आफ्नै जन्मदिनको सम्झनामा

समाधान संवाददाता २०७६ साउन २० गते १६:३९

किशोरदत्त बराल

मलाई, मेरो उमेर नसोध्नु होला
मेरो उमेरसँग, प्रकृति लजाउन थालेको छ ।
विज्ञान हार्न थालेको छ ।
म आजभन्दा भोलि, भोलिभन्दा पर्सि
झनै–झनै युवा बन्दै छु ।
सक्रिय र तन्दु्रस्त बन्दै छु ।
म विचार पिउछु र ओकल्छु ।
नयाँ–नयाँ दृष्टिकोण र सम्भावनाभित्र
जीवन खोज्छु ।
म माया, प्रेम र सद्भावनाले सिंगारिएर
बुरुकबुरुक नाच्छु र उफ्रन्छु ।
मेरो गणनाको उमेर, मसँग थलापरेको छ ।
डराइ–डराई अलि वर सरेको छ ।
यसैले ……………
मलाई मेरो उमेर नसोध्नु होला
मेरो उमेरसँग प्रकृति लजाउन थालेको छ ।
विज्ञान हार्न थालेको छ ।

म स्थिरताको नाममा, कुवाको ढुंगा जस्तै
लेउ भरिएको जीवन चाहन्न ।
बाच्ने रहरमा, सहज यात्राको खोजी गर्दै
लाजमर्दो मरण चाहन्न ।
म युवा जस्तै चञ्चल र अस्थिर हँुदै
नयाँ चुनौती र अनुभवले, जीवन भर्न चाहन्छु ।
हरेक समस्याभित्र जीवन खोज्दै
सम्भावनै सम्भावनामा खेल्न चाहन्छु ।
मलाई केटाकेटी र युवा मन पर्छ
समस्या र चुनौती मन पर्छ ।
म वृद्धभित्र पनि युवा खोज्छु ।
यसैले ……..
मलाई मेरो उमेर नसोध्नु होला ।
मेरो उमेरसँग प्रकृति लजाउन थालेको छ ।
विज्ञान हार्न थालेको छ ।

Advertisement

युवा उमेर होइन, मानसिकता हो ।
विचार, दृष्टिकोण र एउटा अद्भूत सपना हो ।
सपना देख्ने र नदेख्नेको लडाइमा
सपना देख्नेको पक्षमा
म एउटा महान युद्ध लड्न चाहन्छु ।
गणनाको उमेरलाई पछार्दै, इतिहास रच्न चाहन्छु ।
आफैंसँग हार्न थालेकाको फोक्सोभित्र
विश्वास र साहसको अक्सिजन भर्न चाहन्छु ।
यसैले ..
मलाई मेरो उमेर, नसोध्नुहोला ।
मेरो उमेरसँग प्रकृति लजाउन थालेको छ ।
विज्ञान हार्न थालेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया