विपत्तिबाट पाठ सिक्नुपर्छ
मौसम परिवर्तनशील छ । प्रकृतिको चक्रसँगै फेरिन्छ मौसम । थाहा छ बर्खामा पानी पर्छ । खोलानाला बढ्छन् । बाढी–पहिरो जान्छ । यसरी बढेका खोलानाला र झरेका पहिरोले पक्कै पनि जनजीवनलाई असहज बनाउँछन् नै । हो, बर्खाको पानी रोक्न सकिन्न । हामी चेतनशील प्राणी भएकै कारण भेला अनि बाढी–पहिरोबाट हुने क्षति त कम गर्न सकिन्छ नि । तर अहिले उल्टो भएको छ । खोलानाला आफ्नो बाटोबाट बग्न पाउँदैनन् ।
तालतलैया मिचिएका छन् । विकासका नाममा जताततै डोजर कुदाइएको छ । त्यसको परिणाम हामीले नै खेप्नु परेको छ । विपत्ति बाजा बजाएर पनि आउँदैन । अनि ठूलो सानो पनि त भन्दैन । प्राकृतिक विपदलाई रोक्न त पक्कै सकिँदैन । तर त्यसबाट हुने क्षति कम गर्न भने हामीहरुको भूमिका महत्वपूर्ण हुन्छ । शनिबार बिहानदेखि परेको पानीले राजधानी काठमाडौं, आसपासका जिल्ला र तराईमा ठूलै क्षति पुर्यायो । पहाडी क्षेत्रमा बाढी–पहिरो त तराईमा डुबानले ठूलै विपत्ति पार्यो । तराई त खुला ठाउँ हुँदा हुँदै पनि अत्यधिक वर्षाले डुबानमा पार्यो । तर काठमाडौंको हकमा सबैभन्दा बढी जिम्मेवारी स्थानीय नै हुन् ।
काठमाडौंमा त्यति धेरै खोला–नाला छन् । अधिकांशको प्राकृतिक वहाव परिवर्तन गरिएको छ । सीमाना मिचिएको छ । बाँध बाँधिएको छ । त्यतिमात्र कहाँ हो र खोलै मिचेर घर ठड्याइको छ । टुकुचा खोलाको त अहिले नापीमा नक्सा नै भेटिँदो रहनेछ । यसबाट प्रस्ट हुन्छ कि विपत्ति प्रकृतिका कारण मात्र होइन, हाम्रो कारण निम्तिएको रहेछ भन्ने । यसका लागि स्थानीय त जिम्मेवार हुनै पर्छ । त्यो भन्दा बढी नीति निर्माण गर्ने तह र अनुगमन गर्ने प्राविधिकले लिने कि नलिने ? मुलुकका समृद्धिको आधार पर्यटन भन्ने अनि मन्दिरको सहर राजधानी काठमाडौंको यो हालत ? यो हालत देखाउनकै लागि विदेशी पाहुनालाई डाक्ने हो र ? पुनर्निमाण भनेर काठमाडौंमा काम थालेको पनि वर्षौं भइसक्यो । तर एउटा खाल्डो नपुर्दै अर्कोतिर खाल्डो खनिन्छ । अनि जहिले पनि अस्तव्यस्त । बर्खाको बेला त देखिहालियो कि १ दिनको झरीले पनि यति ठूलो असर पु¥यायो ।
शनिबार बिहानसम्मको रेकर्ड अनुसार २ दिनको बीचमा बाढी–पहिरोले २१ जनाको ज्यान गएको छ । गृह मन्त्रालयकै तथ्यांक केलाउने हो भने निकै भयावह अवस्था देखिन्छ । पछिल्लो ८ वर्षमा मात्रै बाढीपहिरोबाट २ हजार ३५ जनाले ज्यान गुमाएका छन् । बाढीबाहेक अन्य प्राकृतिक प्रकोपबाट ८ वर्षको अवधमिा १२ हजार ३ सय ५० जनाको मृत्यु भएको छ । यसमा २०७२ वैशाखको भूकम्पले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ ककक। पछिल्लो ३ वर्षको अवधिमा गण्डकी प्रदेशमा ७ सय ९३ वटा पहिरो गएको मन्त्रालयको तथ्यांक छ । यो प्रदेशका नवलपुर, कास्की र लमजुङ पहिरोमा निकै अगाडि छन् । माथि उल्लेख गरेजस्तै प्राकृतिक विपत्ति रोक्न सकिँदैन । तर यसबाट हुने क्षति कम गर्नका लागि हामीले उत्तिकै सजग हुनुपर्छ ।
तपाईको प्रतिक्रिया