सत्यवतीलाई रनिङसिल्डको उपाधि

समाधान संवाददाता २०७६ असार २६ गते १२:१०

कृष्ण न्यौपाने
दमौली

जिल्ला खेलकुद विकास समिति तनहुँले आयोजना गरेको ११ औं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उपाधि दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले जितेको छ । मंगलबार भएको प्रतियोगितामा २९ पदक जित्दै सत्यवतीले रनिङसिल्डको उपाधि जितेको हो । सत्यवतीले १७ स्वर्ण, ८ रजत र ४ कास्य पदक प्राप्त गरेको छ । ११ औं रनिङसिल्डको उपाधि जितेसँगै सत्यवतीले लगातार ३ पटक प्रतियोगिता जितेर सिल्ड आफ्नो पक्षमा पारेको छ ।

प्रतियोगितामा १८ पदक जितेर म्याग्दे गाउँपालिका २ जामुनेस्थित राधा माध्यमिक विद्यालय द्वितीय हुन सफल भएको छ । राधाले ५ स्वर्ण, ८ रजत र ५ कास्य पदक जितेको छ । प्रतियोगितामा पालिकास्तरीय कपको उपाधि व्यास नगरपालिकाले प्राप्त गरेको छ । विजेतालाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, खेलकुद विकास समितिका अध्यक्ष ऋषिराम भुषाल लगायतले पुरस्कार वितरण गरे । सोमबारदेखि सुरु भएको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, कँराते, तेक्वान्दो र उस्सुका खेल खेलाइएको थियो ।

Advertisement

जिल्लास्तरीय प्रतियोगिताबाट प्रदेशमा सहभागी हुनका लागि ७६ खेलाडी छनोट गरिएको समितिका सचिव शिवहरि पण्डितले जानकारी दिए । जिल्लाबाट छनोट भएका खेलाडीले असार २६ र २७ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति र प्रदेशबाट छनोट भएका खेलाडीले असार २९, ३० र ३१ गते काठमाडौंमा हुने केन्द्रीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया