डाक्टरको लापरवाहीले सुत्केरीको ज्यान गएको आरोप

समाधान संवाददाता २०७६ साउन १० गते १५:३९

समाधान संवाददाता
पोखरा

अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु भएपछि पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा तनाव भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ७, लान्द्रुक घर भई पोखरा १४, चाउथे बस्दै आएकी ३३ वर्षीया निशाकुमारी थापालाई शुक्रबार बिहान ४ बजे अस्पतालले मृत घोषणा गरेको हो ।

सुत्केरीको रक्तश्राव भइरहेको जानकारी हुँदाहुँदै उपचारमा संलग्न डाक्टर र नर्सले लापरवाही गरेकाले मृत्यु सम्मको अवस्था आएको निशाका आफन्तले आरोप लगाएका छन् ।

Advertisement

आन्दोलनको तयारीसहित अस्पताल परिसरमा सयौं मान्छेको भीडभाड भएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरीको टोली सुरक्षाका निम्ति खटिएको छ ।

अस्पताल र उपचारमा संलग्न चिकित्सकले गल्ती स्वीकार गरी उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने पीडित पक्षको माग छ ।

Advertisement

निशाले तोकिएको समयमै अस्पताल आएर नियमित गर्भ परीक्षण गराउँदै आएकी थिइन् । सुत्केरी हुन उक्त अस्पतालमा बिहीबार बिहान ८ बजे पुगेकी उनले साँझ पौने ८ बजेतिर बिना अप्रेसन बच्चा जन्माएकी थिइन् । बच्चा(छोरा) जन्मेपछि निरन्तर रक्तश्राव आफन्तले बताए । ‘दिदीले छोरा पाइसकेपछि रक्तश्राव सुरु भयो,’ मृतककी बहिनी ताराकुमारी थापाले भनिन्, ‘त्यसपछि डाक्टरले सामान्य हेरेर मात्रै जानुभयो, हामीले नर्सलाई पटकपटक रक्तश्राव भइरहेको छ बिरामीलाई गाह्रो भयो भनेका थियौं । तर समयमै उपचार भएन ।’

अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. छममाया पुनको टोलीले थापाको उपचार गराएको थियो । बच्चाको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको अस्पतालले जानकारी दिएको छ । निरन्तर रक्तश्राव पछि साढे ८ बजे थापा बेहोस भएको र नर्सलाई डाक्टर बोलाइदिन गरेको आग्रहमा ‘अलिअलि रगत बग्नु सामान्य’ भएको भन्दै समयमै डाक्टरलाई खबर नगरेको मृतककी बहिनी ताराकुमारीले बताइन् ।

‘डाक्टर आउँदासम्म दिदी बेहोस भइसक्नु भएको थियो । सास र धड्कन विचार गर्दा हामीले आश मारिसकेका थियौं,’ उनले भनिन्, ‘तर डाक्टरले प्रयास गरे झैं गर्न पाठेघर झिक्नु पर्छ भनेर अप्रेसन गर्नुपर्ने भने । ४ पोका रगत ल्याउन भनि हामीलाई कागजमा साइन गर्न लगाई अप्रेसन पनि गरियो ।’

अवस्था के हुन्छ भन्न सक्दैनौं भन्दाभन्दै बिहान मात्रै उपचार गर्दागर्दै मृत्यु भएको डाक्टरले खबर दिएको उनले सुनाइन् ।

भरमग्दुर प्रयास गरेका थियौंः डा पुन
सुत्केरीलाई बचाउन भरमग्दुर प्रयास गर्दा गर्दै ज्यान गएको उपचारमा संलग्न डा छममाया पुनले बताएकी छन् । आन्दोलनरत पक्ष र अस्पताल प्रशासनको रोहवरमा शुक्रबार भएको सामान्य छलफलमा घटनाबारे उनले बिफ्रिङमा उनले यस्तो बताएकी हुन् । ‘नर्सले समयमै सम्पर्क गर्दा म दौडिएर अस्पताल आइपुगेको हो,’ उनले भनिन्, ‘नर्मल डेलिभरी भएकोले अवस्था सामान्य नै पाएका थियौं । रक्तश्राव निरन्तर भइरहेपछि अन्तिम विकल्पको रुपमा अप्रेसनका लागि सल्लाह गरी प्रक्रिया अघि बढेको हो ।’

चिकित्सकले चासो नदिएको भन्ने आरोपमा उनले खण्डन गर्दै भनिन्, ‘आकस्मिकमा बिना डाक्टर उपचार भन्ने हुँदैन । बिरामीको अवस्थाले पनि निर्धारण गर्छ ।’ घटनाको निष्पक्ष छानबिन गरी उपचारमा संलग्न चिकित्सकलाई समेत कारवाही गर्नुपर्ने भन्दै आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका छन् । प्रहरीले भीड नियन्त्रण गर्ने क्रममा झडप हुँदा ३ जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

तपाईको प्रतिक्रिया