हजार विनियोजन गरिएको जानकारी दिइन् । चालुतर्फ नेपाल सरकारको सर्सत अनुदानबाट ११ करोड ८६ लाख र निर्सततर्फ ५ करोड ११ लाख गरी १६ करोड ९७ लाख ३७ हजार विनियोजन गरिएको छ ।

अनुमानित खर्चमध्ये नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ७ करोड ५ लाख तथा ससर्त अनुदानतर्फ ११ करोड ८६ लाख छ । प्रदेश सरकारको समानीकरण अनुदानतर्फ १ करोड २० लाख ९४ हजार र समपुरक अनुदान १ करोड छ । राजस्व बाँडफाडबाट प्राप्त हुनेतर्फ संघीय सरकारको ४ करोड ५१ लाख, प्रदेश सरकारको १६ लाख १६ हजार, आन्तरिक आम्दानीतर्फ ७० लाख र बाँकी आन्तरिक मौज्दात लगायतबाट व्यहोरिने थापाले जानकारी दिइन् ।

Advertisement

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले विकासको पहिलो सूचक नै शिक्षा र भौतिक पूर्वाधार भएकाले गाउँपालिकाले यो बजेटमा यिनलाई महत्व दिएको बताए । ‘गाउँपालिकाको बिशेष पहलमा गण्डकी प्रदेश सरकारको महत्वपूर्ण योजना अन्तर्गत गाउँपालिकाको वडा नं. १ गुर्दुममा प्राविधिक महाविद्यालय बनाउन लागेकाले हामी उत्साहित छौं,’ सुवेदीले भने ।

बजेटको ३६ प्रतिशत शिक्षालाई छुट्याइएको छ । शैक्षिक गुणस्तर र पुर्वाधार विकासका लागि १० करोड ४५ लाख ३३ हजार विनियोजन गरिएको हो । नयाँ आर्थिक वर्षबाट विद्यालयलाई पेपरलेस बनाउने उद्देश्य अनुरुप प्रत्येक विद्यालयमा शैक्षिक व्यवस्थापन प्रणाली सफ्टवयर लागु गरिनेछ । प्रत्येक शिक्षकलाई प्रविधिमैत्री र सफ्टवयरमा निपूर्ण बनाउन ‘१ शिक्षक १ ल्यापटप’ कार्यक्रम सुरु गरिनेछ । गाउँपालिकामा रहेका २६ वटा सामुदायिक विद्यालयका १ सय ५० शिक्षकलाई गाउँपालिका, विद्यालय र शिक्षकको साझेदारीमा ल्यापटप प्रदान गरिनेछ । लगानीको ३० प्रतिशत अनुदान गाउँपालिकाले प्रदान गर्ने र ७० प्रतिशत विद्यालयले साझेदारी गर्नेछ । गाउँपालिकाले आफ्नै लगानीमा ८ वटा माध्यमिक विद्यालयमा वार्षिक २६ लाख खर्च गरेर कम्प्युटर शिक्षक राखेको छ ।

Advertisement

स्वास्थ्यतर्फ नयाँ आर्थिक वर्षमा २ करोड ३५ लाख ५२ हजार रकम विनियोजन गरेको छ । गाउँपालिकाले यस पटक गर्भवती महिलाका लागि मेडिक मोवाइल प्रविधिबाट नियमित स्वास्थ्य स्याहार तथा पोषण कार्यक्रम लागु गर्ने भएको छ । घरदैलोमा पुगी ज्येष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम, प्रयोगशाला र विशेषज्ञसहितको घुम्ती स्वास्थ्य शिविर, विपन्न वर्गलाई निशुल्क स्वास्थ्य बिमा, स्वास्थ्य बालबालिका प्रतियोगिता, स्वास्थ्य प्रयोगशाला स्तरोन्नति, एम्बुलेन्स सञ्चालन लगायतका कार्यक्रम हुने भएका छन् ।

सडक पूर्वाधारतर्फ ६ करोड ६० लाख ५० हजार बिनियोजन भएको छ । खड्केटारी–पञ्चासे–दोबिल्ला सडक, कुभिण्डे मट्टिखान नुवाकोट, सर्केटारी गल्याम पञ्चासे सडक र फेदीखोला कालाभैरव नुवाकोट सडक स्तरोन्नति गरिने गाउँपालिकाले जनाएको छ । कृषितर्फ १ करोड ६० लाख ८० हजार बजेट बिनियोजन भएको छ । गाउँपाालिकाका विभिन्न गाउँलाई नमुना कृषि गाउँ बनाउने योजना अनुरुप १ घर १ टनेल, कागती पकेट क्षेत्र, तरकारी पकेट क्षेत्र, मकैको विउ उत्पादन, नमुना युवा बाख्रा गाउँ, मौरी पकेट क्षेत्र, असारे आलु खेती प्रबद्र्धन लगायतका कार्यक्रम छन् ।

कृषिको व्यवसायिकतामा जोड दिन गाउँपालिकामा हाइटेक नर्सरी स्थापना, कृषक उपज संकलन केन्द्र स्थापना गर्ने कार्यक्रम पनि छन् । कृषि प्रविधि अन्र्तगत लिफिटिङमार्फत सिंचाइ, साना सिंचाइ कार्यक्रम पनि सञ्चालन हुने छन् । उद्यमी बनाएर रोजगारी सिर्जना गर्न ३५ लाख बढी बजेट छ । युवा रोजगार बैंक, युवा उद्यम कार्यक्रमले यसअघि नै सफलता पाइसकेकाले तिनलाई निरन्तरता दिइनेछ । गाउँपालिकाले दीर्घकालीन योजनाको रुपमा लिएको भालुपहाड एकीकृत विकास पर्यटन योजनासहित अन्य पर्यटनका विधालाई समेटेर ६८ लाख बजेट छुट्याएको छ ।

तपाईको प्रतिक्रिया