शिक्षकलाई दोष दिने मौसम

समाधान संवाददाता २०७६ असार ३१ गते १५:५८

गौरी तमु

एसइईको नतिजा सार्वजनिक भएसँगै फेरि एकपटक दोषजति शिक्षकमाथि थोपरेर जिम्मेवार व्यक्ति र निकाय पानीमाथिको ओभानो भइरहेका छन् । यसपटक ४ लाख ५९ हजार २ सय ७५ विद्यार्थीले परीक्षा दिएकामा १४ हजार ७ सय ८८ जनाले ए प्लस ग्रेड ल्याए ।

तिनमा सामुदायिकतर्फका जम्मा २ हजार ७ सय ९२ जनामात्रै परेपछि सामाजिक सञ्जालदेखि विभिन्न रेडियो, टेलिभिजन र पत्रपत्रिकामा सामुदायिक विद्यालयका शिक्षकमाथि विगतझैं दोषारोपण गर्ने काम थालियो । शिक्षामन्त्रीदेखि शिक्षाविद् भनिने डाक्साब र मन्त्रालयका हाकिमसम्मले घाँटी दुख्ने गरी ‘शिक्षक जिम्मेवार भएनन्, राम्रो नतिजा दिन नसक्ने शिक्षक सेवाबाट बाहिरिए हुन्छ, शिक्षकको जवाफदेहिता खोइ ?’ भनिरहेका छन् ।

Advertisement

जिम्मेवारी र जवाफदेहिता शिक्षकको मात्रै हुने हो भने शिक्षा सम्बद्ध निकाय र व्यक्ति हुनु वा नहुनुको के औचित्य ? शिक्षक साँच्चै गैरजिम्मेवार भए, राम्रो पढाउन सकेका छैनन् भने वर्षभरि नियमनकारी निकायले के हेरेर बस्ने गर्छ ? उसले किन त्यस्ता शिक्षकलाई कारबाही गर्न नसकेको हो ? विद्यालयको नियमित अनुगमन र निरीक्षण कहाँ पुगेको छ ? भाषणमा नर्वे, अमेरिका, फिनल्यान्ड र ब्राजिलसम्मको उदाहरण दिन पछि नपर्ने हामी आफ्नै देशको विद्यालयको मूल समस्या पत्ता लगाउन नसकेर कुहिराको कागजस्तै भएका छौं ।

निजी विद्यालयमा कक्षा १ मा पुग्नपूर्व नै विद्यार्थीर्ले प्रि–नर्सरी, नर्सरी, एलकेजी र युकेजी गरी ४ वर्ष पढिसकेका हुन्छन् । उता, सामुदायिकका विद्यार्थीले जम्मा १ वर्ष बाल विकास केन्द्रमा खेलेका हुन्छन् । हामीले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्ने हो भने सबैभन्दा पहिले निजी र सामुदायिकका विद्यार्थीबीच कक्षा १ मा जानुपूर्व रहेको ३ वटा कक्षाको ‘ग्याप’ मेटाउन सक्नुपर्छ । गाउँगाउँमा आवासीय विद्यालयको सुविधा दिऔं, एसइईका बेला अधिकांश निजी विद्यालयका विद्यार्थीले १ वर्ष होस्टलमा बसेर परीक्षा तयारी गरेजस्तै वातावरण सामुदायिक विद्यालयका विद्यार्थीलाई पनि दिऔं अनि मात्रै निजी र सामुदायिक विद्यालयको नतिजाको तुलना गर्नु मनासिब हुन्छ । जगै कमजोर भएपछि घर बलियो हुने नै भएन तर यति गम्भीर समस्यालाई बेवास्ता गरेर दोषजति सधैं शिक्षककै थाप्लामा हालिरहने हो भने हाम्रो सामुदायिक विद्यालयको शिक्षा कहिल्यै उकालो लाग्न सक्दैन ।

Advertisement

हामीले बिर्सिरहेका छौं या सम्झन चाहन्नौं, स्तरीय नतिजा प्राप्तिका लागि शिक्षक, विद्यार्थी र अभिभावक ३ नै पक्षको उत्तिकै महत्वपूर्ण भूमिका हुने गर्छ । २४ घन्टामा बालबालिका १८ घन्टा परिवारसँग र ६ घन्टामात्रै विद्यालयमा हुन्छन् । त्यसैले तिनको पढाइमा पारिवारिक संस्कार र वातावरण, आमाबाबुको माया, घरको आर्थिक अवस्थाले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । विडम्बना, अधिकांश सामुदायिक विद्यालयका विद्यार्थी यी सन्दर्भमा पनि अभावमै हुन्छन् । अझंै सहरबजारका सामुदायिक विद्यालयका कतिपय विद्यार्थी अघोषित रूपमा घरेलु बाल मजदुरका रूपमा बसेका हुन्छन् । सामुदायिक विद्यालयलाई यस्तो परिवेशबाट आएका तिनै विद्यार्थीलाई १÷२ अंग्रेजी विषय थपेर टिकाउनु नै ठूलो उपलब्धि भइरहेको छ भने तिनलाई चाहिँ तिनै १÷२ पुस्तक किन्नसम्म हम्मेहम्मे छ ।

उनीहरू निजी विद्यालयका विद्यार्थीले झैं विषयअनुसार छुट्टाछुट्टै कापी ल्याउन सक्दैनन् । प्राक्टिकल र अन्य अतिरिक्त क्रियाकलापका लागि ल्याउनैपर्ने शैक्षिक सामग्रीसम्म किन्न सक्ने हैसियतका हुँदैनन् । अभिभावक सरकारले छात्रवृत्तिबापत दिने ४ सय रुपैयाँ लिन आउँदैनन् । त्यति रकम लिन धाउँदा ज्याला–मजदुरी गरेरै कमाइने ८ सयदेखि हजार रुपैयाँसम्म घाटा लाग्न सक्छ अनि साँझबिहान हातमुख जोड्नै समस्या हुन्छ ।

शिक्षकले विद्यार्थीको पढाइलाई लिएर अभिभावकसामु कयौं समस्या राख्नुपर्ने हुन्छ तर सामुदायिक विद्यालयमा निकै कम मात्रामा यस्तो सम्भव हुन्छ । प्रायः अभिभावक नयाँ शैक्षिक सत्रमा बालबालिकालाई भर्ना गरिदिएपछि अर्को वर्ष मात्रै विद्यालय टेक्न पुग्छन् । यो कुनै विकट गाउँको कथा होइन, पोखराजस्तो सहरका अधिकांश सामुदायिक विद्यालयको यथार्थ हो । छात्रवृत्तिको रकम लिन त नआउने अभिभावकले बालबालिकालाई शिक्षकले कसरी पढाइरहेका छन् भनेर चासो राख्ने दुख के गर्थे र ! चारै दिशाबाट सम्भावनाका ढोका बन्द भइसकेपछि मात्रै अभिभावक सामुदायिक विद्यालयको ढोका ढकढक्याउन पुग्ने हुन् । यस्तो कठिन परिवेशबाट आएका बालबालिकालाई अभिभावकीय जिम्मेवारीसहित पढाएका शिक्षकलाई निजीसरह नतिजा दिन सकेनन् भनेर गाली गर्नु न्यायसंगत हुन्न ।

एउटा शिक्षक जसले पूरै जीवन १ दिन कुर्सीमा नबसी पढाउँछ, टेबलमुनिबाट आर्थिक लेनदेन गर्दैन, न विश्वविद्यालयका प्राध्यापकले झैं ६ नम्बर ल्याएकालाई ९ थपेर ६९ पु¥याइदिने काम गर्छ, उसलाई नतिजाको अड्को थापेर सत्तोसराप गर्नु मानवीयता होइन । होलान्, कोहीकोही शिक्षक कामचोर होलान् तर सबैलाई एउटै घानमा हाल्नु हुन्न । निस्स्वार्थ भावले मैनबत्ती जस्तै जलेर ज्ञान बाँड्दै आएका तिनै शिक्षकले पढाएका सामुदायिकका २ हजार ७ सय ९२ विद्यार्थीले नै यसपालि ए प्लस ग्रेड ल्याएका हुन् नि ! अनि नतिजा बिग्रिनुमा तिनको मात्रै दोष कसरी भयो ?

यस्तो कठिन परिवेशबाट आएका बालबालिकालाई अभिभावकीय जिम्मेवारीसहित पढाएका शिक्षकलाई निजीसरह नतिजा दिन सकेनन् भनेर गाली गर्नु न्यायसंगत हुन्न । एउटा शिक्षक जसले पूरै जीवन १ दिन कुर्सीमा नबसी पढाउँछ, टेबलमुनिबाट आर्थिक लेनदेन गर्दैन, न विश्वविद्यालयका प्राध्यापकले झैं ६ नम्बर ल्याएकालाई ९ थपेर ६९ पु¥याइदिने काम गर्छ, उसलाई नतिजाको अड्को थापेर सत्तोसराप गर्नु मानवीयता होइन । होलान्, कोहीकोही शिक्षक कामचोर होलान् तर सबैलाई एउटै घानमा हाल्नु हुन्न । निस्स्वार्थ भावले मैनबत्ती जस्तै जलेर ज्ञान बाँड्दै आएका तिनै शिक्षकले पढाएका सामुदायिकका २ हजार ७ सय ९२ विद्यार्थीले नै यसपालि ए प्लस ग्रेड ल्याएका हुन् नि ! अनि नतिजा बिग्रिनुमा तिनको मात्रै दोष कसरी भयो ?

तपाईको प्रतिक्रिया