—सम्पादकीय—बदमास विदेशीहरु

समाधान संवाददाता २०७६ साउन १३ गते १३:२४


गोरो छाला भएका पर्यटकलाई नेपालीहरु तुरुन्तै विश्वास गरिहाल्छन् । पर्यटक भनेकै छालाको रङले निर्धारण गर्नेजस्तो मानसिकता नेपालीमा छ । तर गोरो छाला भएका पर्यटकहरुका काला कर्तुतहरु पोखरामा एकपछि अर्काे देखापरेका छन् । पछिल्लो समय बालयौन दुराचारमा एकजना अस्ट्रेलियाली पोखरामा समातिए । थोमस नाम गरेका ती पोखरामा प्याराग्लाइडिङ पाइलट हुन् । अपार्टमेन्ट नै भाडामा लिएर बसेका उनले विपन्न परिवारका बालकहरुसँग अप्राकृतिक मैथुन गरेको लगायत सूचनाका आधारमा प्रहरीले बालकहरुसहित पक्राउ गरेको थियो । पोखरामा विदेशी बालयौन दुराचारमा पक्राउ परेको यो पहिलो घटना होइन । त्यस्ता दुराचारी पहिले पनि देखिएका थिए, भेटिएका थिए ।

नेपालका लागि परधर्म अर्थात इसाई धर्मको प्रचारमा तल्लीन ३ जना पनि गएको साता प्रहरीले पोखरामा समात्यो । घरका दैलोदैलोमा गएर बाइबल बाँड्ने र आफ्ना देवता प्रभु यशुलाई महान् र हिन्दुबौद्धका देवतालाई सैतान बताउँदै हिँड्ने इसाईहरु अचेल गाउँगाउँ पसेका छन् । नेपालको कानुनले धर्म प्रचार गर्न निषेध गरेको छ । अरुलाई आफ्नो धर्मतिर आकर्षितका निम्ति ललाइफकाइ गर्न पाइन्न । तर पैसाको लालच देखाएर विपन्न विपन्न समुदायमा पुग्दै दुर्गम गाउँघरमा अन्धविश्वास फैलाएर इसाइ धर्मको प्रचार विदेशीहरु लागेको लाग्यै छन् ।

पर्यटकीय भिसामा आउने मान्छेले घुम्न मात्रै पाउँछ । अरु केही गर्न पाउँदैन । नेपाललाई हेपेर विदेशीहरु जे मन लाग्यो त्यही गरिरहेका छन् । यस्तो छुट हाम्रो भूमिमा उनीहरुलाई हुनुहुँदैन । नेपालका आफ्नै धर्म र संस्कृति छन् । हिन्दु, बौद्ध, किराँत, बोन, मुसलमान लगायत धर्मसमुदायको मिलती अतुलनीय छ । इसाइ धर्मालम्बीसँग पनि यहाँका हिन्दु, बौद्ध वा किरात लगायतले सधैं सहिष्णुता देखाएकै छन् । नेपाली इसाइ धर्मालम्बीलाई सम्मानित व्यवहार गरेका छन् । धर्मका आडमा वैमनष्यता छैन । तर अर्काको भूमिमा आएर जबरजस्ती धर्मान्तर गराउनु आपराधिक गतिविधि हो । राज्यले यसमा कडा नियन्त्रण गर्नैपर्छ । स्वेच्छाले धर्म मान्ने हक सबै नेपालीलाई छ । तर विदेशीले आएर यहाँ कसैको धर्मलाई होच्याउने गर्न पाउँदैनन् ।

Advertisement

बालयौन दुराचार, धर्म प्रचारपछि विदेशीहरुको अर्काे हर्कत भनेको बालबालिकाको तस्करी पनि देखिएको छ । कोरियाली एक महिलाले पोखराको एक मगर परिवारका बालकलाई आफ्नो सन्तान बनाएर कोरिया उडाउन लागेको खबर हालै प्रकाशित भएको थियो । विदेशीहरुलाई आफ्नो थान्कोमा बस्न लगाउनुपर्छ । पर्यटकीय भिसामा आउनेले घुम्नबाहेक अरु केही गर्न पाउनुहुँदैन । नेपालीभूमिमा टेकेर यसको अपमान गर्ने छुट कुनै विदेशीलाई दिनुहुँदैन ।

Advertisement

तपाईको प्रतिक्रिया