कविता:बिपीप्रति श्रद्धासुमन

समाधान संवाददाता २०७६ साउन ६ गते १८:३३

किशोरदत्त बराल

बिपी बाबु,
मलाई लाग्छ आजकल तपाई आत्तिनु भएको छ ।
माथि धेरै माथि,कतै एकान्तमा बसेर रुनु भएको छ ।
तपाईंले ताते ताते गराएका विश्वासहरुआजकल क्रमशः टुट्दैछन्, फुट्दैछन् ।
तपाईंको आदर्शको धरोहर,हलो जोत्ने किसानको फोटो माथि
आजकल लात्ति हान्न थालिएको छ, मजाक गरिएको छ ।
तपाईले माया गर्ने, तपाईंलाई माया गर्ने,गाउँका झुपडीहरु माथि
आजकल निरन्तर अपमान बाँढ्न थालिएको छ, गिज्याउन थालिएको छ ।
बिपी बाबु ।
तपाईं जे नगर्ने भन्नु हुन्थ्यो, आजकल त्यही हुने गरेको छ ।
यसैले, मलाई लाग्छ,
आजकल तपाईं आत्तिनु भएको छ ।
माथि धेरै माथि, कतै एकान्तमा बसेर रुनुभएको छ ।। १ ।।

तपाईंले राजनीतिमा टेकाएका खाली खुट्टाहरु
गरिवीको राजमार्गमाथि पजेरोमा सयर गर्न थालेका छन् ।
तपार्इंले चन्दा उठाएर पालेका भोका पेटहरु,
झुपडीलाई गिज्याउँदै र होच्याउँदै
आलिशान महलमा बसेर डकार्न थोलका छन् ।
तपाईंको समाजवाद कामै नलाग्ने झुत्रो भएको छ,
एकादेशको कथा भएको छ ।
यो निर्लज्जताको परकाष्ठ भित्र,
तपाईंका सपनाहरु सर्लक्कै मरेका छन् ।
न कसैलाई ऐया भएको छ, न आत्थु भएको छ ।
बिपीबाबु, भन्नेले के भन्दछन् कुन्नि
त्यो त मलाई थाहा छैन ।
तर, मलाई लाग्छ
प्रवचन र वृक्षरोपणको जालसाजी गरेर, तपार्इंको अपमान गरिएको छ ।
तपाईंको नामको मन्त्र जपेर,बाँच्ने दुस्साहस गरिएको छ ।
शायद, कमजोर र निकम्वाहरुयस्तै गर्दछन् क्यारे ।
यहाँ निर्लज्ल यस्तै भएको छ ।
यसैले, बिपी बाबु
मलाई लाग्छ,आजकल तपाईंआत्तिनु भएको छ ।
माथि धेरै माथि,कतै एकान्तमा बसेर रुनुभएको छ ।। २ ।।

Advertisement

बिपी बाबु
तपाईंको समाजवादभित्र भविश्य खोज्नेहरु
अझै पनि अनिकालमा बिउ जोगाएर
कुना, काप्चा र अक्करहरु भित्र, आशा रोपिरहेका छन् ।
तपाईंको सपना मार्नेहरुका विरुद्ध,ज्वालामुखी भएर विस्फोट हुने
योजना खोपीरहेकाछन् ।
हिजोको तपाईंकै सल्लाहमा,यस्तै यस्तै र भन्नै लाजहुने प्रवृत्तिका विरुद्ध
एउटा भयानक चक्रव्युहको रचना गरिरहेका छन् ।
निरास भएर नथाक्नु होला
समाजवाद छोटो यात्रा होइन, हामीले बुझेका छौं।
लामो यात्राका अफ्ठ्याराहरु पनि चिनेका छौ ।
रुँदै रुँदै नथाक्नु होला
आत्तिएर निराश नहुनु होला ।
नयाँ उचाइबाट समाजवादको यात्रा तय गर्दै
समृद्ध नेपालको तस्बिर खिचेर पठाइदिने छौं ।
यही श्रद्धासुमन बिपीलाई ।।। ३ ।।।

Advertisement

तपाईको प्रतिक्रिया