दानामा सडक खोल्न ब्लाष्टिङ तयारी

समाधान संवाददाता २०७६ साउन ९ गते १३:०८

पहिरो गएको स्थानमा ब्लास्टिङका लागि होल खोल्दै करिडोर । तस्बिरः इन्द्रसिंह शेरचन-म्याग्दी

एस के थकाली
जोमसोम

अन्नपूर्ण गाउँपालिका ३ गुइँठेको अवरुद्ध सडक खोल्न ब्लास्टिङ तयारी भएको छ । शनिबार रातिको वर्षाले उक्त स्थानमा सडक माथिबाट पहिरो खसेपछि करिब १५ मिटर सडक भत्किएको थियो ।

Advertisement

बेनी–जोमसोम निर्माणधीन सडकको गुइँठेमा पहिरो गएपछि आइतबारदेखि बेनी–जोमसोम सिधा यातायात ठप्प छ । सडकको कुनापट्टि कडा चट्टान परेकाले सडक खुलाउन समस्या परेको हो । पहिरो गएको स्थानमा सडक खोल्न ब्लास्टिङ गर्नुपर्ने भएकाले सोही अनुसारको प्रकिया अघि बढेको करिडोर सडक इन्जिनियर किरण सुवेदीले जानकारी दिए । उनले म्याग्दी सुरक्षा समितिले ब्लास्टिङ गर्न अनुमति दिएकाले मंगलबार देखि नै होल खोल्ने काम सुरु भएको बताए ।

सडक खोल्न लागि दानास्थित मिस्त्री खोला हाइड्रो पावरमा कार्यरत ब्लास्टर टोली र सोही पावर हाउसको सुरक्षार्थ खटिएका सेनाको टोलीले ब्लास्टिङमा सघाउने इन्जिनियर सुवेदीले जानकारी दिए । उनका अनुसार मंगलबार २० वटा होल खोलिएको र सो कार्य बुधबार पनि जारी रहने उल्लेख गरे । उनले भने, ‘ब्लास्टिङको प्रगति हेरेर सडक खोल्न कति दिन लाग्छ भन्ने निक्र्यौल हुन्छ । अप्ठ्यारो स्थानमा पहिरो गएकाले काम गर्न असहज भएको छ ।’

Advertisement

यसअघि बेनी–जोमसोम सडकखण्डको म्याग्दीमै ३ पटक सडक अवरुद्ध भएको थियो । पटक पटक सडक अवरुद्ध भएपछि मुस्ताङ यात्रा असहज भएको करिडोर सडकका सूपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए । पहिरो गएको स्थानमा करिब १५ मिनेट पैदल यात्रा गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया