यतीले पोखराबाट भैरहवा र भरतपुर उडान गर्ने

समाधान संवाददाता २०७६ साउन १० गते १५:३५

समाधान संवाददाता
पोखरा

नेपालकै ठूलो हवाई सञ्जाल भएको यती एअरलाइन्सले अब पोखराबाट भरतपुर र भैरहवा उडान सुरु गर्ने भएको छ । एअरलाइन्सले ३० सिट क्षमता भएको ‘जेटस्ट्रिम–४१’ जहाजबाट साउन १६ गतेदेखि भैरहवा र भदौ १५ गतेबाट भरतपुर उडान गर्ने बिहीबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

एअरलाइन्सले पोखराबाट २ नयाँ गन्तव्यमा उडानसँगै ‘अन्नपूर्ण एक्सप्रेस’ माउन्टेन फ्लाइट पनि सुरु गर्ने एअरलाइन्सका प्रवक्ता भीमराज राईले जानकारी दिए । ‘पर्यटकले अब पोखराका नजिकका सुन्दर हिमशृंखला पनि आकासबाटै दृश्यावलोकन गर्न पाउनेछन्,’ उनले भने, ‘पोखराबाट माउन्टेन फ्लाइट भदौ २९ गतेदेखि सुरु हुनेछ ।’ उनले माग आए पोखरा–नेपालगन्जसमेत ‘चार्टर्ड फ्लाइट’ सञ्चालन गर्न सकिने जानकारी दिए । यसअघि बुद्ध एअरले मात्रै पोखराबाट भैरहवा र भरतपुर हवाई सेवा दिँदै आएको थियो ।

Advertisement

यती एअरलाइन्सले काठमाडौंदेखि भद्रपुर, जनकपुर, पोखरा, भरतपुर, भैरहवा र नेपालगन्ज उडान भरिरहेको छ । तर पोखरादेखि भरतपुर र भैरहवा पहिलोपटक हवाई सञ्जालमार्फत जोड्न लागेको हो । नयाँ हवाई रुट सुरु भएसँगै यतीले काठमाडौं–पोखरा–भरतपुरको ‘गोल्डेन ट्र्यांगल’ हवाई सम्पर्क स्थगित भएको जनाएको छ ।

एअरलाइन्सका सेल्स एन्ड मार्केटिङ डाइरेक्टर सरल राणाले पोखराबाट भरतपुर र भैरहवा हवाई मार्ग सञ्चालन भएपछि त्यसलाई निरन्तरा दिइने बताएका छन् । ‘एअरलाइन्सले निरन्तर उडान भर्छ । बीचमा यात्रुको चाप बढे फ्लाइट थप्ने पनि योजना बनाइरहेका छौं,’ उनले भने, ‘पोखराबाट भरतपुर हवाई सेवा सञ्चालन भएपछि पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको सफारी र नारायणी नदीबाट सुर्यास्त हेर्न सक्नेछन् ।’

Advertisement

एअरलाइन्सले पोखरा र भैरहवालाई २० मिनेटमा जोड्नेछ । पोखरा विमानस्थलबाट माउन्टेन फ्लाइट ३० मिनेटको हुनेछ । एअरलाइन्सले काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केन्द्र बनाएर ५ वटा एटिआर र ५ वटा जेटस्ट्रिम सञ्चालन गर्दै आएको र चाँडै नयाँ एटिआर जहाँज ल्याइन लागेको प्रवक्ता राईले जानकारी दिए ।

यती एअरको भगिनी संस्था तारा एअरले ४ वटा ट्विन ओटर र २ वटा डोर्निएर डिओमार्फत जोमसोम, लुक्ला, डोल्पो, हुम्ला, जुम्ला, रारालगायत ठाउँमा हवाई सेवा दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया