म्यार्दी पुल २० दिनभित्र पुननिर्माण गर्न मुख्यमन्त्रीको निर्देशन

समाधान संवाददाता २०७६ असार १९ गते १२:५३

समाधान संवाददाता, लमजुङ

लमजुङ र मनाङको सिमाना म्यार्दी खोलामा ८ असारमा आएको बाढीले बगाएको मोटरेवल पुल २० दिनभित्र पुननिर्माण गरिने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २ जिल्लाको सडक सम्बन्ध जोड्न र अवरुद्ध भएको यातायात सेवा सुचारु गर्न तत्काल पुल पुनर्निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

म्यार्दी खोलामा पुल बगाएको स्थानको स्थलगत अवलोकन गर्न मुख्यमन्त्री गुरुङले भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वर मरहट्टा लगायतलाई लगेका थिए । स्थलगत अवलोकन पश्चात मुख्यमन्त्री गुरुङले अस्थायी संरचना बनाएर तत्काल यातायात तथा ढुवानी सेवा चालु गर्न निर्देशन दिएका हुन् ।

Advertisement

‘जनताले दुख पाएको प्रदेश सरकार टुलुटुलु हेरेर बस्न सक्दैन,’ उनले भने, ‘बेलिब्रिज पुल जडान गरेर तत्काल यातायात चालु गर्नुस् ।’ स्थायी पुल निर्माण गर्न संघीय सरकारसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ छ । राष्ट्रिय राजमार्गमा पर्ने यस सडक संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्छ । संघीय सरकारको अधिकार क्षेत्रभित्र भएपनि प्रदेश सरकारले जनतालाई तत्काल राहत दिन पुल पुन निर्माण गर्न लागेको भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताए ।

गत असार ८ गते आएको बाढी र पहिरोले पुल माथि थुनिएको र अचानक फुट्दा पुल नै बगाएको स्थलगत अवलोकनमा देखिएको छ । मन्त्री बस्नेतका अनुसार पुलको पिलर वरीपरी रेट्रोफिटिङ गर्ने र बेलिब्रिज राखिनेछ । जसका लागि प्राविधिक डिजाइन भइसकेको उनको भनाइ छ ।

Advertisement

गत वर्ष निर्माण सकिएको यो पुल बनाउन २ करोड खर्च भएको थियो । पुल बाढी र पहिरोले बगाएपछि स्थानीयले काठको पुल हालेर खोला वारपार गरिरहेका छन् । काठको सामान्य पुलबाट मानिस र खोलाबाटै गाडी तार्नुपर्ने हुँदा अत्यन्त जोखिम देखिएको छ ।

नेपाली सेनाले निर्माण गरेको बेसीसहर चामे सडकको ३५ किलोमिटरको दुरीमा पर्ने म्यार्दी खोलामा २०६४ मा काठेपुल बनाई यातायात सञ्चालन गरिएको थियो । उक्त पुल २०७२ जेठमा जीर्ण भई भाँचिएपछि स्टिल ब्रिज राखिएको थियो । सो पुल अघिल्लो वर्ष असार ३१ मा आएको बाढीले वगाएपछि पुन अर्काे पुल साउनमा बनाइएको थियो । अब भने यसरी पहिलो र बाढीले बगाइरहने अवस्था नआउने गरी पुल स्थायी पुल बनाइने मुख्यमन्त्री गुरुङले बताए ।

तपाईको प्रतिक्रिया