प्रधानमन्त्रीमा हिटलर शैली देखियोः देउवा

समाधान संवाददाता २०७६ साउन २२ गते १२:३२

समाधान संवाददाता
पोखरा

पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले केपी ओली सरकारले जनविरोधी विधेयक ल्याएर मुलुकमा निरंकुशता लाद्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । दयाशंकर पत्रकारिता पुरस्कार अर्पण समारोहमा मंगलबार पोखरामा बोल्दै सभापति देउवाले भने, ‘हिटलरले संसदबाटै कानुन पास गरेर सत्ता कब्जा गरेका थिए, संसदमा अनेकथरि विधेयक लगेर ओली पनि त्यही बाटोमा लागेका छन् ।’

नेपाली सेना सुरक्षा परिषद्बाट परिचालन हुने गरेकोमा अहिले भने व्यक्तिगत रुपमा, लहडका भरमा परिचालन गर्न खोजिएको भन्दै विरोध जनाए । संसारमा कहिं नभएको चलन नेपाल ल्याउन खोजिएको भन्दै उनले आश्चर्य समेत व्यक्त गरे । पत्रकारको अधिकार नियन्त्रण गर्ने गरी मिडिया विधेयक, मानवअधिकार आयोगलाई महान्यायाधिवक्ताको मातहत राख्ने प्रयास, सदनमा दर्ता भएको गुठी विधेयकको बारेमा आफूहरुले खुलेरै विरोध गरेको समेत उनले स्मरण गरे ।

Advertisement

सरकारकै गतिविधिका कारण जनताले अब कांग्रेस चाहेको उनको भनाइ थियो । सरकारको स्वेच्छाचारिता विरुद्ध पाटीले प्रतिपक्षको भूमिका सशक्त रूपमा निर्वाह गरिरहेको बताउँदै उनले कम्युनिस्ट पार्टीले जस्तो कुर्सी भाँच्ने, काठमाडौंका रेलिङ तोडफोड गर्ने नभई शान्तिपूर्ण विधि र प्रक्रियाका माध्यमबाट अघि बढ्ने प्रष्ट्याए ।

सभापति देउवाले पत्रकारिता र प्रजातन्त्र परिपूरक भएको बताउँदै भने,‘जुन देशमा प्रजातन्त्र हुन्छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ, जहाँ स्वतन्त्र पत्रकारिता हुन्छ त्यहाँ प्रजातन्त्र हुन्छ । पत्रकारले लेख्न पाउने, बोल्न पाउने अधिकारलाई कुण्ठित गर्ने गरी सरकारले विधेयक ल्याउन लागिएको उल्लेख गर्दै उनले त्यस्तो विधेयकलाई कुनै पनि हालतमा पारित हुन नदिने बताए ।

Advertisement

रवीन्दलाई दयाशंकर पत्रकारिता पुरस्कार

पत्रकार रवीन्द्रनाथ बास्तोला कांग्रेस ‘दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७५’ बाट सम्मानित भएका छन् । कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पोखरामा नेपाल पत्रकार महासंघ कास्कीले गरेको कार्यक्रममा बास्तोलालाई सम्मान गरेका हुन् ।

प्रजातन्त्र सेनानी दयाशंकर पालिखेकोे स्मृतिमा स्थापित उक्त पुरस्कारको राशी ५५ हजार ५ सय ५५ छ । २०५३ सालदेखि प्रदान गरिँदै आएको उक्त पुरस्कारको राशी ३३ हजार ३ सय ३३ रहेकोमा यस वर्षबाट वृद्धि गरिएको हो ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारको न्यूनतम पारिश्रमिक सम्बन्धमा समितिले पत्रकारहरूको हकहितमा महत्वपूर्ण कार्य गरेको दाबी गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले संसद्मा रहेको मिडिया काउन्सिल विधेयक संशोधनसहित आउने प्रतिबद्धता सरकारले गरेका कारण महासंघको आन्दोलन हाललाई स्थगित गरिएको उल्लेख गरे । उनले स्वतन्त्र प्रेस विरोधी प्रावधान हटाउनका लागि पहल गर्न सभापति देउवलाई आग्रह समेत गरे ।

गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पत्रकारिता र प्रजातन्त्र एक अर्कासँग अन्तरसम्बन्धित भएको बताउँदै आफू सधैँ प्रेस स्वतन्त्रताका पक्षमा भएको धारणा राख्नुभयो । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले लोकतन्त्रका मूल्य मान्यताबाट वर्तमान सरकारले पालना नगरेको बताउँदै यसको मूल्य मान्यतालाई आत्मसात गर्न आग्रह गरे ।

पुरस्कृत व्यक्तित्व रवीन्द्रनाथ बास्तोलाले आफूलाई गरेको यो सम्मानले अझै जिम्मेवार र क्रियाशील बनाउने धारणा राख्नुभयो । प्राप्त पुरस्कार राशी बीउ पूँजी रहने गरी यसमा रकम थप गर्दै आफ्ना बाबुआमाको नाममा वार्षिक रुपमा प्रदान गर्ने गरी २५ हजार ५ सय ५५ को ‘विश्व–रेवती शिक्षा पत्रकारिता पुरस्कार’ स्थापना गर्ने घोषणा उनले गरे । उक्त पुरस्कारको सञ्चालन नेपाल पत्रकार महासंघ कास्की शाखाले गर्नेछ ।

पालिखे परिवारका सदस्य सुनयना पालिखेले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका स्व. दयाशंकर पालिखेको स्मृतिमा आफूहरूले बर्सेनि पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको बताइन् ।

पोखराको सामाजिक रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी आमा उत्तराकुमारी पालिखेको स्मृतिमा परिवारले यसै वर्षदेखि सामाजिक जागरणमा क्रियाशील १ महिलालाई बर्सेनि पुरस्कृत गर्ने गरी २ लाख ५० हजारको अक्षय कोष स्थापना गर्ने घोषणा उनले गरिन् ।

तपाईको प्रतिक्रिया