गोरखाको १ अर्ब बजेटमा पर्यटनलाई प्राथमिकता

समाधान संवाददाता २०७६ साउन १ गते १३:३१

मोहसिन अलि मियाँ
गोरखा

पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर गोरखा नगरपालिकाले झण्डै १ अर्बको बजेट सार्वजानिक गरेको छ । नगरप्रमुख राजनराज पन्तको अध्यक्षतामा मंगलबार भएको पाँचौ नगरसभामा उपप्रमुख विनाकुमारी श्रेष्ठले ९६ करोड ८० लाख २ हजार ४ सय ४० रुपैयाँ बराबरको बजेट सार्वजानिक गरेकी हुन् । उपप्रमुख श्रेष्ठले प्रस्तुत गरेको बजेटमा पर्यटन क्षेत्रको एकीकृत विकास, कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण, भौतिक पूर्वाधार संरचनाको विकास एवं निर्माण, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको प्रत्याभूत गराउने कार्यक्रम प्राथमिकतामा परेका छन् । त्यस्तै मानव संसाधनको विकास, विधिको शासन, सार्वजानिक सेवाको प्रभावकारिता, जवाफदेही साथै सुशासन प्रवद्र्धनसमेत बजेटको प्राथमिकतामा छन् ।

नगरपालिकाले आगामी वर्ष विभिन्न क्षेत्रबाट प्राप्त हुने अनुदान, राजस्व, आन्तरिक ऋण, उपभोक्ता समितिको नगद सहभागिता, आन्तरिक आम्दानी लगायतलाई अनुमानित आयका रुपमा राखेको छ । जसअनुसार नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान २३ करोड ३१ लाख, सशर्त अनुदान २६ करोड ९४ लाख, राजस्व बाँडफाँडबाट ११ करोड १४ लाख, विद्युत रोयल्टीबाट १ करोड २४ लाख र सामाजिक सुरक्षा भत्ताका लागि १४ करोड, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १ करोड २९ लाख, राजस्व बाँडफाँड ८५ लाख, सममूरक अनुदान १ करोड आय अनुमान गरेको छ । त्यस्तै नगरपालिकाको आन्तरिक स्रोतबाट ५ करोड, आन्तरिक ऋणबाट १ करोड, सडक बोर्डबाट ९० लाख, नगर विकास कोषबाट ६ करोड, उपभोक्ता समितिबाट नगद सहभागिता २ करोड ११ लाख र नगरपालिकाको नगद मौज्जाद २ करोड गरी ९६ करोड ८० लाखको आय हुने अनुमान नगरपालिकाको छ ।

Advertisement

नगरपालिकाले विभिन्न शीर्षकमा खर्च गर्ने गरी प्रत्येक वडालाई १ करोडका दरले रकम छुट्याएको छ । त्यस्तै नगरस्तरीय कार्यक्रममा पूर्वाधार विकास तथा योजनामा ५६ लाख, सामाजिक विकास कार्यक्रमतर्फ १ करोड ८ लाख ५० हजार, वन वातावरण विपद व्यवस्थापन विकास ६५ लाख विनियोजन गरेको जनाएको छ । यसैगरी प्रशासन तथा अनुगमनतर्फ २५ लाख, शिक्षा क्षेत्रमा १ करोड ९३ लाख ९८ हजार, स्वास्थ्य क्षेत्रमा १ करोड, कृषि सेवामा ९६ लाख ३० हजार, पशु क्षेत्रतर्फ ५४ लाख ३५ हजार रकम विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले बताइन् ।

बजेटमा आयुर्वेद स्वास्थ्य प्रवद्र्धनलाई १८ लाख, राजस्व व्यवस्थापन तथा कर प्रशासन सुदृढीकरणमा ३ लाख ५० हजार, न्यायिक समितिलाई ३२ लाख, पुनर्निर्माणमा ५० हजार, सहकारी प्रशासनतर्फ १० लाख ५० हजार, आइटीसम्बन्धी कार्यक्रममा ५० लाख रकम विनियोजन भएको छ । यसैगरी १० करोड ६८ लाख २५ हजार रकम कार्यालय व्यवस्थापन र कर्मचारी परिचालनका लागि छुट्याइएको जनाएको छ ।

Advertisement

नगरक्षेत्रभित्रका विभिन्न पर्यटकीय क्षेत्र विकास गर्ने योजनासमेत नगरपालिकाले अघि सारेको छ । जसअनुसार पाटेचौर रानिवन पन्थेस्वाँरा भीमसेन पार्क गोरखा दरबार पर्यटकीय मार्ग निर्माणका लागि १ करोड ५० लाख, मजुवा देउरालीमा बन्दै गरेको गोरखा गेटका लागि १ करोड, चिल्ड्रेनपार्कमा खेलकुद मैदानका लागि २५ लाख, स्टोन पार्क निर्माणका लागि १५ लाख, रामशाहघाट प्रवद्र्धनका लागि १५ लाख, गोरखा जाऔं अभियान तथा पर्यटन पूर्वाधारका लागि २५ लाख, प्याराग्लाइडिङका लागि १० लाख, होमस्टे प्रवद्र्धनमा १५ लाख रकम छुट्याइएको छ । त्यस्तै विभिन्न जातजाति, धर्मावलम्बीको भाषा, संस्कृति तथा धार्मिक सम्पदा संरक्षणका लागि समेत नगरपालिकाले बजेट विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया