राज्य र व्यवसायीबीच पुलको काम गर्छुः भण्डारी

समाधान संवाददाता २०७६ साउन २ गते ११:४८

समाधान संवाददाता
पोखरा

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका नवनियुक्त प्रमुख काशीराज भण्डारीले यस प्रदेशको समग्र पर्यटन विकासका लागि राज्य र व्यवसायीबीच पुलको काम गर्ने बताएका छन् । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलले आयोजना गरेको बिदाइ एवं स्वागत कार्यक्रममा प्रमुख भण्डारीले नेपालको पर्यटन विकासमा राज्यभन्दा एक कदम अगाडि व्यवसायी रहेको भन्दै व्यवसायी मैत्री नीतिमार्फत राज्य अगाडि बढ्नुपर्ने धारणा राखे ।

उनले पर्यटन क्षेत्रका समयस्या पहिचान गरी समाधानका लागि जिम्मेवार रुपले काम गरेर नेपाल भम्रण वर्ष २०२० र आन्तरिक भ्रमण वर्ष २०१९ लाई सफल पार्ने योजना सुनाए । पर्यटन क्षेत्रमा नयाँ भिजनको खाँचो औल्याउँदै परम्रागत सोचबाट माथि उठ्न जरुरी रहेको उनको भनाइ छ ।

Advertisement

पर्यटन बोर्ड गण्डकी प्रदेशमा १ वर्षे कार्यकाल सकेर केन्द्रीय कार्यालयमा अनुसन्धान योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्न जान लागेका निवर्तमान प्रमुख मणि लामिछानेले पोखरामा पर्यटन व्यवसायीको सक्रियता र सहयोगले आफ्नो कार्यकाल उपलब्धिमूलक र ऐतिहासिक बनेको उल्लेख गरे ।

टान पूर्व अध्यक्ष सोम थापाले व्यवसायी र राज्यबीच मैत्रीपूर्ण सम्बन्ध हुन नसके पर्यटन क्षेत्रको विकास नहुने धारणा राखे । टान अध्यक्ष हरि भुजेलले टान र पर्यटन बोर्डको सहकार्यमा पर्यटन प्रवद्र्धनसम्बन्धी आन्तरिक र बाह्य रुपमा धेरै काम गर्न सफल भएको बताए । विशेष गरी टिम्स कार्ड (पदयात्री सूचना व्यवस्थापन प्रणाली) व्यवस्थित गर्न पहल गरिएको उनको भनाइ छ । भुजेलले अन्नपूर्ण पदयात्रा मार्ग अन्तर्गत, बेसीसहर, धम्पुस, वीरेठाँटी र तातोपानीमा टिम्स काउन्टर रहेको जानकारी दिए ।

Advertisement

टानका सचिव जीवनराज सापकोटाले टिम्स कार्डबाट उठेको रकम यही क्षेत्रमा खर्च गरेर पदयात्रालाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे । संकलित रकममध्ये ३० प्रतिशत बोर्ड, ३० प्रतिशत टान र ३० प्रतिशत दुवै संस्थाले पर्यटन विकासमा लागि र बाँकी १० प्रतिशत कल्याणकारी कोषमा खर्च गर्नुपर्ने प्रावधान छ ।

तपाईको प्रतिक्रिया