बेनी–जोमसोम सडकखण्ड चौंथो पटक अवरुद्ध

समाधान संवाददाता २०७६ साउन ७ गते १४:५६

तस्बिरः इन्द्रसिंह शेरचन

समाधान संवाददाता
मुस्ताङ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानास्थित गुइँठेमा गएराति सुख्खा पहिरो गएको छ । गुइँठेका साँघुरो मोडमा पहिरो गएपछि बेनी–जोमसोम चल्ने दर्जनौं सवारी साधन तथा यात्रुु आइतबार बिहानैदेखि अलपत्र परेका छन् ।

Advertisement

दानास्थित गुइँठेको कडा चट्टाने मोडमा सडकको बेस नै भत्किएको बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए । उनले भने ,‘ निकै अप्ठ्यारो कडा चट्टानको बेस भत्किएको छ । स्काभेटरले पन्छ्याएर सडक सफा गर्ने अवस्था छैन, सडक खुल्न कम्तीमा ३ दिन लाग्छ ।’ मोडको करिब ७ मिटर सडक नै नरहेकाले चट्टान काटेर सडक खोल्नुपर्ने अवस्था रहेको सुपरभाइजर शेरचनले खुलाए ।

सुपरभाइजर शेरचनका अनुसार सोमबारदेखि सडक खोल्ने काम हुने बताए ।’ काभ्रेभीरकै जस्तो समस्या देखियो । भोलिदेखि नै ब्लास्टिङको काम हुन्छ ।’ शेरचनले भने ।

Advertisement

बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डमात्रै ४ पटक अवरुद्ध भएको हो । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीरमा नदी कटान तथा पहिरो ,जलथलेमा पहिरो, तिप्ल्याङ पुल बिम भत्किएको, बेग खोलामा पुल नभएको र बैसरीमा गत वर्षको सुख्खा पहिरोले सडक हिलाम्मे हुने कारणले बेनी–जोमसोम सडक पटक÷पटक अवरुद्ध हुने गरेको हो ।

म्याग्दी खण्डमा यतिबेला हप्ता २ पटकसम्म पहिरो जान थालेको शेरचनले बताए । पहिरोले सडक बन्द भएपछि मुस्ताङ र मुक्तिनाथ दर्शन गर्ने तीर्थालु र मुस्ताङबाट फर्कने यात्रु सास्तीमा परेका छन् ।

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ म्याग्दी गुइँठेमा गएको पहिरो र सवारी साधन बिचैमा अलपत्र ।

तपाईको प्रतिक्रिया