चितुवा चुनौती

समाधान संवाददाता २०७६ साउन १७ गते १५:०८

सभ्यताको आदिम युगतिर मानिसका लागि सबैभन्दा ठूला शत्रु वन्यजन्तु थिए । बुद्धि र विवेक लगाएर मानिसले आफूलाई अरु प्राणीभन्दा अब्बल सावित गर्दै अघि बढ्यो । आफूभन्दा शक्तिशाली र भयंकर जीवजन्तुलाई उछिन्यो । तिनीहरुलाई आफ्नै बसमा लिनसमेत समर्थवान बन्यो । तर वन्यजन्तुको हिंसाबाट मानवजाति अझैं पीडित हुन भने छाडेको छैन । पहिलेको जमानामा भेटेजति र देखेजति वन्यजन्तु मानिसले सिकार गरिहाल्थ्यो । तिनलाई मार्न चाहन्थ्यो । माथ्र्याे पनि । पछि मानिसलाई थाहा भयो कि पृथ्वीको सन्तुलनका लागि सबै प्राणी आवश्यक छन् । त्यसैले वन्यजन्तुको संरक्षणमा मानिसले चासो दिइरहेको छ । काम पनि गरिरहेको छ । तै वन्यजन्तुले चाहिँ मानिसमाथिको आक्रमण छाडेको छैन ।

विज्ञहरु के भन्छन् भने जस्तै विषालु र डरलाग्दा वन्यजन्तु पनि त्यत्तिकै मानिसलाई आक्रमण गर्दैनन् । जिस्क्यायो भने वा आफू असुरक्षित महसुस गर्‍यो भने वन्यजन्तु मानिसमाथि आक्रमणमा उत्रन्छ । अर्काे कारण पनि अहिले आएर देखापरेको छ कि उनीहरुको आहारको अभाव । वनमा वन्यजन्तुको आहारा सकिँदै गएको छ । मानवबस्ती जताततै विस्तार भएको छ । वन बाक्लिँदै गए पनि त्यहाँ तिनीहरुलाई चाहिने खानेकुरा छैन । अनि वन्यजन्तु मानवबस्ती पस्न थालेको छ । तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा गएको १ वर्षमा मात्रै ४ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाए । चितुवा बस्तीबस्ती पसेर केटाकेटीमाथि आक्रमण गरिरहेको छ । चितुवाको आक्रमणको सिकार ६ जना भएकोमा २ जना घाइते भए अरु ४ जनाको ज्यानै गयो ।

चितुवा संरक्षित जीव हो । यसलाई मार्न कानुनले नै निषेध गरेको छ । तर मान्छेकै ज्यान असुरक्षित भएपछि मार्नुको विकल्प भएन । त्यसैले सरकारी निकायले नै नरभक्षी चितुवा समात्ने वा मार्ने अनुमति स्थानीयलाई दिएका छन् । संरक्षित वन्यजन्तुको नियन्त्रणका लागि मार्ने विकल्प अन्तिम हो । मान्छेको मूल्यसँग अरु कुनै पनि जीवजन्तुको मूल्य तुलना हुँदैन । आखिर अरु जीवजन्तुको संरक्षण पनि मानवीय जीवन र पृथ्वीको खाद्यचक्र तथा वातावरण सन्तुलनका लागि चाहिने हो । तर मानिस नै खतरामा पर्छ भने जीवजन्तुको नियन्त्रण गर्नैपर्ने हुन्छ ।

Advertisement

तर जुन कारणले वन्यजन्तु मानवबस्ती पसेका छन् । त्यसको कारण पत्ता लगाएर समाधान निकाल्नु दीर्घकालीन र भरपर्दाे विकल्प हो । यसको खोजी विज्ञले गर्नुपर्छ । जिल्ला वन तथा सम्बन्धित सरकारी निकायले यसको खोजीमा विज्ञ लगाउन जरुरी छ ।

चितुवा होस् या भालु अथवा बाँदर तिनलाई वनमै आहाराको व्यवस्था गर्ने उपाय के हुन सक्छ, त्यो महत्वपूर्ण खोजी हुनुपर्छ । तराई मधेसमा हात्ती आतंक छ, त्यसको निराकरणको उपाय पनि त्यही हो कि उनीहरुलाई चाहिने आहारा वनमै व्यवस्था गरिनुपर्छ । यो दायित्व सरकारकै हो । त्यसमा जनसहभागिता जुटाउने काम सरकारले गर्न सक्छ ।

Advertisement

तपाईको प्रतिक्रिया